गाउँघरको बस्ती अब सहरतिर लाग्यो, जन्मिएको घरगाउँ आज आफ्नै लागि नौलो लाग्यो। कुनै समय बिहानै कुखुराको डाकसँगै ब्युँझिने गाउँ, गाईबस्तुको घण्टी, मेलापातका गफ, पँधेराको पानी, चौतारीको छहारी र खेतबारीको हरियालीले जीवन्त हुन्थ्यो। गाउँका बाटाहरूमा आत्मीयता भेटिन्थ्यो, घरका आँगनमा सद्भाव फुल्थ्यो र छिमेकीको दुःखमा सिङ्गो गाउँको मन रुन्थ्यो। तर आज समय फेरिएको छ, गाउँको स्वरूप फेरिएको छ र मानिसको सोचाइसमेत बदलिँदै गएको छ। गाउँका घरहरू त उस्तै छन्, तर घरमा बस्ने मानिस छैनन्स खेतबारी त छन्, तर खेती गर्ने हातहरू छैनन्स चौतारी त छन्, तर दुःखसुखका कुरा गर्ने साथीहरू छैनन्। हिजो जीवनले भरिएका बस्तीहरू आज सुनसान हुँदै गएका छन्। जन्मभूमिको माटोमा पसिना बगाएर जीवन बिताउने पुस्ता घट्दै गएको छ भने गाउँ छोडेर सहर पस्नुलाई नै सफलताको प्रतीक ठान्ने प्रवृत्ति बढ्दै गएको छ। प्रश्न उठ्छ के विकास भनेको गाउँ छोड्नु मात्र होरु के आधुनिक हुनु भनेको आफ्नै मौलिकता बिर्सनु होरु अनि के सम्पन्न हुनु भनेको आफ्नै संस्कार र संस्कृति त्याग्नु हो ?
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।” अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्। यसको सन्देश स्पष्ट छ मानिस जहाँ पुगे पनि, जति उन्नति गरे पनि, आफ्नो जन्मभूमिप्रतिको माया र सम्मान कहिल्यै बिर्सनु हुँदैन। गाउँको माटोमा हाम्रो बाल्यकाल छ, गाउँका खोलानालामा हाम्रा स्मृति छन्, खेतबारीमा हाम्रा पुर्खाको पसिना छ र गाउँका पुराना घरहरूमा हाम्रो इतिहास छ। त्यही माटोमा हुर्किएर, त्यही गाउँको अन्न खाएर, त्यही समाजको संस्कार सिकेर आज हामी आधुनिकताको कुरा गरिरहेका छौँ। तर विडम्बना, आफूलाई उभिन सिकाउने त्यही गाउँलाई आज पछौटेपनको परिचय दिन थालिएको छ। आफ्नो जन्मभूमिलाई माया गर्नु भनेको विकासको विरोध गर्नु होइन, बरु विकासको उज्यालो आफ्नै गाउँसम्म पुर्याउनु हो।
हिजो गाउँका भान्सामा मकै, रोटी, ढिँडो, फापर, कोदो, गहुँ, जौ र घरमै उत्पादन भएका अन्नको सुगन्ध आउँथ्यो। करेसाबारीमा सागसब्जी फल्थे, गोठमा गाईभैँसी हुन्थे, बारीमा फर्सी र काँक्रा लहराउँथे अनि चाडपर्वमा सेलरोटी, पुवा र घरकै परिकारले आत्मीयता बाँड्थे। आज ती परम्परागत स्वादहरू बिस्तारै ओझेलमा पर्दै गएका छन्। घरमै पाक्ने पौष्टिक खाना छोडेर प्याकेटभित्र बन्द भएका, प्रशोधित र तयारी खानेकुरातर्फ आकर्षण बढेको छ। बजारका चम्किला विज्ञापनले हाम्रो जिब्रोलाई लोभ्याएका छन्, तर आफ्नै माटोमा उब्जेको अन्नको महत्त्व बिर्साउँदै लगेका छन्। आधुनिक खानेकुरा सबै खराब हुन् भन्ने होइन, तर आफ्नो परम्परागत भोजनलाई तुच्छ ठानेर बाहिरी वस्तुलाई मात्र उत्कृष्ट मान्ने सोच अवश्य विचारणीय छ। हामीले स्वाद मात्र होइन, स्वादसँग जोडिएको श्रम, स्वास्थ्य, संस्कृति र आत्मनिर्भरता पनि गुमाउँदै त छैनौँरु आधुनिकताले सुविधा त दिएको छ, तर त्यसको पछि लाग्दा आफ्नै मौलिक जीवनशैलीलाई बिर्सनुचाहिँ हाम्रो कमजोरी हो।
