पद नपाउँदा सिद्धान्त छाड्ने प्रवृत्ति : राजनीतिक विचलनको खतरनाक संकेत

माघ ६, २०८२

राजनीतिक दलको महाधिवेशन होस् वा कुनै तहको निर्वाचन, पराजयलाई स्वाभाविक रूपमा स्वीकार गर्न नसक्ने प्रवृत्ति नेपाली राजनीतिको एउटा गहिरो समस्या बन्दै गएको छ। पद प्राप्त नभएको क्षणमै पार्टी छाड्ने, विद्रोह गर्ने वा निष्क्रिय बन्ने व्यक्तिहरू वास्तवमा राजनीतिक सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्ने प्रवृत्तिका प्रतिनिधि हुन् भन्ने तथ्य बारम्बार पुष्टि हुँदै आएको छ।

राजनीतिक दल कुनै व्यक्तिको पद व्यवस्थापन केन्द्र होइन, बरु साझा विचार, सिद्धान्त र उद्देश्यको आधारमा निर्माण भएको संगठन हो। तर व्यवहारमा पद नपाउँदा असन्तुष्ट भई संगठन कमजोर पार्ने गतिविधि बढ्दै जानुले दलभित्रको वैचारिक अनुशासन कति कमजोर छ भन्ने प्रश्न उठाएको छ। सिद्धान्तप्रति निष्ठा भएको कार्यकर्ताले हार–जितलाई संगठनात्मक प्रक्रियाको हिस्सा मानेर आत्मसमीक्षा गर्छ, तर अवसरवादी सोच बोकेको व्यक्ति भने पराजयलाई अपमान ठानेर विद्रोहको बाटो रोज्छ।

पद नै राजनीति हो भन्ने गलत मानसिकताले दलभित्र आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको छ। यस्तो प्रवृत्तिले केवल सम्बन्धित दललाई मात्र होइन, समग्र राजनीतिक प्रणालीलाई नै क्षति पुर्यापउँछ। किनकि सिद्धान्तभन्दा पद ठूलो ठान्ने संस्कारले नीति निर्माण, जनउत्तरदायित्व र दीर्घकालीन दृष्टिकोणलाई ओझेलमा पार्छ। परिणामस्वरूप राजनीति सेवा र विचारको माध्यम नभई व्यक्तिगत लाभको साधनमा सीमित हुन जान्छ।

अझ गम्भीर कुरा के छ भने, पद नपाउँदा निष्क्रिय बस्ने वा पार्टीविरुद्ध नै सक्रिय हुने प्रवृत्तिले कार्यकर्तामाझ निराशा फैलाउँछ। लामो समयदेखि पार्टीको विचार बोकेर संघर्ष गरेका समर्पित कार्यकर्ताहरू निरुत्साहित हुन्छन् र संगठनभित्र गलत सन्देश प्रवाह हुन्छ—जसले जित्यो ऊ नै सही, हार्यो् भने सिद्धान्त गौण ?

साँचो अर्थमा सिद्धान्तनिष्ठ राजनीति भनेको पदभन्दा विचारलाई प्राथमिकता दिनु हो। नेतृत्वमा नपुगे पनि संगठन, समाज र जनताका पक्षमा निरन्तर योगदान गर्ने संस्कार नै राजनीतिक परिपक्वताको मापदण्ड हो। त्यसैले पद नपाउने बित्तिकै पार्टी छाड्ने वा विद्रोह गर्नेहरूलाई ‘असन्तुष्ट’ भन्दा पनि ‘सिद्धान्तमा विचलन आएका पात्र’का रूपमा बुझिनु जरुरी छ।

