अनियमित मौसम र विपद्को घेरामा शैक्षिक क्षेत्र

पुस ७, २०८२

धादिङ । २०८० साउन २९ गते धादिङको गंगाजमुना गाउँपालिका–१, रिगाउँमा पहिरो गयो । अविरल वर्षाका कारण रिगाउँ माध्यमिक विद्यालय जाने बारीको ढिस्को नै खस्यो । बस्तीनजिक खसेको पहिरोले करिब ५१ घर जोखिममा प¥यो ।

विद्यालय आउ–जाउ गर्ने विद्यार्थीहरू रोकिए । विद्यालय नै बिदा गर्नुपर्ने अवस्था आयो । बर्खाभर त्रासपूर्ण वातावरण बन्यो । विद्यालयको खाली भवन पहिरो विस्थापितको सुरक्षित बासस्थान बन्यो । सुरक्षित बास खोज्दै स्थानीयहरू विद्यालयको खाली भवनमा पुगे । बर्खाभर त्यही बसे ।

विद्यालयका शिक्षक दिपक रेग्मी सम्झिन्छन्, “त्यतिबेला पहिरोले स्कुललाई पनि असर पर्छ कि भनेर हामीले दुईदिन त बन्द नै गरायौँ, त्यसले हामीलाई बर्खाभर त्रासपूर्ण वातावरण बनायो ।”

शिक्षक रेग्मीका अनुसार, विद्यार्थीहरू एक–दुई घण्टा लगाएर विद्यालय आउँछन् । पानी परेको समयमा बाढीपहिरो आउने, खोला बढ्ने र तर्न नसकिने हुन्छ । त्यस्तो समयमा विद्यालय आउन सम्भव हुँदैन । जोखिम मोलेर विद्यालय आए पनि पढाइभन्दा घर कसरी सुरक्षित फर्कने भन्ने चिन्ता विद्यार्थीमा हुने गर्छ ।

“अहिले बेमौसमी वर्षाले जुनसुकै समयमा पनि गाह्रो बनाइरहेको छ । धेरै पानी पर्नाले पहिरो जाने, पहिरो गइसकेपछि टाढाटाढाबाट आउने बालबालिका जो एक–दुई घण्टा लगाएर विद्यालय आउँछन्, उनीहरूलाई आउन–जान गाह्रो । खोलाहरू बढ्नाले पढाइ छुट्ने हुन्छ” शिक्षक रेग्मी भन्छन् । असोज–कात्तिकमा परेको बेमौसमी वर्षाले पनि विद्यार्थीहरूलाई विद्यालय जान कठिनाइ भएको बताए ।

नेपालमा वर्षाको ढाँचा परिवर्तन हुँदै गएको छ । कम समयमा अत्यधिक वर्षा हुने, लामो समयसम्म निरन्तर पानी पर्ने र अनिश्चित मौसम चक्र देखिनु जलवायु परिवर्तनका स्पष्ट संकेत हुन् । यही अनियमित वर्षाका कारण माटो कमजोर बन्ने, भिरालो भूभाग चिप्लिने र पहिरो खस्ने क्रम बढेको छ ।

पहिरो केवल सडक र बस्तीमा सीमित छैन, यसले विद्यालय पुग्ने बाटो नै अवरुद्ध बनाइरहेको छ । विद्यालयका संरचनामा क्षति पु¥याइदिएको छ । कतिपय स्थानमा विद्यालय भवन सुुरक्षित भए पनि पहुँचमार्ग नहुँदा कक्षा सञ्चान हुन सकेको छैन ।

नीलकण्ठ बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख डा. मुरारी अधिकारी जलवायु परिवर्तनको असर खेतीबाली, बस्तीमा मात्रै सीमित नभई यसको प्रभाव विद्यालयका कक्षाकोठासम्म पुगेको बताउँछन् । “जलवायु परिवर्तनले निश्चित क्षेत्रभन्दा पनि समग्र क्षेत्रलाई प्रभाव पारेको छ । धादिङजस्तो पहाडी जिल्लामा कृषि, पर्यटन, औद्योगिक, स्वास्थ्यसँगै शिक्षा क्षेत्रमा पनि प्रत्यक्ष, अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको देखिन्छ,” उनले भने ।

एक ठाउँमा खोलिएको विद्यालयमा कतै विद्यार्थी संख्या बढी हुने, कतै कम हुने । भवन छ विद्यार्थी छैन, कतै विद्यार्थी छ भवन छैन जस्ता समस्या छ । गाउँमा पढाइ नहुँदा अन्यन्त्र बसाँइ सर्ने गरेको डा. अधिकारी बताउँछन् । “जलवायु परिवर्तनले विद्यार्थीहरूको पढाइमा प्रभाव परेको देखिन्छ । शैक्षिक पूर्वाधारहरूमा क्षति पुग्ने, जसका कारण विद्यालय कलेज बन्द हुने, बसाइँसराइको अवस्था प्रभाव पारेको छ,” उनले भने ।

