पुरुषोत्तम महामहोत्सवले चर्चाको चुलीमा धादिङको नृसिंहधाम !
शंकर श्रेष्ठ

असार २, २०८३

धादिङ । ‘नृसिंहधाम’ अहिले देशभर चर्चाको चुलीमा छ । जेठ महिनाभर सञ्चालन भएको पुरुषोत्तम महामहोत्सवले धामलाई थप चर्चामा ल्याएको हो । महामहोत्सव अवधिभर ३० लाख भक्तजनले नृसिंहधामको दर्शन गरेका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटार फेदीमा रहेको नृसिंहधाम बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थल हो । वैदिक सनातन शास्त्रअनुसार भगवान् नृसिंहदेवका १२ प्रमुख पीठ मध्ये यो नेपालको एकमात्र धाम हो । जेठ १ देखि ३१ गतेसम्म सञ्चालन भएको महामहोत्सवमा देश–विदेशबाट ३० लाख भक्तजन आइपुगेको पीठाधीश डा. श्रीवास कृष्णदास ब्रह्मचारीले जानकारी दिनुभयो ।

default

नेपालको पूर्वदेखि पश्चिमसम्मका भूभाग तथा म्यानमार, थाइल्याण्ड, भुटान, अस्ट्रेलिया र अमेरिकासहितका देशहरूबाट धार्मिक भक्तजनहरूको टोलीले नृसिंहधामको दर्शन गरेको ब्रह्मचारीले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “यो महामहोत्सव नेपालको इतिहासकै सबैभन्दा ठूलो धार्मिक उत्सव बन्यो ।”

महामहोत्सवको अवसरमा नेपालका शीर्ष व्यक्तित्वहरूले पनि धामको दर्शन गर्नुभएको छ । सभामुख डोलप्रसाद अर्याल, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ, नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित संघीय र प्रदेश स्तरका मन्त्रीहरूले नृसिंहधामको दर्शन गर्नुभएको छ । साथै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं नेकपा एमालेबाट निर्वाचित सांसद पुष्पराज कँडेलसहित धादिङ, गोरखा, नुवाकोट, चितवन, काठमाडौँ, ललितपुर र भक्तपुरबाट निर्वाचित सांसदहरूले पनि यस पटक नृसिंहधामको दर्शन गर्नुभएको छ ।

यसरी भक्तजनहरूको घुइँचो लागिरहँदा चार पाङ्ग्रे र छ पाङ्ग्रे गरी एक लाख २४ हजार सवारी साधन भक्तजन बोकेर धाम क्षेत्रमा आइपुगेको अनुमानित तथ्याङ्क निकालिएको छ । दुई पाङ्ग्रे सवारीको संख्या गणना गर्न र अनुमान लगाउनै नसकिएको आयोजकको भनाइ छ । दर्शनमा आइपुगेकामध्ये एक लाख ९८ हजार जनालाई निःशुल्क भोजन गराइएको छ भने ९३ हजार बोतल पानी निःशुल्क वितरण गरिएको नृसिंहधाम विकास मूल समितिका अध्यक्ष भूमि कँडेलले जानकारी दिनुभयो ।

आयोजकले अनुमान लगाएभन्दा बढी भक्तजनको घुइचोले सुरुका दिनमा केही कठिनाई व्यहोर्नु परेको भएपनि त्यसपछिका दिनमा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिएको आयोजकको भनाई छ । सुरुको पहिलो सार्वजनिक विदाको दिन सामाजिक संजालमा भ्रमपूर्ण सामाग्रीले नृसिंहधाम महामहोत्सवको प्रचार भएपनि त्यसलाई सहि ढंगबाट व्यवस्थापन गरी भक्तजनलाई सहज ढंगबाट दर्शन गर्न सक्ने र आउजाउ गर्न सक्ने व्यवस्था मिलाइएको थियो ।

इतिहासमै पहिलो पटक नेपाली भाषामा ‘रामचरितमानस’ कथा वाचन :
हरेक तीन वर्षमा आउने पवित्र पुरुषोत्तम (मलमास) महिनाको अवसरमा बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थल नृसिंहधाममा इतिहासमै पहिलो पटक नेपाली भाषामा अनुवाद गरिएको प्रसिद्ध धार्मिक ग्रन्थ ‘रामचरितमानस’ कथा वाचन गरिएको छ, जसलाई चर्चित कथाव्यास ईश्वर कृष्ण महाराजले प्रस्तुत गर्नुभएको हो ।

कठिन भाषाका कारण आम नागरिकले बुझ्न गाह्रो हुने अवधी र संस्कृत भाषाको ‘रामचरितमानस’ लाई आफ्नै मातृभाषामा सुन्न पाउँदा भक्तजनहरूले भगवान् श्रीरामको आदर्श चरित्र, त्याग र मर्यादाका प्रसंगहरूलाई सहजै बुझ्न र आफ्नो व्यावहारिक जीवनमा उतार्न पाएका छन् । पुरुषोत्तम महिनामा गरिने कथा श्रवणले मानिसको मन र आत्मा शुद्ध हुने र मानसिक शान्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ । कथा वाचनले भक्तजनहरूलाई भक्तिभावमा लीन गराउछ । सनातन धर्म र संस्कृतिको जगेर्नामा समेत ठूलो मद्दत पुर्‍याएको विश्वास ईश्वर कृष्ण महाराजले व्यक्त गर्नुभयो ।

सामूहिक रूपमा आयोजना गरिएको वैज्ञानिक एवं धार्मिक हवन महामहोत्सवको अर्को आकर्षण बन्यो, जहाँ २९ वटा छुट्टाछुट्टै हवन कुण्डहरू स्थापना गरिएका थिए । सनातन हिन्दु परम्परामा प्रत्येक व्यक्तिको पहिचान र वंश उसको गोत्रसँग जोडिने भएकाले भक्तजनहरूलाई व्यवस्थित रूपमा पूजा गराउन उनीहरूको गोत्रअनुसार छुट्टाछुट्टै कुण्ड तोकिएकोले भक्तजनमा त्यसप्रति आकर्षण बढेको ब्रम्हचारीको भनाई छ । भक्तजनहरूले आफ्ना कुल र पितृहरूको उद्धार तथा ग्रहशान्तिका लागि विधिपूर्वक आ–आफ्नो गोत्रका समूहमा बसेर अग्निमा पूजा सामग्री अर्पण गर्ने अवसर जुटाइएको थियो ।

धाममा आउने भक्तजनहरूले बुढीगण्डकी र नेत्रावतीको दोभानमा स्नान गरी भगवान् नृसिंह अवतारको पूजापाठ गर्ने चलन छ । पूजाका क्रममा भक्तजनहरूबाट संकलित भेटीबाटै निश्चित रकम छुट्याएर धाममा आउने दर्शनार्थीहरूका लागि महामहोत्सव अवधिभर निःशुल्क भोजन र खानेपानीको व्यवस्था मिलाइएको आयोजक मूल समितिका अध्यक्ष कँडेलले जानकारी दिनुभयो । यसले टाढा–टाढाबाट आएका भक्तजनहरूलाई राहत पुग्नुका साथै धार्मिक क्षेत्रमा पारदर्शी व्यवस्थापनको एउटा उदाहरणीय सन्देश प्रवाह भएको उहाँको भनाई छ ।

धाममा आगामी २०८५ साल कात्तिक र चैत महिनामा पुनः पुरुषोत्तम महामहोत्सव आयोजना गर्ने तयारी अहिल्यैदेखि गरिएको छ । ६० वर्षपछि एउटै वर्षमा दुई वटा पुरुषोत्तम मलमास परेकोले २०८५ सालको महामहोत्सव अझ ऐतिहासिक हुने र त्यसका लागि अहिलेदेखि नै तयारी थालिने कँडेलले बताउनुभयो ।

नृसिंहधामको धार्मिक तथा पौराणिक पृष्ठभूमि :
वैदिक सनातन शास्त्रमा भगवान् नृसिंहदेवका विभिन्न १२ वटा प्राकट्य स्थल (प्रकट भएको ठाउँ) र १२ वटा नृसिंह पीठमध्ये यो स्थानलाई एक पीठको रूपमा वर्णन गरिएको छ । शास्त्रीय हिसाबले यी दुई नदी नेत्रावती र बुढीगण्डकीलाई यशोधरा, विश्वधारा वा नारसिंही र ब्राह्मी भनेर स्कन्दपुराण र पद्मपुराणमा व्याख्या गरिएको छ ।

विभिन्न पुस्तकहरूमा उल्लेख भएअनुसार सृष्टिको एक विशेष कालखण्ड (श्वेतबराह कल्प)मा भक्त प्रह्लादले तपस्या गर्दा भगवान् नृसिंहदेव जुन नदीबाट प्रकट भएर दर्शन दिनुभयो, त्यो नदीको नाम ‘नारसिंही’ रहन गयो । उक्त नदी नै वृद्धार गंगा नाम हुँदै अहिले बुढीगण्डकी नामले चिनिन्छ । नेत्रावती नदी भने भगवान् शिवजी उत्तरतर्फ यात्रा गर्नुभएको बखत उहाँको नेत्र (आँखा) बाट बगेको आँसुबाट उत्पत्ति भएको किंवदन्ती छ । बुढीगण्डकी सप्तऋषिको आश्रमबाट प्रवाहित गंगाका अनेक धारमध्ये एक हुन् । यी दुई नदीको संगममा स्नान तथा श्राद्ध गर्नाले पितृहरूको मुक्ति हुने र श्राद्ध गर्ने व्यक्तिको पनि जीवन सफल हुन्छ भन्ने जनविश्वास छ ।

यशोधरा र विश्वधारा नदीको संगम स्थललाई प्राचीन कालदेखि नै भगवान् श्री नृसिंहदेवको क्रीडास्थलका रूपमा लिइन्छ । नृसिंहधाम क्षेत्र भू–बनोट, प्राकृतिक सुन्दरता, ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व र सांस्कृतिक समृद्धिका दृष्टिले अद्वितीय संगम स्थल हो ।

नृसिंहको खोजअनुसन्धान :
नृसिंहधामको २०६६ फागुनदेखि खोज अनुसन्धान सुरु भएको हो । शास्त्रीय प्रमाणका आधारमा पं। मोहन लामिछानेले स्थानीयवासीको सहयोगमा नृसिंह मन्दिरको स्थापना गर्नुभयो । २०७७ सालमा आँपको फेदमा बसेर पुराण लगाई संकलन भएको रकमबाट मन्दिरको संरचना निर्माण थालियो । मन्दिर बनाउने स्थान खन्ने क्रममा लिच्छवीकालीन सिक्का, इँटाका मूर्तिलगायत पुरातात्त्विक भग्नावशेष फेला परे । त्यसपछि यहाँ हरेक वर्ष पुराण लगाउन थालियो ।

२०७२ सालको भूकम्पले मन्दिर भत्किएपछि उत्खनन गर्दा प्राचीन ढुंगा, इँटा र सिक्काहरू भेटिएका थिए । सल्यानटारको तल्लो क्षेत्र सबै बालुवा र ढुंगाको डाँडो जस्तो छ, तर यस ठाउँमा भने सात–आठ फिट गहिरो खन्दा चिम्ट्याइलो रातो माटो र प्राचीन इँटाका अवशेषहरू भेटिन्छन् ।

वि.सं. २०७६ देखि २१ करोड रुपैयाँको लागतमा नयाँ मन्दिर निर्माणको सुरुवात गरिएको छ । मन्दिर निर्माणका लागि विभिन्न पालिकाहरूले लगानी गरिरहेका छन् । भक्तजनबाट संकलन भएको रकमबाट मन्दिरका अतिरिक्त गुरुकुल भवन, आवास गृह, प्रसादी गृह र गौशाला लगायतका भौतिक संरचना निर्माण गरिएको छ ।

अहिलेसम्म तीन सय विद्यार्थी राख्न मिल्ने गुरुकुल भवन, चार सय जनासम्मलाई खाना खुवाउन सकिने प्रसादी गृह, दुई सय जना अट्ने अतिथि आवास गृह र ४० वटासम्म गाई पाल्न सकिने गौशालाका साथै भण्डार कक्षहरूको निर्माण सम्पन्न भइसकेको छ । हाल श्रीवास कृष्णदास ब्रह्मचारीको अठोटमा मन्दिर निर्माणसहित यस क्षेत्रलाई विशिष्ट धामको रूपमा विकसित गर्ने उद्देश्यका साथ काम अगाडि बढिरहेको छ ।

नृसिंहधाम परिसरमा ‘रुपानुगापरा विद्यापीठ’ गुरुकुल सञ्चालन भइरहेको छ, जहाँ सबै जातजातिका छात्रछात्रा गरी ६१ जना विद्यार्थी अध्ययनरत् छन् । त्यस्तै, यहाँको गौशालामा ४० वटा गाईहरू रहेका छन् ।

स्थानीय कथन :
स्थानीय पाकाहरूको भनाइअनुसार घाटबेंसी जाने पुल बन्नुभन्दा पहिला मानिसहरू गण्डकी नदी पार गर्न जँघार तर्न त्यही स्थानमा पुग्नुपर्ने बाध्यता थियो । त्यतिखेर यहाँ मन्दिर नभए पनि ‘यहाँ नृसिंह देवता छन्’ भन्दै थुम्कामा फूलपाती र भेटी चढाएर पूजाआजा गरी अगाडि बढ्ने चलन थियो ।

त्यतिबेला जताततै प्राचीन इँटाहरू देखिने भएकाले कतिपय मानिसले यस क्षेत्रलाई ‘इँटको डाँडो’ समेत भन्ने गर्दथे । पछिल्लो समय मन्दिर निर्माणका निम्ति उत्खनन गर्दा पनि वि।सं। २०३५ भन्दा अगाडिका झन्डै २ पाथी जति पुराना सिक्काहरू फेला परेका थिए ।

नृसिंहधाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटनको प्रमुख गन्तव्य बनिसकेको छ । बेलाबखत आयोजना भइरहने महायज्ञ, कथा अर्चना तथा नृसिंह महायज्ञले यसलाई अझ बढी परिचित गराएको छ भने सामाजिक सञ्जालमार्फत पनि यसको निकै प्रचार भइरहेको छ ।

डुबानको चपेटामा धाम :
वैदिक सनातन धर्मावलम्बीहरूको आस्थाको धरोहरका रूपमा परिचित नृसिंहधाम बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्दछ । त्यसैले पानीभित्रै रहने गरी मन्दिरको विशेष भौतिक संरचना निर्माण गरिएको छ । आयोजनाको जलाशय बनेपछि मन्दिरको माथिल्लो भागसम्म डुंगाबाट आउने, त्यहाँबाट लिफ्टमार्फत मन्दिरमा झर्ने र दर्शन गरेर फर्किन सकिने गरी प्राविधिक रूपमा मन्दिरको निर्माण कार्य भइरहेको छ ।

तस्बिरहरु : प्रभु खड्का

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

दुई थान भरुवा बन्दुकसहित गोलाभञ्ज्याङ र पाल्पाभञ्ज्याङका दुईजना पक्राउ

अब बर्खामा पनि रुवीभ्याली–धादिङबेसी आउजाउ सहज हुने

स्वास्थ्यमन्त्री मेहतासँग कोरियाका राजदूतको भेटवार्ता

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन

निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