आलेख: यसरी सम्भव छ बाह्रैमास पर्यटन

साउन ७, २०८३

गण्डकी। कुनैताका वर्षायाम र मध्य जाडोमा पोखरामा पर्यटकीय गतिविधि शून्य प्रायः हुन्थ्यो । पोखराको निर्भरता मौसमी पर्यटनमा थियो । यहाँको पर्यटन बजारलाई ‘सिजन’ र ‘अफसिजन’मा छुट्टाउने गरिन्थ्यो । अहिले पोखराको पर्यटन कुनै याममा मात्र सीमित छैन । ‘सबै मौसममा पर्यटन’को लक्ष्यतर्फ पोखरा अग्रसर छ । अहिले वर्षात्को बेला छ । पर्यटन व्यवसायी यसलाई ‘अफसिजन’ भन्न नहुने तर्क गर्छन् । पछिल्लो समय पर्यटक कम आउने यामलाई ‘लो–सिजन’ र मुख्य पर्यटकीय यामलाई ‘हाइ–सिजन’ भन्ने गरिएको छ ।
पहिलेपहिले वर्षायाम (असार–भदौ) र मध्यजाडो (पुस–माघ)लाई पर्यटनमा ‘अफसिजन’ मानिन्थ्यो । त्योबेला पोखराको लेकसाइडमा प्रायः होटल, रेष्टुराँ बन्द हुन्थे । व्यवसायीले कर्मचारी÷कामदारलाई बिदा दिन्थे । विदेशी पर्यटक देख्नुरभेट्नु दुर्लभ जस्तै थियो तर अहिले त्यही याममा लेकसाइडका होटलको ‘अकुपेन्सी’ २० प्रतिशतसम्म छ । ‘हाइ–सिजन’मा भने यो दर ९५ प्रतिशतसम्म पुग्ने गरेको छ । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका भनाइमा निजी क्षेत्र, राज्यका निकायलगायत सबैको साझा प्रयासमा पोखराको पर्यटन यहाँसम्म आइपुगेको हो ।
“मैले नै होटल व्यवसाय सुरु गर्दा वर्षात् र जाडो याममा लेकसाइड झण्डै बन्दै जस्तो हुन्थ्यो, कतिपय होटल घरका सदस्य मात्रले चलाउँथे, स्तरीय होटल खुलिसकेका थिएनन्”, उहाँले भन्नुभयो, “बाह्रैमास पर्यटकीय गतिविधि हुन थालेपछि होटलमा लगानी थपियो, रोजगारी पनि बढ्यो, अहिले पोखराको पर्यटन क्षेत्रमा आठ खर्ब बराबरको लगानी रहेको अनुमान छ ।” वर्षायाममा होटलको ‘अकुपेन्सी’ २० प्रतिशतसम्म हुनुलाई सन्तोषजनक मान्नुपर्ने अध्यक्ष सुवेदीले बताउनुभयो । गर्मी छल्न आउने भारतीयसहित विदेशी र आन्तरिक पर्यटकका कारण ‘लो–सिजन’मा पनि पोखराको पर्यटन केही चलायमान भएको उहाँको भनाइ छ ।
हरेक मौसममा पोखरामा हुने पर्यटकीय गतिविधिले ‘बाह्रमासे पर्यटन’लाई टेवा दिइरहेको अध्यक्ष सुवेदीले बताउनुभयो । असार १५ को रोपाइँ महोत्सवदेखि नयाँ वर्षका बेला हुने सडक महोत्सवसम्मले पोखरामा पर्यटकलाई आकर्षित गर्ने गरेको उहाँको भनाइ छ । “यस्तो बर्खामा पनि पोखरामा प्याराग्लाइडिङ भइरहेको छ, लेकसाइडमा भारतीयसहित तेस्रो मुलुकका पर्यटक पनि ओहोरदोहोर गरिरहेको देख्न सकिन्छ”, अध्यक्ष सुवेदीले भन्नुभयो, “यसले पोखराको पर्यटन बजार बाह्रैमास चल्छ भन्ने देखाएको छ ।”
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले नेपाल हरेक याममा घुम्नलायक गन्तय हो भन्ने सन्देश पोखराले दिइरहेको बताउनुभयो । मनसुन यामलाई लक्ष्य गरी पर्यटन प्रवद्र्धनका गतिविधि गर्न सके यो बेला पोखरामा थप पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ छ । “गर्मी छल्न र मनसुनमा घुम्न रुचाउने भारतीयसहित गर्मी भूभागमा बस्ने आन्तरिक पर्यटकलाई पनि यो बेला पोखरा ल्याउने योजना बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “यसका लागि पोखरासम्मको हवाई सञ्जाल विस्तार, स्तरीय सडक यातायात र पर्यटकीय पूर्वाधार निर्माणमा राज्यले लगानी बढाउनुपर्छ ।”
