धादिङ । परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडक आज आइतबार पनि दिनभर बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै सडकको विभिन्न स्थानमा भइरहेको मर्मतसम्भारको काम सम्पन्न भइनसकेकाले आज आइतबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उक्त सडकमा सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको हो।
भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको मुख्य पक्की पुल बगेपछि धादिङबेशी तथा उत्तरी क्षेत्र जोड्ने वैकल्पिक मार्गका रूपमा परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडक प्रयोग हुँदै आएको छ।
यसअघि पनि १७ गते शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडक बन्द गरी मर्मतसम्भार गरिएको थियो।
तर काम सम्पन्न नभएपछि प्रशासनले आइतबार थप समय सडक बन्द गर्ने निर्णय गरेको हो।
प्रशासनले सडक बन्द रहने अवधिमा धादिङबेशी–सुनौला बजार–भोर्ले–कोसिखोला–फोस्रेटार–कल्लेरीटार लगायतका वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ।