नेकपाको घोषणा: विगतमा गल्ती भयो अब सच्याउँछौँ (पूर्णपाठ)

सम्बाददाता

कार्तिक ८, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले विगतको आत्मसमीक्षासहित जनताको बीचमा जाने घोषणा गरेको छ ।

दुई महिने जागरण अभियानको घोषणा गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको अपिलमा नेपाली कम्युनिस्ट पार्टीले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात् गरेको उल्लेख छ ।

अपिलमा भनिएको छ, आफ्ना विगतका कामहरूको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउनु हाम्रो दायित्व हो ।

No data was found

नेता तथा कार्यकर्तालाई जनताका बीचमा विनम्रतापूर्वक जान, उनीहरूका कुरा सुन्न, आलोचनालाई स्वीकार गर्न र आफ्ना कमजोरी सच्याउन विशेष आग्रह गरेका छन् । अभियानको घोषणसँगै नेकपाले सरकारको चर्को आलोचना गरेको छ। नयाँ र पुरानाको कृत्रिम विभाजनबाट सामाजिक घृणा बढाउने र नागरिकका राजनीतिक अधिकार सङ्कुचित गर्ने प्रवृत्तिले लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रतामाथि प्रश्न उठाएको नेकपाको बुझाइ छ ।

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइ  !

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट यो अपिल जारी गरिरहँदा हाम्रो देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको छ । ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ । महँगीले जनजीवन कष्टकर बनेको छ, बेरोजगारी र युवा पलायन बढिरहेको छ । किसान, मजदुर, सबै उद्यमी र व्यवसायीले अनेकौँ कठिनाइ भोगिरहेका छन् । जनजीविकाका आधारभूत प्रश्नहरू झन् जटिल बन्दै गएका छन् ।

अर्कोतर्फ, हाम्रो राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीरतापूर्वक सचेत हुनुपर्ने अवस्था छ । अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा गठन भएको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखाउने, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने, लोकतान्त्रिक संस्था, ट्रेड यूनियन, विद्यार्थी संगठन, कर्मचारीतन्त्र, निजि क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप तथा भय र त्रासको वातावरण सिर्जना हुने प्रवृत्ति देखाइरहेको छ ।

नयाँ र पुरानाको कृत्रिम विभाजनबाट सामाजिक घृणा बढाउने र नागरिकका राजनीतिक अधिकार सङ्कुचित गर्ने प्रवृत्तिले लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रतामाथि प्रश्न उठाएको छ । यसले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता तथा उपरोक्त ऐतिहासिक उपलब्धिहरुलाई संस्थागत गर्न बनेको संविधानमाथि समेत खतरा उत्पन्न भएको छ । यस्तो परिस्थितिमा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात् गरेको छ ।

शान्ति प्रक्रिया, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा राष्ट्रिय एकता र लोकतान्त्रिक निकासका लागि पार्टीले निर्वाह गरेका भूमिकाको समीक्षा गर्दै हामी विगतका उपलब्धिप्रति गर्व गर्छौँ । साथै, आफ्ना विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउनु हाम्रो दायित्व हो । सरकारमा रहँदा हाम्रो तर्फबाट सुशासन, सामाजिक न्याय, समृद्धि र सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा अघि बढाइएका कामलाई निरन्तरता दिँदै जनताप्रति थप उत्तरदायी बन्न आवश्यक छ भन्ने कुरामा जोड दिन चाहन्छौं ।

यसअघि विभिन्न जनअभियानमार्फत् हामीले विभिन्न भूगोल, समुदाय र जनतासँग प्रत्यक्ष संवाद गर्ने प्रयास गरेका थियौँ। ती अनुभवबाट सिक्दै अहिलेको बदलिँदो परिस्थितिमा जनतासँगको सम्बन्धलाई अझ व्यापक, व्यवस्थित र परिणाममुखी बनाउनु आवश्यक भएको छ । कम्युनिष्ट पार्टीको आधार किसान, मजदुर, श्रमजीवी, गरिब तथा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुँदै गएको र जनमुखीभन्दा नेतामुखी तथा गाउँमुखीभन्दा केन्द्रमुखी प्रवृत्ति बढेको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्छ । जनताको जीवन र अपेक्षासँग नजोडिएको राजनीति दिगो हुन सक्दैन भन्ने कुरा आत्मसात गर्नु जरुरी छ ।