पर्यटकीय राजधानी पोखरालाई बाह्रैमास उत्तिकै चलायनमान गराउने गरी नीतिगत र संरचनागत प्रबन्ध गर्नुपर्नेमा उहाँको जोड छ । “पोखराको पर्यटनमा जुन स्तरमा लगानी भएको छ, त्यही रुपमा निजी क्षेत्रले लाभ उठाउन सकिरहेको छैन”, परिषद्का पूर्वअध्यक्ष श्रेष्ठले भन्नुभयो, “राज्यले पनि निजी क्षेत्रलाई प्रोत्साहन हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्छ, पर्यटन विकासमा सबैको ऐक्यबद्धता र अठोट चाहिन्छ ।” उहाँले मुस्ताङ, मनाङजस्ता ठाउँमा मनसुन याम केन्द्रित पर्यटकीय गतिविधि हुन सकेमा पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो ।
“पर्यटकका लागि सुरक्षा पहिलो शर्त हुने भएकाले गन्तव्यसम्म जाने सडक सुरक्षित र व्यवस्थित हुन सकेमा जुनसुकै मौसममा पनि पर्यटक आउँछन्”, उहाँले भन्नुभयो, “वर्षायाममा पनि पूर्वाधार, बाटाघाटो सुरक्षित छन्, यातायात सेवा प्रभावित हुँदैन भन्ने सुनिश्चित चाहिँ राज्यले गर्नुपर्छ ।” नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले धेरै गर्मी हुने भारतसहित मध्यपूर्वी देशका पर्यटकलाई यस याममा नेपाल भित्र्याउन सके पर्यटन क्षेत्र थप चलायमान हुने बताउनुभयो ।
“धेरै कम पानी पर्ने र अत्यधिक गर्मी हुने मध्यपूर्वका देशबाट पर्यटक पोखरामा ल्याउन सकियो भने उनीहरुले यहाँ बटुल्ने अनुभव पक्कै अद्भूत खालको हुन्छ”, उहाँले भन्नुभयो, “मनसुन पदयात्रामार्फत पनि पर्यटकलाई पोखरादेखि नजिकका गन्तव्यमा पुर्‍याउन सकिन्छ ।” वर्षात्का बेला बेग्लै देखिने भूगोलको परिदृश्य, छिनछिनमा फेरिइरहने मौसम, हरिया डाँडापाखा, लेकतिर फुल्ने बुकीफूल, ग्रामीण जनजीवन आदिले यो याममा पर्यटकलाई आकर्षित गर्ने प्रमुख लामिछानेले बताउनुभयो ।
“झरी परिरहेका बेला छाता ओढाएर पर्यटकलाई हिँडाउन सकिन्छ, हिलोमा खेलिने विभिन्न खेल गतिविधिमा पनि पर्यटकलाई भुलाउन सकिन्छ”, उहाँले भन्नुभयो, “कोही पर्यटक झरीमा ड्राइभिङ गर्न रुचाउने खालका हुन्छन्, तिनका लागि पनि पोखरा उपयुक्त गन्तव्य बन्न सक्छ ।” वर्षात्को याममा प्रकृतिको बेग्लै अनुभूति बटुल्न पाइने हुँदा सौखिन र खर्चालु पर्यटक मनसुन पदयात्रामा बढी लालायित हुने गरेको उहाँको भनाइ छ । उहाँले पोखरा मात्र नभएर नेपालका अधिकांश गन्तव्यमा बाह्रैमास पर्यटक पुर्योउन सकिने बताउनुभयो ।
“मुख्य रुपमा भारतीय पर्यटकलाई लक्षित गर्नुपर्छ, यसवर्ष अहिलेसम्मकै धेरै भारतीय पर्यटक पोखरा आए, नेपालीहरुमा पनि घुम्ने संस्कृति बढ्दो छ”, उहाँले भन्नुभयो, “पर्यटन बोर्डले पनि निजी क्षेत्रसँग मिलेर पर्यटन प्रवद्र्धनका काम गरिरहेको छ, तर यो पर्याप्त छैन, राज्यसँग पनि स्रोतसाधनको कमी छ ।” ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान), गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सम्भावना भएर पनि नेपालमा मनसुन याम केन्द्रित पर्यटकीय गतिविधि खासै हुन नसकेको बताउनुभयो ।
डोल्पा, मनाङ, मुस्ताङलगायत उपल्लो भेगमा यस याममा पनि पदयात्राका गतिविधि सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । “पर्यटनलाई बाह्रैमास चलायनमान बनाउने गरी नीति र प्रवद्र्धनका कार्यक्रम ल्याउनु आवश्यक छ, निजी क्षेत्रले मात्र चाहेर हुँदैन, यसमा सरकारले नै पहल लिनुपर्छ”, उहाँले भन्नुभयो, “मनसुनमा पनि घुमफिर गर्न रुचाउने, आनन्द लिने पर्यटक हुन्छन्, तर उनीहरुलाई आकर्षित गर्न सकिएको छैन ।” उच्च पहाडी र हिमाली भेगमा कम पानी पर्ने भएकाले यो याममा पदयात्रा गर्न कुनै समस्या नहुने उहाँको भनाइ छ ।