विपत्तिको डर बोकेर विद्यालय पुग्दा, नपुग्दा पनि विद्यार्थीको सिकाइमा असर पुग्ने हुन्छ । कक्षाकोठामा सिकाइ भए पनि उसको मनस्थितिमा म साँझ घर कसरी पुग्ने, कसरी सुरक्षित पुग्ने भन्ने कुराले बढी ध्यान तानिँदा अन्य विषय सिक्ने कुरामा प्रत्यक्ष असर पार्ने हुन्छ । यसले विद्यार्थीको नतिजामा प्रभाव पर्नुको एउटा मुख्य कारण रहेको उनको भनाइ छ ।

“घरबाट विद्यालयमा जानुअघि गरेका तयारी बीचमै रोकिँदा, केही कारणले विद्यालय पुग्न नपाउँदा वा विद्यालयमा सिकेका कुराहरू घरमा बाबाआमालाई सुनाउन नपाउँदा, डराइ डराइ घर पुग्नुपर्ने अवस्थाको विद्यार्थीको सिकाइमा यसै पनि असर पर्ने हुन्छ,” उनले भने ।

शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भूमिलाल सुवेदीका अनुसार, जिल्लाभर ५५७ विद्यालय छन् । ती विद्यालयमा ७१ हजार ५०० विद्यार्थी अध्ययनरत छन् । बर्सेनि जाने बाढीपहिरोका कारण विद्यालयको भौतिक संरचनामा ठूलो असर पर्ने गरेको उनी बताउँछन् ।

मौसम अनियमितताले समयमा पानी नपर्ने, बढी पर्ने हुनाले उत्पादकत्वमा ह्रास आएको अवस्था छ । त्यसको असर विद्यार्थीको पोषणमा देखिएको उनी बताउँछन् । “मौसमी अदलबदलले विद्यार्थीले उपयुक्त शिक्षासहित पोषण खानेकुरा पर्याप्त पाएका छैनन्, जसले गर्दा मानसिक समस्याहरू समेत निम्तिएको देख्न सकिन्छ,” उनले भने ।

अत्यधिक वर्षाका कारण केही विद्यालय भवनमा चिरा परेका छन् । भित्ताबाट पानी चुहिन्छ, फर्निचर बिग्रन्छ । छाना उडाएका खबरहरू आउने गरेको छ । मर्मत र पुनर्निर्माण गरिन्छ तर त्यो दिगो नहुने गरेको उनी बताउँछन् । “मर्मत र पुनर्निर्माणका लागि छुट्टै जलवायु–अनुकूल बजेट नहुँदा जोखिममै कक्षा सञ्चालन भइरहेको छ,” उनले भने ।

संरचनागत जोखिम
धेरै विद्यालय भवन जलवायु–अनुकूल छैनन् । अत्यधिक वर्षाले छाना चुहिने, भित्तामा चिरा पर्ने समस्या हुने गरेको छ । पहाडी जिल्ला भएका कारण प्रत्येक गाउँ, नजिकमा विद्यालय खोल्न सक्ने अवस्था पनि हुँदैन । खोलेको ठाउँमा सञ्चालन गरेर टिकाउन सक्ने अवस्था पनि नरहेको नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख अधिकारी सुनाउँछन् । “त्यो हुँदा एक ठाउँबाट अर्को ठाउँमा, एउटा पहाड वा डाँडा कटेर जानुपर्ने अवस्था छ,” अधिकारी भन्छन् ।

ग्रामीण क्षेत्रमा होस्टेल राखेर पढाउन सक्ने अभ्यास र संरचना पनि छैन । त्यो अनुसारको पूर्वाधार पनि छैन । ३० मिनेटदेखि दुई–तीन घण्टासम्म हिँडेर विद्यालय जानुपर्ने अवस्था रहेको अधिकारी बताउँछन् ।

बेमौसमी वर्षा त्यसले निम्तिने बाढीपहिरोले विद्यार्थीलाई प्रत्येक समय जोखिम रहेको उनी बताउँछन् । “पहिलेको जस्तो बर्खाको समयमा यो महिनादेखि त्यो महिनासम्म मात्रै जोखिम हुन्छ भन्ने अवस्था अहिले छैन,” उनले भने, “जुनसुकै समय पनि विद्यार्थीलाई आउजाउ गर्न प्राकृतिक विपत्तिहरूले समस्या ल्याइरहेको छ । त्यसको मूल कारण भनेको जलवायु परिवर्तन नै हो ।”