यिनै आवश्यकता र जिम्मेवारीबोधका साथ नेपाली कम्युनिष्ट पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । यो अभियान संगठन विस्तार र सुदृढीकरणका साथै राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविका सम्बन्धी समस्या समाधान, पार्टीको रूपान्तरण तथा समाजवाद निर्माणको आधार तयार पार्ने उद्देश्यसहित सञ्चालन गरिँदैछ ।

हामी अभियानमार्फत् पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र तपाईंहरूकै टोलसम्म आउँदैछौँ । किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक समुदाय, फरक क्षमता भएका नागरिक, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवी, शिक्षक, कर्मचारी, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गर्नेछौँ। जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्नेछौँ ।

महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी र श्रमिकका समस्या तथा वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य र अनुभव सङ्कलन गर्नेछौँ । यसैगरी, देशका बिभिन्न भागमा बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ । साथै, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षति तथा बेपत्ता नागरिकको खोज, उद्धार र राहत कार्यमा देखिएको लापरबाहीप्रति गम्भीर आपत्ति व्यक्त गर्दछौं ।

विपद्को समयमा नागरिकको जीवनरक्षा गर्नु राज्यको पहिलो र प्रमुख दायित्व हो । त्यसैले, बेपत्ता नागरिकको खोज तथा उद्धारमा कुनै पनि प्रकारको ढिलासुस्ती नगरी उपलब्ध सम्पूर्ण स्रोतसाधन, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम परिचालन गरिनुपर्छ ।

आवश्यकताअनुसार मित्रराष्ट्रबाट प्राप्त हुन सक्ने प्राविधिक तथा अन्य सहयोग समयमै स्वीकार गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने थियो । यस्तो सहयोगको समयमै उपयोग हुन सकेको भए थप नागरिकको जीवन जोगाउन सकिने सम्भावना रहन्थ्यो । अझै पनि नागरिक बेपत्ता रहनु र खोज तथा उद्धार कार्य प्रभावकारी हुन नसक्नु अत्यन्त दुःखद र गम्भीर विषय हो ।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन, विस्थापित परिवारको सुरक्षित पुनस्थापना सुनिश्चित गर्न तथा सडक, खानेपानी, पुल, सञ्चार, विद्युतलगायत क्षतिग्रस्त भौतिक संरचनाको शीघ्र पुनर्निर्माण गर्न सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्छ । साथै, बाढीपहिरोबाट प्रभावित सबै क्षेत्रको क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत, पुनसर््थापना र पुनर्निर्माणका कार्यलाई पारदर्शी, प्रभावकारी र समयबद्ध रूपमा सञ्चालन गर्न हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ । साथै बाढीपहिरो पीडितको खोज, उद्धार, राहत र अस्थायी बसोबासको लागि हाम्रो पार्टीको तर्फबाट सक्रिय रुपमा सहभागी भई महत्वपूर्ण भूमिका खेलेको कुरा स्मरण गर्दछौं ।

जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पुर्‍याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्नेछौँ । जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने अभ्याससमेत अघि बढाउनेछौँ। हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो ।

आदरणीय जनसमुदाय,

हाम्रो विश्वास छ, देश र जनताका आधारभूत समस्याको दीर्घकालीन समाधान समाजवाद निर्माणको दिशामा अघि बढेर मात्र सम्भव छ । समाजवाद हाम्रो लागि केवल नारा होइन, आर्थिक असमानता र शोषण अन्त्य गर्ने, श्रमको सम्मान स्थापित गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने तथा राष्ट्रिय अर्थतन्त्रलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्य हो । 

नेपालको वर्तमान संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राज्य निर्माणको संकल्पलाई व्यवहारमा कार्यान्वयन गर्दै समाजवादको आधार तयार पार्नु आजको आवश्यकता हो । यसका लागि उत्पादन बृद्धि, राष्ट्रिय पुँजीको विकास, कृषि तथा उद्योगको आधुनिकीकरण, रोजगारी सिर्जना र स्रोतसाधनको न्यायपूर्ण वितरणमा जोड दिनुपर्छ । यो अभियानका साथै नियमित रुपमा हाम्रो पार्टी पङ्क्तिले जिल्ला, पालिका, वडा, टोलबस्तीका स्थानीय विशेषता अनुसार श्रम र उत्पादनमार्फत् जनतासँग जोडिने र सामूहिकताको अभ्यास गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ ।

राष्ट्रिय स्वाधीनता र समाजवाद निर्माण एकअर्कासँग जोडिएका विषय हुन् । आर्थिक परनिर्भरता घटाउँदै राष्ट्रिय उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बलियो बनाउनु, राष्ट्रिय हितअनुसार स्वतन्त्र निर्णय गर्ने क्षमता विकास गर्नु र सबै मित्रराष्ट्रसँग समानता तथा पारस्परिक सम्मानका आधारमा सम्बन्ध अघि बढाउनु हाम्रो प्राथमिकता हुनुपर्छ ।

राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्र निर्णय गर्ने अधिकारको रक्षाका लागि व्यापक राष्ट्रिय एकता आवश्यक छ । यस अभियानसँगै हामी आफ्नै पार्टीलाई सुदृढ र रूपान्तरण गर्नेछौँ । सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गर्न तथा पार्टी र जनसंगठनका बैठक, भेला, प्रशिक्षण, शुभकामना आदानप्रदान लगायतका कार्यक्रम गर्न विशेष जोड दिनेछौँ । पार्टीका विभिन्न तह तथा जनवर्गीय संगठनबीच समन्वय सुदृढ गर्दै संगठनलाई जनताको सेवामा प्रभावकारी रूपमा परिचालित गर्नेछौँ । पार्टीको एकता संगठनात्मक संरचनामा मात्र होइन, विचार, व्यवहार, जिम्मेवारी र जनताप्रतिको प्रतिबद्धतामा पनि प्रतिबिम्बित हुनुपर्छ ।

हामी पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई जनताका बीचमा विनम्रतापूर्वक जान, उनीहरूका कुरा सुन्न, आलोचनालाई स्वीकार गर्न र आफ्ना कमजोरी सच्याउन विशेष आग्रह गर्दछौं । जनताको विश्वास भाषणबाट होइन, व्यवहार र कामबाट आर्जन गर्नुपर्छ भन्ने मान्यतामा हामी दृढ छौं । 

अन्त्यमा, आम नेपाली जनसमुदाय, विभिन्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी, पेसागत समुदाय तथा निजी क्षेत्रलाई राष्ट्रिय हित र जनजीविकाका साझा सवालमा संवाद तथा सहकार्यका लागि हार्दिक आह्वान गर्दछौं । विशेषगरी किसान, मजदुर, युवा, विद्यार्थी, महिला, उत्पीडित समुदाय तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस अभियानमा सक्रिय सहभागिता जनाउन अपिल गर्दछौं ।

– संविधान र लोकतन्त्रको रक्षा गरौँ ! राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको पक्षमा एकजुट बनौँ  !!

–महङ्गी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाऔँ ! राष्ट्रिय समृद्धी र जनजीविकाका समस्या समाधानका लागि राज्यलाई जिम्मेवार बनाऔँ  !!

–विपद् प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनसर््थापनालाई प्राथमिकता दिँदै क्षतिग्रस्त भौतिक संरचनाको शीघ्र पुनर्निर्माणका लागि आवाज उठाऔँ  !

–उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रको विकास गरौं  ! सामाजिक न्याय, समानता, समुन्नति र समावेशितासहित समाजवाद निर्माणको आधार तयार पारौँ  !!

–निरंकुशता र अराजकताको विरोध गरौँ ! राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ  !!

दशैं, तिहार, नेपाल सम्बत्, छठ लगायतका पर्वहरुको अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक शुभकामनासहित धन्यवाद  !

पुष्पकमल दाहाल प्रचण्ड

संयोजक

–नेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेकपाको घोषणा: विगतमा गल्ती भयो अब सच्याउँछौँ (पूर्णपाठ)

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान, यात्रुलाई भने राहत र खुसी

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, पार्टी एकता सम्भव छैन : प्रचण्ड

राष्ट्रिय स्वाभिमानमा आँच आउँदा टुलुटुलु हेरेर बस्न सक्दैनौँः माधव नेपाल

सुरुङमार्गमा सवारीको लाम (फोटोकथा)

यो पनि पढ्नुहोस
सम्बाददाता