यातायातको सहज सुविधा नहुँदा र प्रवद्र्धन नभएका कारणले मनसुन याममा पर्यटकीय गतिविधि न्यून हुने गरेको अध्यक्ष आचार्यले बताउनुभयो । “वर्षायाम भनेपछि पानी पर्छ, बाटाघाटो बिग्रन्छ, हिमाल खुल्दैन भन्ने भाष्य बनेकाले पनि पर्यटकीय गतिविधि कम हुने गरेको छ”, उहाँले भन्नुभयो, “यही याममा आधारित पर्यटन गतिविधि सञ्चालन गर्न सकिन्छ, तर यसमा सम्बद्ध निकायको चासो कम देखिन्छ ।”
मनसुनमा घुमघाम
वर्षायाममा मानिसहरु हत्तपत्त घुमफिरमा निस्कँदैनन । सामान्यतया यो बेला पर्यटकीय गतिविधि न्यून हुने गर्छन् । तर केही यस्ता गन्तव्य छन्, जहाँको पर्यटन यही याममा बढी चलायमान हुन्छ । मनसुन पदयात्रामा बढ्दो आकर्षणले कास्कीको कोरी, बागलुङको ढोरपाटन, पूर्वीरुकुमको चुङ्ग्रीबुकीलगायतका गन्तव्यमा मध्यबर्खामा पनि पर्यटकीय चहलपहल बढेको हो ।
उच्च पहाडी भेगका पाटन र खर्कमा फूल्ने बुकीफूल, लेकाली जनजीवन, वर्षात्मा हरियै देखिने डाँडापाखा, रिमझिम वर्षा र बादलभित्र लुकामारी खेल्ने हिमालको सौन्दर्य नियाल्न पदयात्रीहरु मनसुन पर्खिरहेका हुन्छन् । यो याममा गरिने घुमफिरको अनुभव बेग्लै खालको हुने बताउनुहुन्छ, पदयात्री सन्दीप शर्मा । हालै पूर्वीरुकुमको भूमे गाउँपालिका–१ स्थित चुङ्ग्रीबुकी पुगेर फर्कनुभएका उहाँले त्यहाँका पाटनमा फूल्ने रङ्गीचङ्गी भूइँफूलले पर्यटकलाई लोभ्याउने गरेको बताउनुभयो ।
“फूलैफूलले ढाकिएका पाटन, भेँडीगोठ र नजिकबाट नियाल्न सकिने हिमाली सौन्दर्य यहाँका मुख्य आकर्षण हुन्”, उहाँले भन्नुभयो, “छोटो दुरीको पदयात्रापछि पुग्न सकिने भएकाले पनि चुङ्ग्रीबुकीमा पर्यटकको आउजाउ बढेको हो ।” बागलुङ र पूर्वीरुकुमको सीमास्थल पातीहाल्नेदेखि पाँच किमिको पदयात्रामा चुङ्ग्रीबुकी पुग्न सकिने शर्माले बताउनुभयो । यो बेला चुङ्ग्रीबुकी, बागलुङको ढोरपाटनलगायत क्षेत्रमा देखिएको पर्यटकीय चहलपहलले नेपाल हरेक याम घुम्नका लागि उपयुक्त गन्तव्य हो भन्ने प्रमाणित गरेको उहाँको भनाइ छ ।
मनसुन पदयात्रामा जाँदा विशेष रुपमा चनाखो हुनुपर्ने र सोही अनुसारको बन्दोबस्ती मिलाउनुपर्ने शर्माको सुझाव छ । बाढीपहिराको जोखिम हुने भएकाले मौसमसम्बन्धी पूर्वसूचना र चेतावनीको सधैँ ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । पोखराकी यात्रा ब्लगर दिव्या ढकाल पर्यटकले मनसुन याममा चुङ्ग्रीबुकी, ढोरपाटनजस्ता गन्तव्य रोज्नुमा बुकीफूल र भेँडीगोठको आकर्षण मुख्य रुपमा जोडिएको बताउनुहुन्छ ।
“ढोरपाटन उपत्यका र बुकी क्षेत्रमा पाइने थरीथरीका फूल, भेँडीगोठ र रमणीय भू–बनोटले जोकोहीलाई लोभ्याउने गर्छ”, उहाँले भन्नुभयो, “यात्रामा एकैठाउँमा २५ सय-तीन हजारसम्मको भेँडीगोठ र गोठालाको दिनचर्या नियाल्न पाइन्छ ।” चार हजार मिटरमाथिसम्म विशाल क्षेत्रमा फैलिएका हरिया पाटन र खर्कले यो याममा बुकीको आकर्षण बढाउने गरेको छ ।
