धादिङ । ज्वालामुखी गाउँपालिका वडा नं ७ मा रहेकाे सालवास माध्यमिक विद्यालयको ६८औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद छत्कुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमानाथ दनै प्रमुख अतिथि रहनु भएको थियो भने उपाध्यक्ष धर्मबहादुर अर्याल विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष दनैले सालवास माध्यमिक विद्यालयले ग्रामीण क्षेत्रको शैक्षिक विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षा र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
त्यसैगरि विशेष अतिथि उपाध्यक्ष अर्यालले विद्यालय शिक्षा नै राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिनुभयो। उहाँले शिक्षक, अभिभावक र स्थानीय समुदायको सहकार्यले विद्यालयलाई अझ सशक्त बनाउन सकिने धारणा राख्नुभयो।
कार्यक्रममा विद्यालयको ६८ वर्षे शैक्षिक यात्राको समीक्षा गर्दै शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा उपलब्धिबारे जानकारी गराइएको थियो। साथै, २०४१ र ०४२ सालका एसएलसी ब्याचका विद्यार्थीहरू, पूर्व शिक्षकहरू तथा विद्यालयको अक्षय कोषमा आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो।

वार्षिकाेत्सवकै अवसरमा विद्यालयमा पूर्व विद्यार्थी डण्डपाणी लाेहनीले ५१ हजार एकसय एकाउन्न र एक कुमारी लाेहनीले ५० हजार रुपैयाँ नगदै काेषमा जम्मा गर्नु भएकाे छ। रकम जम्मा गर्ने दुबैजनालाई कार्यक्रममा सम्मान गरिएकाे प्रधानाध्यापक बलराम इटनीले जानकारी दिनुभयाे। याे रकम समेत गरेर विद्यालय अक्षय काेषमा ११ लाख रूपैयाँ रहेकाे पनि प्रधानाध्यापक इटनीले बताउनु भयाे।
वार्षिकाेत्सवमा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरूले कार्यक्रममा थप रौनक थपेको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, पूर्व विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्कुलीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको शैक्षिक उन्नतिका लागि सबै पक्षको निरन्तर साथ आवश्यक रहेको बताउनुभयो।