गाउँ छाड्दै कुपोषण, फेरिँदै भोटेपलाङको दैनिकी
गंगा सुनार

श्रावण १५, २०८३

धादिङ । केही समयअघिसम्म धादिङको गल्छी गाउँपालिका–७, भोटेपलाङको मकैबारीमा असरल्ल फल्ने फर्सीको खासै रेखदेख गरिँदैनथ्यो । पाकेपछि गोठमा पालेका वस्तुभाउलाई खुवाइन्थ्यो, मुसाको आहार बन्थ्यो वा बारीमै कुहिएर जान्थ्यो । स्थानीय महिलाहरूलाई आफ्नै बारीको फर्सी र कोदो बालबालिकाका लागि पोषिलो खाजा बन्छ भन्ने पत्तै थिएन । तर, अहिले दृश्य फेरिएको छ । त्यही फर्सी, कोदो र घरआँगनकै उत्पादन भोटेपलाङबासीका लागि सन्तुलित र पोषिलो आहार बनेको छ । स्थानीय रीता खतिवडा भन्नुहुन्छ,“पहिले खान जानिएनछ, अहिले बल्ल पो आँखा खुल्यो ।”

महिलाहरूको दैनिकी र खानपान शैली मात्र बदलेको छैन, परिवारको स्वास्थ्यमा सुधार आएको छ । दलित र क्षेत्री–ब्राह्मणको मिश्रित बसोबास रहेको भोटेपलाङको खानपान र सामाजिक मान्यता पनि फेरिएको छ ।

पहिले ब्राह्मण समुदायमा कुखुरा पाल्न र छुन हुँदैन भन्ने धार्मिक मान्यता थियो । तर, अहिले सिंगो गाउँले घरघरै कुखुरा पालन र तरकारी खेती गरिरहेका छन् । घरमा उपभोग गरेर बाँकी रहेका कुखुराका भाले र अण्डा विक्रि गरेर आम्दानी समेत लिन थालेका छन् ।

No data was found

पहिले दिउँसोको खाजाका रूपमा बालबालिकालाई चाउचाउ र बिस्कुट जस्ता अस्वस्थकर कुरा खुवाउने बानी परेका भोटेपलाङका महिलाहरूको त्यो बानी हटेको छ । अहिले आफ्नै बारीमा उत्पादन भएको फर्सीको पराठा, खीर तथा कोदोको रोटी र प्यानकेक बनाएर बालबालिकालाई नियमित रूपमा खुवाउने गरेका छन् ।

आफ्नै उत्पादनबाट बनेको शुद्ध खाजा खुवाउन थालेपछि बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन देखिएको स्थानीय सुनिता परियारले बताउनुभयो । नेपाल सरकार कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) ले स्थानीय उत्पादनको सही सदुपयोग र पोषण सुधारसम्बन्धी तालिम दिएपछि यहाँका महिलाहरू सचेत बनेका हुन् ।

ज्ञान र प्रविधिको अभावमा खेतबारीका कृषि उपज खेर गइरहेको अवस्थालाई रोक्न फानसेपले सञ्चालन गरेको १८ महिना लामो ‘पोषण पाठशाला’ ले ‘सुनौला हजार दिनका’ आमा तथा बालबालिकाको जीवनस्तर र पोषण अवस्था परिवर्तन ल्याएको पोषण समूहमा समेत रहनुभएकी निकिता अर्यालले जानकारी दिनुभयो ।

फानसेपले घरबारी पोषण बगैँचा सञ्चालनसँगै ‘हरेक बार खाना चार’ को नारा दिएर अण्डा, मासु र सागसब्जीको महत्व बुझाएपछि बाहुनका घरमा पनि कुखुरा पाल्न र उपभोग गर्न थालियो । अहिले सिंगो गाउँ नै स्वस्थ बनेको निकिताको भनाइ छ ।
पोषण पाठशालापछि सदस्य महिलाहरुलाई पाँच वटाका दरले कुखुराका चल्ला र खोर बनाउन अनुदान पाएपछि महिलाहरूले अहिले अर्ध–बन्देज खोर निर्माण गरी व्यवसायिक रुपमा कुखुरा पालन गरिरहेका छन् ।

पाठशालामा ‘हरेक बार खाना चार’ सिकाउने क्रममा पाकेको फर्सीको खीर, गाजरको हलुवा, मासको बारा र कोदोका विविध परिकार बनाउन सिकेका छन् । बजारबाट किन्न नपर्ने र बारीमै फल्ने भएकाले बालबालिकाले साह्रै रुचाउने फर्सीको खीर उनीहरूका लागि सबैभन्दा पोषिलो आहार बनेको छ ।

फेरिएको खानपान र सचेतनाका कारण गाउँका बालबालिकामा कुपोषणको दर घटेको छ । गाउँपालिकाभरि सञ्चालन गरिएका ९ वटा पोषण पाठशालामा १५ जना बालबालिकामा कुपोषण देखिएको भएपनि अहिले खानपानमा सुधार आएपछि एक जनाबाहेक सबै बच्चाको अवस्था पूर्ण रूपमा सुधार भएको फानसेपकी पोषण प्राविधिक शर्मिला नेपालले जानकारी दिनुभयो । पालिकाको अन्य टोलमा पनि पाठशाला सञ्चालन गर्दै कुपोषित बालबालिकाको पहिचान र सुधार गर्ने क्रम जारी रहेको उहाँको भनाई छ ।

स्थानीय स्रोत–साधनको उच्च प्रयोग, खानपानमा सुधार र महिला सशक्तीकरणलाई एकसाथ अघि बढाएको भोटेपलाङको यो सफलता छिमेकी पालिका र बस्तीहरूका लागि अनुकरणीय बनेको छ । फानसेप आयोजना क्लस्टर इकाई गोरखाका प्रमुख वरिष्ठ कृषि अधिकृत होमनाथ लम्सालले स्थानीय बालीको प्रवर्धनले फजुल खर्च नियन्त्रण गर्नुका साथै ग्रामीण महिलालाई आत्मनिर्भर बनाउन सहयोग पु¥याएको बताउनुभयो ।

गाउँपालिकालाई कुपोषणमुक्त बनाउन आयोजनाले योगदान पु¥याएको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाको भनाइ छ । आगामी दिनमा गाउँपालिकाका सबै वडाहरूमा यस्ता व्यावहारिक, सीपमूलक र पोषणकेन्द्रित कार्यक्रमहरूलाई आवश्यक बजेट व्यवस्थापनसहित निरन्तर विस्तार गर्दै लैजाने नीति पालिकाले लिएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङबेसीमा टेक यात्रा इनोभेसन्सको यात्रा सुरु

सुनसरी घटनाः सुरक्षा अवस्था सामन्यीकरणतर्फ

गाउँ छाड्दै कुपोषण, फेरिँदै भोटेपलाङको दैनिकी

जनसङ्ख्या अध्ययन तथा सूचना केन्द्र स्थापना गर्न माग

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

यो पनि पढ्नुहोस
गंगा सुनार