ढोरपाटन उपत्यका पनि अहिले रङ्गीचङ्गी भूइँफूलले सजिएको छ । चार-पाँच वर्षयता मनसुन याममा ढोरपाटन घुम्ने पर्यटकको सङ्ख्या बढेको छ । फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालले पनि ढोरपाटन र बुकी क्षेत्रको प्रचारप्रसारमा व्यापकता ल्याएको हो । विशेषगरी शरद र वसन्त ऋतुमा बढी पर्यटकीय गतिविधि हुने गरेकामा पछिल्लो समय मनसुन याममा पनि पदयात्रामा जाने क्रम बढ्नुले नेपाल पर्यटनका लागि हरेक मौसममा उपयुक्त छ भन्ने देखाएको छ ।
कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कोरी पनि मनसुन पदयात्रा लागि रोजाइको गन्तव्य हो । पर्यटकीय गाउँ सिक्लेसबाट पदयात्रा सुरु गरी अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै ३८ सय मिटरको कोरी लेक पुग्न सकिने सिक्लेसस्थित नमस्ते गेष्टहाउसका सञ्चालक झरना गुरुङले बताउनुभयो । “दुई दिनमा कोरीको पदयात्रा पूरा गर्न सकिन्छ, विशेषगरी मनसुन याममा यहाँ पर्यटकहरु घुम्न आउँछन्”, उहाँले भन्नुभयो, “यो बेला फूल्ने थरीथरीका फूल, नजिकै देखिने हिमाली दृश्य र छिनछिनमा फेरिइरहने मौसम कोरी ट्रेकको आकर्षण हो ।”
पर्यटक आगमनमा नयाँ रेकर्ड
पोखराको वरपरमा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आवमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिनुले पनि यस क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गरेको छ । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । आव २०८१/८२ को तुलनामा गत आवमा झण्डै दोब्बर बढी पर्यटक आएको संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताउनुभयो । आव २०८१/८२ दुई लाख ७८ हजार एक सय १३ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।
सबैभन्दा धेरै तीन लाख ७५ हजार सात सय ९७ भारतीय, दोस्रोमा चिनियाँ १२ हजार पाँच सय ३९ र तेस्रोमा अमेरिकाका नौ हजार आठ सय ८४ पर्यटक यस क्षेत्रमा आएका हुन् । एक सय ६९ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको आयोजना कार्यालयको आँकडाले देखाएको छ । यसमध्ये दक्षिण एसियाली मुुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ रहेका छन् । गत जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झण्डै तीन सय प्रतिशतले वृद्धि भएको थियो ।
भारतमा पोखरा, मुक्तिनाथलगायत यस क्षेत्रका गन्तव्यस्थलको पर्यटन प्रवद्र्धन हुनु, यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसार आदि कारणले भारतीय पर्यटक बढेका हुन् । तीमध्ये अधिकांश गर्मी छल्न पोखरा आउने गर्छन् । पोखरा आएकामध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेका छन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने अन्य मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

वरिष्ठ पत्रकार गुरागाईं र श्रेष्ठ पुरस्कृत

नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढ्यो

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

चलचित्रकर्मी र सञ्चारमन्त्रीबीच चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो स् अध्यक्ष ओली

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

आलेख: यसरी सम्भव छ बाह्रैमास पर्यटन

यो पनि पढ्नुहोस