अब राजनीतिक दलहरूले पनि यस्ता प्रवृत्तिलाई आत्मालोचनाका साथ सम्बोधन गर्नुपर्ने समय आएको छ। वैचारिक प्रशिक्षण, आन्तरिक लोकतन्त्रको अभ्यास र मूल्य–मान्यतामा आधारित राजनीति मजबुत नबनाएसम्म पदमुखी अवसरवादले दलहरूलाई कमजोर बनाइरहनेछ। अन्ततः राजनीति पदका लागि होइन, सिद्धान्त र समाज परिवर्तनका लागि हो भन्ने मान्यतालाई व्यवहारमै उतार्न सक्नु नै आजको सबैभन्दा ठूलो चुनौती हो।

पछिल्ला केहि घटनाक्रम, केही व्यक्तिका कार्यशैलीले नेपाली राजनीतिमा एक गम्भीर र चिन्ताजनक प्रवृत्तिलाई सतहमा ल्याएको छ । आसन्न निर्वाचनमा उम्मेदवार बन्ने टिकट नपाएको झोंकमा तुरुन्तै अर्को पार्टी रोज्ने, आफ्नै दलभित्र हल्ला चलाएर नेतृत्वलाई दबाब दिने, घुर्क्याउने भाषा प्रयोग गर्ने र आफ्नो राजनीतिक योगदान तथा हैसियतभन्दा धेरै माथिको पद खोज्ने प्रवृत्ति तीव्र बन्दै गएको छ । यस्तो आचरणले राजनीति सिद्धान्त, निष्ठा र अनुशासनको अभ्यास होइन, अवसर र सौदाबाजीको माध्यम हो भन्ने गलत सन्देश समाजमा फैलाइरहेको छ । पद नपाउँदा विचार फेरिने र स्वार्थ नमिल्दा पार्टी फेरिने संस्कारले न त संगठन बलियो हुन्छ, न त लोकतन्त्र नै परिपक्व बन्छ । बरु यसले राजनीतिलाई अस्थिर, अविश्वसनीय र व्यक्तिकेन्द्रित बनाउँदै दीर्घकालमा जनआस्थामाथि गहिरो आघात पुर्याुइरहेको हुन्छ ।

व्यक्तिगत जीवनमा जस्तै राजनीतिक यात्रामा पनि इमान्दारिता, धैर्यता र निरन्तरता अपरिहार्य हुन्छ । तत्काल पद वा लाभ नपाउँदैमा असन्तुष्ट भई विचलित हुने होइन, आफ्नो योगदानलाई दीर्घकालीन उद्देश्यसँग जोडेर अघि बढ्न सक्ने क्षम नै राजनीतिक परिपक्वताको चिन्ह हो । त्यस्तै, राजनीतिक पार्टीका नेतृत्वले पनि निष्ठावान् कार्यकर्ताको योगदानको समयमै कदर गर्दै अनुभव, क्षमता र प्रतिबद्धताका आधारमा पुस्तान्तरणको प्रक्रिया अघि बढाउन सक्नुपर्छ । पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा सन्तुलित रूपमा समेटिन सके मात्र संगठन बलियो हुन्छ र राजनीति सेवा, सिद्धान्त र विश्वासमा आधारित मार्गतर्फ अग्रसर हुन सक्छ ?

हाताहाती पद नपाउँदैमा विचलित हुने, हतारमा निर्णय गरेर राजनीतिक बाटो बदल्नेहरूलाई आत्मसंयम अपनाउन, पर्खन र धैर्य गर्न आग्रह छ। राजनीति क्षणिक लाभको दौड होइन, समय, त्याग र निरन्तर प्रतिबद्धताको परीक्षा हो । आज नपाएको जिम्मेवारी भोलि अवसरमा बदलिन सक्छ भन्ने विश्वास राखेर संगठन र विचारप्रति निष्ठावान् रहनु नै दीर्घकालीन सम्मान र विश्वास आर्जन गर्ने सही मार्ग हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
94%
😆
उत्साहित
6%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 18

ताजा खबर

चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

छ सय सोह्र विपद्का घटनामा ३४ जनाको मृत्यु

कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र

भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै  

धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याउन सुरु

बाख्रापालनबाट स्वरोजगार   

यो पनि पढ्नुहोस