नजानिँदो ढंगले यसको प्रभाव परिरहँदा विद्यालयमा जान विद्यार्थीलाई सकसपूर्ण हुने गरेको छ । दैनिक शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन नसक्दा उसको सिकाइमा प्रत्यक्ष असर पर्ने गरेको उनी बताउँछन् । “भएको जुन संरचना छ र बनिरहेको छ, त्यो अहिलेको जलवायु अनुकूल छैन । सामान्य पानी पर्दा चुहिने, भित्ता भत्कने, अत्यधिक गर्मीमा बस्न नसकिने जस्ता संरचनाले विद्यार्थीको पढाइमा प्रभाव पारेको देखिन्छ” उनले सुनाए ।

जलवायु शिक्षा: पाठ्यक्रममा सीमित
सरकारले जलवायु परिवर्तन वा अन्य वातावरणीय विषय पढाउनका लागि उपयुक्त मार्गदर्शन वा शैक्षिक सामग्री प्रदान नगरेको शिक्षकहरूको गुनासो छ । कतिपय विद्यालयमा जलवायु परिवर्तन पाठ्यक्रममा भए पनि स्थानीय सन्दर्भमा व्यवहारिक अभ्यास छैन ।

पाठ्यक्रममा अनिवार्य समावेश हुनुपर्छ भनेर केही अंश राखिएको क्याम्पस प्रमुख अधिकारी बताउँछन् । “केही विषय अध्ययन गर्नुपर्छ भनेर राखिएको छ तर त्यसको विषयमा गहिरो अध्ययन र विद्यार्थीहरूलाई पनि संवेदनशील बनाएर त्यसलाई शिक्षण सिकाइ क्रियाकलापमा समेट्न सकेको जस्तो लाग्दैन,” उनले भने, “यसलाई आंशिक रुपमा सामाजिक अध्ययन, वातावरण अध्ययन, विज्ञान र स्वास्थ्य विषयमा समावेश गरेको देखिन्छ ।”

पहिरो आएपछि के गर्ने, अत्यधिक वर्षा वा गर्मीमा कसरी सुरक्षित रहने जस्ता विषय कमै मात्रामा कक्षाकोठामा सिकाइने गरेको छ । त्यसका लागि शिक्षकहरू पुनतार्जकी तालिम आवश्य रहेको अधिकारी औँल्याउँछन् । “हाम्रोमा सैद्धान्तिक जानकारी लिने गरिन्छ तर प्रयोगात्मक अध्ययन, अनुसन्धान र स्थानीय समस्या समाधानमा आधारित सिकाइ कमजोर छ” उनले भने ।

इकाई प्रमुख सुवेदी ऐन, नियम, कानुनका विषय पाठ्यक्रममा राख्न सुझाव दिन्छन् । “जलवायुसम्बन्धी विषय विज्ञान, वातावरण लगायतका किताबमा राखिएको छ । यसलाई अझै फराकिलो बनाएर निश्चित पाठ्यक्रममा राख्न जरुरी छ” उनले भने ।

अब के गर्ने ?
विद्यार्थीलाई सिकाउन सक्यो भने त्यो घरदेखि समुदायमा प्रवेश गरेर पुग्छ । त्यसले जलवायु परिवर्तनमा हाल देखिएका नकारात्मक असरको प्रभावलाई न्यूनीकरण गर्न सक्ने तर्क क्याम्पस प्रमुख अधिकारीको छ । त्यसका लागि पाठ्यक्रममा ती विषयलाई समावेश गर्नु जरुरी रहेको उनको भनाइ छ ।

“राज्यले होस्टेलको व्यवस्थापन गर्नुपर्छ । विद्यार्थीले जहाँ सिक्छ त्यही वरपर सुरक्षित ढंगबाट बस्न, त्यही सिक्ने र अन्य क्रियाकलाप गर्न सक्नेको अवस्था सिर्जना गर्न सक्यौँ भने एउटा विद्यालयतहको सिकाइमा सकारात्मक प्रभाव पार्दछ,” उनको भनाइ छ ।

प्राकृतिक तथा मानवीय कारण जलवायु परिवर्तनका घटना सिर्जित भएको इकाई प्रमुख सुवेदीको भनाइ छ । “यसलाई सुधार गर्न मानवनिर्मित कुरा, प्रकृतिलाई यथावत् रहन दिनुपर्छ, असर नपर्ने गरी काम गर्नुपर्छ, खोलानालाई व्यवस्थित गर्दै लैजानुपर्छ,” उनले भने ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

समाजमा बढ्दो लैङ्गिक विभेद र हिंसा: कारण, चुनौती र समाधान

प्रविधि, पुस्ता र परिवर्तनले ल्याएको राजनीतिक उथलपुथल

समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान 

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 

यो पनि पढ्नुहोस

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान 

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण