जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो
सम्बाददाता

असार २९, २०८३

दामैली (तनहुँ)। असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलमा सरसफाइ हुन्छ, रङरोगन गरिन्छ, विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी सुरु हुन्छ । साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावत बढ्छ । तर जयन्ती सकिएपछि फेरि त्यही जन्मथलो सुनसान बन्छ । वर्षभर नेपाली भाषाका महाकवि जन्मिएको यस पवित्र स्थल ओझेलमै पर्छ ।
नेपाली भाषा र साहित्यलाई जनस्तरसम्म पु¥याउने आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घा हरेक वर्ष असार २९ गतेको वरिपरि मात्रै चर्चामा आउने गरेको छ । बाँकी समय भने यो ऐतिहासिकस्थल अपेक्षाकृत सुनसान रहने स्थानीयको गुनासो छ ।
स्थानीय स्थानीय सन्देश आचार्यले भानुभक्तको नामले देशभर सम्मान गरिए पनि उहाँको जन्मस्थलले अझै पनि अपेक्षित प्राथमिकता पाउन नसकेको बताउनुभयो । “जयन्तीका बेला सबै आउँछन्, भाषण गर्छन्, योजना सुनाउँछन् । कार्यक्रम सकिएपछि फेरि सबै हराउँछन् । वर्षभर जन्मथलो सुनसान नै हुन्छ”, उहाँले गुनासो गर्नुभयो ।
भानु जयन्तीका अवसरमा विभिन्न साहित्यिक गोष्ठी, कविता वाचन, सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । विद्यालयका विद्यार्थीदेखि साहित्यकारसम्मको उपस्थिति रहने यस अवसरमा जन्मथलो केही दिनका लागि मात्रै जीवन्त बन्छ । तर स्थायी रूपमा पर्यटन र साहित्यिक गतिविधि सञ्चालन हुन नसक्दा त्यसको प्रभाव केही दिनमै हराउने गरेको उहाँको भनाइ छ ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले चुँदीरम्घालाई अन्तरराष्ट्रियस्तरको साहित्यिक उद्यानका रूपमा विकास गर्ने महत्वाकाङ्क्षी योजना कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो । यसका लागि सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि रु २४ करोडभन्दा बढी बजेट सुनिश्चित गरिसकेको उहाँले बताउनुभयो ।
“हामी चुँदीरम्घालाई केवल स्मारक स्थलमा सीमित राख्न चाहँदैनौँ”, उहाँले भन्नुभयो, “यसलाई साहित्यिक पर्यटनको केन्द्र र सप्तधामका रूपमा विकास गर्ने लक्ष्य राखेका छौँ । बजेट सुनिश्चित भइसकेकाले अब निर्माण कार्यले गति लिन्छ ।”
गुरुयोजनाअनुसार नगरपालिकाले ४३५ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । सोही क्षेत्रमा बहुआयामिक साहित्यिक संरचना निर्माण गरिनेछ । चुँदीरम्घाको उत्तरतर्फ रम्घाडाँडामा परम्परागत गोलघर शैलीको भानु भवन निर्माण हुनेछ । उक्त भवनभित्र आदिकवि भानुभक्तको जीवन, साहित्यिक योगदान र ऐतिहासिक सामग्रीलाई चित्र, अभिलेख तथा प्रदर्शनीमार्फत प्रस्तुत गरिनेछ ।
त्यसैगरी भवनमाथि ५४ फिट अग्लो पलेटी मारेर बसेको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गर्ने योजना छ । यो प्रतिमा चुँदीरम्घाको प्रमुख आकर्षण बन्ने विश्वास गरिएको छ ।
गुरुयोजनामा नेपालका सातै प्रदेशका भाषा, साहित्य र संस्कृतिको प्रतिनिधित्व हुने मूर्तिवाटिका निर्माण गर्ने योजना पनि समेटिएको छ । त्यहाँ विभिन्न साहित्यिक व्यक्तित्वका प्रतिमा स्थापना गरिनेछ । साथै भानु साहित्यिक ग्राम, भानुबस्ती, भानु प्रज्ञा भवन, वनस्पति उद्यान, वनभोजस्थल, पार्किङ क्षेत्र लगायतका संरचना निर्माण गरिनेछ ।
यससँगै सप्तधाम निर्माण, चुँदीरम्घादेखि शिखरकटेरीसम्मको सडक स्तरोन्नति तथा सुविधासम्पन्न सिँढी निर्माण गर्ने योजना पनि अघि बढाइएको छ । यी संरचनाले चुँदीरम्घालाई धार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
यो योजना घोषणा मात्रै होइन, समयमै कार्यान्वयन हुनु अझ महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । गुरुयोजना पूरा भए चुँदीरम्घामा वर्षभर पर्यटक, साहित्यकार र अध्ययन अनुसन्धान गर्नेहरूको आवागमन बढ्ने स्थानीय शङ्कर रानाभाटले बताउनुभयो । त्यसले स्थानीय रोजगारी, पर्यटन व्यवसाय र आर्थिक गतिविधिलाई समेत नयाँ गति दिने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल

नेत्रावती डबजोङमा शान्ति सुरक्षा समीक्षा तथा नागरिक सुनुवाइ

निजी जग्गामा हाइड्रोपावरको डोजरः पीडितद्वारा क्षतिपूर्तिको माग

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

यो पनि पढ्नुहोस
सम्बाददाता