पुरुषोत्तम महामहोत्सवले चर्चाको चुलीमा धादिङको नृसिंहधाम !
शंकर श्रेष्ठ

असार २, २०८३

धादिङ । ‘नृसिंहधाम’ अहिले देशभर चर्चाको चुलीमा छ । जेठ महिनाभर सञ्चालन भएको पुरुषोत्तम महामहोत्सवले धामलाई थप चर्चामा ल्याएको हो । महामहोत्सव अवधिभर ३० लाख भक्तजनले नृसिंहधामको दर्शन गरेका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटार फेदीमा रहेको नृसिंहधाम बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थल हो । वैदिक सनातन शास्त्रअनुसार भगवान् नृसिंहदेवका १२ प्रमुख पीठ मध्ये यो नेपालको एकमात्र धाम हो । जेठ १ देखि ३१ गतेसम्म सञ्चालन भएको महामहोत्सवमा देश–विदेशबाट ३० लाख भक्तजन आइपुगेको पीठाधीश डा. श्रीवास कृष्णदास ब्रह्मचारीले जानकारी दिनुभयो ।

default

नेपालको पूर्वदेखि पश्चिमसम्मका भूभाग तथा म्यानमार, थाइल्याण्ड, भुटान, अस्ट्रेलिया र अमेरिकासहितका देशहरूबाट धार्मिक भक्तजनहरूको टोलीले नृसिंहधामको दर्शन गरेको ब्रह्मचारीले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “यो महामहोत्सव नेपालको इतिहासकै सबैभन्दा ठूलो धार्मिक उत्सव बन्यो ।”

No data was found

महामहोत्सवको अवसरमा नेपालका शीर्ष व्यक्तित्वहरूले पनि धामको दर्शन गर्नुभएको छ । सभामुख डोलप्रसाद अर्याल, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ, नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित संघीय र प्रदेश स्तरका मन्त्रीहरूले नृसिंहधामको दर्शन गर्नुभएको छ । साथै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं नेकपा एमालेबाट निर्वाचित सांसद पुष्पराज कँडेलसहित धादिङ, गोरखा, नुवाकोट, चितवन, काठमाडौँ, ललितपुर र भक्तपुरबाट निर्वाचित सांसदहरूले पनि यस पटक नृसिंहधामको दर्शन गर्नुभएको छ ।

यसरी भक्तजनहरूको घुइँचो लागिरहँदा चार पाङ्ग्रे र छ पाङ्ग्रे गरी एक लाख २४ हजार सवारी साधन भक्तजन बोकेर धाम क्षेत्रमा आइपुगेको अनुमानित तथ्याङ्क निकालिएको छ । दुई पाङ्ग्रे सवारीको संख्या गणना गर्न र अनुमान लगाउनै नसकिएको आयोजकको भनाइ छ । दर्शनमा आइपुगेकामध्ये एक लाख ९८ हजार जनालाई निःशुल्क भोजन गराइएको छ भने ९३ हजार बोतल पानी निःशुल्क वितरण गरिएको नृसिंहधाम विकास मूल समितिका अध्यक्ष भूमि कँडेलले जानकारी दिनुभयो ।

आयोजकले अनुमान लगाएभन्दा बढी भक्तजनको घुइचोले सुरुका दिनमा केही कठिनाई व्यहोर्नु परेको भएपनि त्यसपछिका दिनमा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिएको आयोजकको भनाई छ । सुरुको पहिलो सार्वजनिक विदाको दिन सामाजिक संजालमा भ्रमपूर्ण सामाग्रीले नृसिंहधाम महामहोत्सवको प्रचार भएपनि त्यसलाई सहि ढंगबाट व्यवस्थापन गरी भक्तजनलाई सहज ढंगबाट दर्शन गर्न सक्ने र आउजाउ गर्न सक्ने व्यवस्था मिलाइएको थियो ।

इतिहासमै पहिलो पटक नेपाली भाषामा ‘रामचरितमानस’ कथा वाचन :
हरेक तीन वर्षमा आउने पवित्र पुरुषोत्तम (मलमास) महिनाको अवसरमा बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थल नृसिंहधाममा इतिहासमै पहिलो पटक नेपाली भाषामा अनुवाद गरिएको प्रसिद्ध धार्मिक ग्रन्थ ‘रामचरितमानस’ कथा वाचन गरिएको छ, जसलाई चर्चित कथाव्यास ईश्वर कृष्ण महाराजले प्रस्तुत गर्नुभएको हो ।

कठिन भाषाका कारण आम नागरिकले बुझ्न गाह्रो हुने अवधी र संस्कृत भाषाको ‘रामचरितमानस’ लाई आफ्नै मातृभाषामा सुन्न पाउँदा भक्तजनहरूले भगवान् श्रीरामको आदर्श चरित्र, त्याग र मर्यादाका प्रसंगहरूलाई सहजै बुझ्न र आफ्नो व्यावहारिक जीवनमा उतार्न पाएका छन् । पुरुषोत्तम महिनामा गरिने कथा श्रवणले मानिसको मन र आत्मा शुद्ध हुने र मानसिक शान्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ । कथा वाचनले भक्तजनहरूलाई भक्तिभावमा लीन गराउछ । सनातन धर्म र संस्कृतिको जगेर्नामा समेत ठूलो मद्दत पुर्‍याएको विश्वास ईश्वर कृष्ण महाराजले व्यक्त गर्नुभयो ।

सामूहिक रूपमा आयोजना गरिएको वैज्ञानिक एवं धार्मिक हवन महामहोत्सवको अर्को आकर्षण बन्यो, जहाँ २९ वटा छुट्टाछुट्टै हवन कुण्डहरू स्थापना गरिएका थिए । सनातन हिन्दु परम्परामा प्रत्येक व्यक्तिको पहिचान र वंश उसको गोत्रसँग जोडिने भएकाले भक्तजनहरूलाई व्यवस्थित रूपमा पूजा गराउन उनीहरूको गोत्रअनुसार छुट्टाछुट्टै कुण्ड तोकिएकोले भक्तजनमा त्यसप्रति आकर्षण बढेको ब्रम्हचारीको भनाई छ । भक्तजनहरूले आफ्ना कुल र पितृहरूको उद्धार तथा ग्रहशान्तिका लागि विधिपूर्वक आ–आफ्नो गोत्रका समूहमा बसेर अग्निमा पूजा सामग्री अर्पण गर्ने अवसर जुटाइएको थियो ।

धाममा आउने भक्तजनहरूले बुढीगण्डकी र नेत्रावतीको दोभानमा स्नान गरी भगवान् नृसिंह अवतारको पूजापाठ गर्ने चलन छ । पूजाका क्रममा भक्तजनहरूबाट संकलित भेटीबाटै निश्चित रकम छुट्याएर धाममा आउने दर्शनार्थीहरूका लागि महामहोत्सव अवधिभर निःशुल्क भोजन र खानेपानीको व्यवस्था मिलाइएको आयोजक मूल समितिका अध्यक्ष कँडेलले जानकारी दिनुभयो । यसले टाढा–टाढाबाट आएका भक्तजनहरूलाई राहत पुग्नुका साथै धार्मिक क्षेत्रमा पारदर्शी व्यवस्थापनको एउटा उदाहरणीय सन्देश प्रवाह भएको उहाँको भनाई छ ।

धाममा आगामी २०८५ साल कात्तिक र चैत महिनामा पुनः पुरुषोत्तम महामहोत्सव आयोजना गर्ने तयारी अहिल्यैदेखि गरिएको छ । ६० वर्षपछि एउटै वर्षमा दुई वटा पुरुषोत्तम मलमास परेकोले २०८५ सालको महामहोत्सव अझ ऐतिहासिक हुने र त्यसका लागि अहिलेदेखि नै तयारी थालिने कँडेलले बताउनुभयो ।

नृसिंहधामको धार्मिक तथा पौराणिक पृष्ठभूमि :
वैदिक सनातन शास्त्रमा भगवान् नृसिंहदेवका विभिन्न १२ वटा प्राकट्य स्थल (प्रकट भएको ठाउँ) र १२ वटा नृसिंह पीठमध्ये यो स्थानलाई एक पीठको रूपमा वर्णन गरिएको छ । शास्त्रीय हिसाबले यी दुई नदी नेत्रावती र बुढीगण्डकीलाई यशोधरा, विश्वधारा वा नारसिंही र ब्राह्मी भनेर स्कन्दपुराण र पद्मपुराणमा व्याख्या गरिएको छ ।

विभिन्न पुस्तकहरूमा उल्लेख भएअनुसार सृष्टिको एक विशेष कालखण्ड (श्वेतबराह कल्प)मा भक्त प्रह्लादले तपस्या गर्दा भगवान् नृसिंहदेव जुन नदीबाट प्रकट भएर दर्शन दिनुभयो, त्यो नदीको नाम ‘नारसिंही’ रहन गयो । उक्त नदी नै वृद्धार गंगा नाम हुँदै अहिले बुढीगण्डकी नामले चिनिन्छ । नेत्रावती नदी भने भगवान् शिवजी उत्तरतर्फ यात्रा गर्नुभएको बखत उहाँको नेत्र (आँखा) बाट बगेको आँसुबाट उत्पत्ति भएको किंवदन्ती छ । बुढीगण्डकी सप्तऋषिको आश्रमबाट प्रवाहित गंगाका अनेक धारमध्ये एक हुन् । यी दुई नदीको संगममा स्नान तथा श्राद्ध गर्नाले पितृहरूको मुक्ति हुने र श्राद्ध गर्ने व्यक्तिको पनि जीवन सफल हुन्छ भन्ने जनविश्वास छ ।

यशोधरा र विश्वधारा नदीको संगम स्थललाई प्राचीन कालदेखि नै भगवान् श्री नृसिंहदेवको क्रीडास्थलका रूपमा लिइन्छ । नृसिंहधाम क्षेत्र भू–बनोट, प्राकृतिक सुन्दरता, ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व र सांस्कृतिक समृद्धिका दृष्टिले अद्वितीय संगम स्थल हो ।

नृसिंहको खोजअनुसन्धान :
नृसिंहधामको २०६६ फागुनदेखि खोज अनुसन्धान सुरु भएको हो । शास्त्रीय प्रमाणका आधारमा पं। मोहन लामिछानेले स्थानीयवासीको सहयोगमा नृसिंह मन्दिरको स्थापना गर्नुभयो । २०७७ सालमा आँपको फेदमा बसेर पुराण लगाई संकलन भएको रकमबाट मन्दिरको संरचना निर्माण थालियो । मन्दिर बनाउने स्थान खन्ने क्रममा लिच्छवीकालीन सिक्का, इँटाका मूर्तिलगायत पुरातात्त्विक भग्नावशेष फेला परे । त्यसपछि यहाँ हरेक वर्ष पुराण लगाउन थालियो ।

२०७२ सालको भूकम्पले मन्दिर भत्किएपछि उत्खनन गर्दा प्राचीन ढुंगा, इँटा र सिक्काहरू भेटिएका थिए । सल्यानटारको तल्लो क्षेत्र सबै बालुवा र ढुंगाको डाँडो जस्तो छ, तर यस ठाउँमा भने सात–आठ फिट गहिरो खन्दा चिम्ट्याइलो रातो माटो र प्राचीन इँटाका अवशेषहरू भेटिन्छन् ।

वि.सं. २०७६ देखि २१ करोड रुपैयाँको लागतमा नयाँ मन्दिर निर्माणको सुरुवात गरिएको छ । मन्दिर निर्माणका लागि विभिन्न पालिकाहरूले लगानी गरिरहेका छन् । भक्तजनबाट संकलन भएको रकमबाट मन्दिरका अतिरिक्त गुरुकुल भवन, आवास गृह, प्रसादी गृह र गौशाला लगायतका भौतिक संरचना निर्माण गरिएको छ ।

अहिलेसम्म तीन सय विद्यार्थी राख्न मिल्ने गुरुकुल भवन, चार सय जनासम्मलाई खाना खुवाउन सकिने प्रसादी गृह, दुई सय जना अट्ने अतिथि आवास गृह र ४० वटासम्म गाई पाल्न सकिने गौशालाका साथै भण्डार कक्षहरूको निर्माण सम्पन्न भइसकेको छ । हाल श्रीवास कृष्णदास ब्रह्मचारीको अठोटमा मन्दिर निर्माणसहित यस क्षेत्रलाई विशिष्ट धामको रूपमा विकसित गर्ने उद्देश्यका साथ काम अगाडि बढिरहेको छ ।

नृसिंहधाम परिसरमा ‘रुपानुगापरा विद्यापीठ’ गुरुकुल सञ्चालन भइरहेको छ, जहाँ सबै जातजातिका छात्रछात्रा गरी ६१ जना विद्यार्थी अध्ययनरत् छन् । त्यस्तै, यहाँको गौशालामा ४० वटा गाईहरू रहेका छन् ।

स्थानीय कथन :
स्थानीय पाकाहरूको भनाइअनुसार घाटबेंसी जाने पुल बन्नुभन्दा पहिला मानिसहरू गण्डकी नदी पार गर्न जँघार तर्न त्यही स्थानमा पुग्नुपर्ने बाध्यता थियो । त्यतिखेर यहाँ मन्दिर नभए पनि ‘यहाँ नृसिंह देवता छन्’ भन्दै थुम्कामा फूलपाती र भेटी चढाएर पूजाआजा गरी अगाडि बढ्ने चलन थियो ।

त्यतिबेला जताततै प्राचीन इँटाहरू देखिने भएकाले कतिपय मानिसले यस क्षेत्रलाई ‘इँटको डाँडो’ समेत भन्ने गर्दथे । पछिल्लो समय मन्दिर निर्माणका निम्ति उत्खनन गर्दा पनि वि।सं। २०३५ भन्दा अगाडिका झन्डै २ पाथी जति पुराना सिक्काहरू फेला परेका थिए ।

नृसिंहधाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटनको प्रमुख गन्तव्य बनिसकेको छ । बेलाबखत आयोजना भइरहने महायज्ञ, कथा अर्चना तथा नृसिंह महायज्ञले यसलाई अझ बढी परिचित गराएको छ भने सामाजिक सञ्जालमार्फत पनि यसको निकै प्रचार भइरहेको छ ।

डुबानको चपेटामा धाम :
वैदिक सनातन धर्मावलम्बीहरूको आस्थाको धरोहरका रूपमा परिचित नृसिंहधाम बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्दछ । त्यसैले पानीभित्रै रहने गरी मन्दिरको विशेष भौतिक संरचना निर्माण गरिएको छ । आयोजनाको जलाशय बनेपछि मन्दिरको माथिल्लो भागसम्म डुंगाबाट आउने, त्यहाँबाट लिफ्टमार्फत मन्दिरमा झर्ने र दर्शन गरेर फर्किन सकिने गरी प्राविधिक रूपमा मन्दिरको निर्माण कार्य भइरहेको छ ।

तस्बिरहरु : प्रभु खड्का

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

परेवाटार मास्टार सडकखण्ड मंगलबार पूर्ण रूपमा बन्द हुने

धादिङका बाढी प्रभावितलाई होटल व्यवसायीको सहयोग

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