“अयं निजः परो वेति गणना लघुचेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुम्बकम्।।”
अर्थात् यो आफ्नो हो र त्यो पराइ हो भनेर छुट्याउने सोच सङ्कीर्ण मन भएकाहरूको होस उदार हृदय भएकाहरूका लागि सारा पृथ्वी नै परिवार हो। यस श्लोकले हामीलाई संसारसँग जोडिन सिकाउँछ, तर आफ्नो मौलिकता त्याग्न सिकाउँदैन। अरूको राम्रो कुरा सिक्नु, नयाँ प्रविधि अपनाउनु र विश्वसँग प्रतिस्पर्धा गर्नु आवश्यक छ। तर आफ्नै घरको अन्नलाई हेपेर विदेशी उत्पादनको प्रशंसा गर्नु, आफ्नै भाषालाई कम महत्त्व दिनु र आफ्नो संस्कृति लुकाएर मात्र आधुनिक देखिन खोज्नु कस्तो उन्नति होरु आधुनिकता भनेको अरूको नक्कल गर्नु होइन, आफ्नो पहिचान जोगाउँदै समयअनुसार अघि बढ्नु हो। हामीले संसारबाट ज्ञान लिनुपर्छ, तर आफ्नो विवेक गुमाउनु हुँदैनस नयाँ बाटो रोज्नुपर्छ, तर आफ्नो जरा काट्नु हुँदैन।
हिजो गाउँका कोल, घट्ट, जाँतो, ढिकी, ओखल, छपनी र अँगेनाहरू जीवनका अभिन्न अङ्ग थिए। घट्टमा अन्न पिसिन्थ्यो, जाँतोमा मकै पिस्दा गीत गाइन्थ्यो, ढिकीमा धान कुट्दा घरआँगन गुञ्जायमान हुन्थ्यो र अँगेनाको तीनखुट्टे फलामे वदानमाथि पाक्ने खानाले परिवारलाई एउटै ठाउँमा भेला गराउँथ्यो। दाउराको आगो वरिपरि बसेर हजुरबा–हजुरआमाले सुनाउने कथा, लोककथा र जीवनका अनुभव नै बालबालिकाका लागि पहिलो पाठशाला हुन्थे। आज ती दृश्यहरू सम्झनामा सीमित हुँदै गएका छन्। आधुनिक मिल, विद्युतीय उपकरण र नयाँ प्रविधिले श्रम घटाएका छन्, सुविधा बढाएका छन्, जुन सकारात्मक पक्ष हो। तर प्रविधिले श्रम घटाउँदा त्यससँग गाँसिएका सीप, गीत, अनुभव र सामुदायिक सम्बन्धसमेत हराउनु दुःखद पक्ष हो। पुराना साधन सबै फर्काउनुपर्छ भन्ने होइन, तर तिनको ज्ञान र सांस्कृतिक महत्त्वलाई नयाँ पुस्तासम्म पुर्याउनु आवश्यक छ। “पुराणमित्येव न साधु सर्वं न चापि काव्यं नवमित्यवद्यम्।” अर्थात् कुनै कुरा पुरानो हुँदैमा सबै राम्रो हुँदैन, अनि नयाँ हुँदैमा सबै नराम्रो पनि हुँदैन। यसको मर्म अत्यन्त गहिरो छ। हामीले पुरानो भन्दैमा हरेक चलनलाई अन्धाधुन्ध स्वीकार गर्नु हुँदैन र नयाँ भन्दैमा हरेक कुरालाई आँखा चिम्लेर अँगाल्नु पनि हुँदैन। राम्रो परम्परालाई संरक्षण गर्नुपर्छ, हानिकारक अभ्यासलाई सुधार्नुपर्छ र उपयोगी आधुनिकतालाई विवेकपूर्वक अपनाउनुपर्छ। गाउँको मौलिकता जोगाउनु भनेको विकास रोक्नु होइनस विकासलाई आफ्नो पहिचानसँग जोड्नु हो। आधुनिक भवन बन्नु राम्रो हो, तर त्यससँगै गाउँको चौतारी पनि जीवित रहनुपर्छ। सडक बन्नु राम्रो हो, तर सडकले गाउँका उत्पादनलाई बजारसम्म पुर्याउनुपर्छ। प्रविधि आउनु राम्रो हो, तर त्यसले गाउँको श्रम, सीप र सिर्जनालाई विस्थापित मात्र होइन, समृद्ध पनि बनाउनुपर्छ।
गाउँघरका सीप, चलन, लोकगीत, लोकनृत्य, जात्रा, पर्व र परम्परागत ज्ञान आज संरक्षणको प्रतीक्षामा छन्। पहिले गाउँका मानिसलाई आफ्नो सीपमा गर्व हुन्थ्यो। कसैले डोको बुन्थ्यो, कसैले नाम्लो बनाउँथ्यो, कसैले हलोको फाली मिलाउँथ्यो, कसैले काठका सामग्री बनाउँथ्यो, कसैले कपडा बुन्थ्यो। यी काम केवल जीविकोपार्जनका साधन थिएनन्स ती हाम्रो सभ्यता र सामूहिक बुद्धिका परिचायक थिए। आज बजारमा सजिलै पाइने सामानले ती सीपलाई पछाडि पारेका छन्। नयाँ पुस्ताले ती काम सिक्ने अवसर कम पाएको छ र पुरानो पुस्ताले जानेका धेरै सीप उनीहरूसँगै हराउने खतरा बढेको छ। हामीले आफ्ना पुर्खाले छोडेका ज्ञानका भण्डारलाई सामान्य ठानेर उपेक्षा गर्यौँ भने भोलि तिनै कुरा सिक्न अरूको ढोका ढकढक्याउनुपर्ने अवस्था आउन सक्छ।
हाम्रो संस्कारको आधार नै परिवार, समाज, सहकार्य र सम्मान हो। पाहुना आउँदा पानी दिएर स्वागत गर्ने, दुःखमा परेकालाई सहयोग गर्ने, खेतीपातीमा पालैपालो सघाउने, विवाह र चाडपर्वमा गाउँले मिलेर काम गर्ने परम्पराले समाजलाई बाँधेर राखेको थियो। सम्पन्नता थोरै भए पनि आत्मीयता प्रशस्त थियो। आज आर्थिक अवसर बढेका छन्, मानिसको जीवनस्तर उकासिएको छ र व्यक्तिगत स्वतन्त्रता पनि विस्तार भएको छ। तर कतिपय ठाउँमा छिमेकीको नामसमेत नचिन्ने, आफ्नै घरभित्रका सदस्यसँग कुरा गर्न समय नपाउने र सम्बन्धलाई सामाजिक सञ्जालका प्रतिक्रियामा सीमित गर्ने प्रवृत्ति देखिन्छ। मानिससँग साधन बढेका छन्, तर मनको सन्तुष्टि बढेको छ कि छैन भन्ने प्रश्न अझै बाँकी छ। घर ठूलो हुँदैमा परिवार न्यानो हुन्छ भन्ने छैनस आम्दानी बढ्दैमा आत्मीयता बढ्छ भन्ने पनि छैन।
यसैले हाम्रो जीवनमा सन्तोष, सदाचार र परोपकारको महत्त्व बुझ्न आवश्यक छ।
“परोपकाराय फलन्ति वृक्षाः, परोपकाराय वहन्ति नद्यः। परोपकाराय दुहन्ति गावः, परोपकारार्थमिदं शरीरम्।।” अर्थात् रूखले अरूका लागि फल दिन्छन्, नदीले अरूका लागि बग्छन्, गाईले अरूका लागि दूध दिन्छन्स त्यसैगरी मानिसको शरीर पनि परोपकारका लागि सार्थक बन्नुपर्छ। यो श्लोकले हामीलाई आफ्नो जीवन केवल व्यक्तिगत उन्नतिका लागि होइन, समाजको हितका लागि पनि उपयोग गर्न प्रेरित गर्छ। गाउँको विकास पनि यही भावनाबाट सम्भव हुन्छ। आफू मात्र सहरमा सम्पन्न हुने, गाउँमा रहेका आमाबुबा र वृद्धवृद्धालाई एक्लै छोड्ने, बाँझो खेतबारीतर्फ ध्यान नदिने र गाउँको भविष्यबारे कुनै चिन्ता नगर्ने हो भने हाम्रो उन्नति अधुरो रहन्छ। सहरमा कमाएको ज्ञान, सीप, पूँजी र अनुभवलाई गाउँको विकासमा पनि उपयोग गर्न सके वास्तविक परिवर्तन सम्भव हुन्छ। गाउँमा आधुनिक कृषि, पशुपालन, घरेलु उद्योग, पर्यटन, स्थानीय उत्पादनको प्रशोधन र डिजिटल प्रविधिका अवसर विस्तार गर्न सकिन्छ। गाउँमै रोजगारी सिर्जना गर्न सकियो भने गाउँ छोड्नुपर्ने बाध्यता पनि कम हुन सक्छ।
आज हाम्रो अर्गानिक बाली, स्थानीय बीउबिजन र परम्परागत कृषि प्रणालीसमेत चुनौतीमा छन्। खेतबारी बाँझिँदै छन्, स्थानीय जातका बाली लोप हुने अवस्थामा पुगेका छन् र खाद्यान्नमा बाह्य बजारमाथिको निर्भरता बढ्ने जोखिम छ। कुनै समय आफ्नै खेतको धान, मकै, कोदो र गहुँले परिवार धानिन्थ्यो। आज उर्वर जमिन भएर पनि खेती गर्न मानिसको अभाव छ। उत्पादन गर्ने हातहरू सहर र विदेशतिर गएका छन्, गाउँमा वृद्धवृद्धा र बालबालिका बढी देखिन थालेका छन्। तर यसको समाधान केवल विगतको प्रशंसा गरेर सम्भव छैन। कृषि व्यवसायलाई सम्मानित र लाभदायक बनाउनुपर्छ, किसानलाई प्रविधि र बजारसँग जोड्नुपर्छ, स्थानीय उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्छ र युवालाई गाउँमै भविष्य बनाउन सकिने वातावरण दिनुपर्छ। आफ्नो माटोमा उब्जेको अन्न खानु आत्मनिर्भरता हो, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु अर्थतन्त्रलाई बलियो बनाउनु हो र प्रकृतिको संरक्षण गर्नु भावी पुस्ताप्रतिको जिम्मेवारी हो।
“माता भूमिः पुत्रोहं पृथिव्याः।” अर्थात् पृथ्वी मेरी आमा हुन् र म पृथ्वीको पुत्र हुँ। यसले पृथ्वीलाई केवल उपभोग गर्ने वस्तुका रूपमा होइन, जीवनदायिनी आमाका रूपमा सम्मान गर्न सिकाउँछ। खेतबारी, वनजङ्गल, खोलानाला र प्रकृतिसँगको हाम्रो सम्बन्ध यही भावनामा आधारित हुनुपर्छ। माटोको उर्वराशक्ति जोगाउनु, पानीका स्रोत संरक्षण गर्नु, रासायनिक पदार्थको विवेकपूर्ण प्रयोग गर्नु र स्थानीय वातावरणअनुकूल खेतीलाई प्रोत्साहन गर्नु आजको आवश्यकता हो। परम्परागत ज्ञान र वैज्ञानिक प्रविधिलाई एकसाथ उपयोग गर्न सकियो भने उत्पादन पनि बढाउन सकिन्छ र प्रकृतिको सन्तुलन पनि जोगाउन सकिन्छ। हाम्रो लक्ष्य पुरानो समयमै फर्कनु होइन, बरु पुरानो ज्ञान र आधुनिक विज्ञानलाई जोडेर भविष्यलाई अझ सुन्दर बनाउनु हो।
हामी आधुनिक भयौँ, शिक्षित भयौँ, प्रविधिसँग जोडियौँ र संसारका अनेक अवसरसम्म पुग्यौँ यो गर्वको विषय हो। तर आधुनिकताको नाममा आफ्नै भाषा, भेषभूषा, संस्कार, खानपान र जन्मभूमिप्रतिको जिम्मेवारी बिर्सन थाल्यौँ भने त्यो प्रगतिको अपूर्ण रूप हुनेछ। अरूको संस्कृति सम्मान गर्नु राम्रो हो, तर आफ्नो संस्कृति लुकाउनुपर्ने वस्तु होइन। अंग्रेजी बोल्नु ज्ञानको विरोधाभास होइन, नेपाली बोल्नु अज्ञानको परिचय होइन। विदेशी उत्पादन प्रयोग गर्नु गलत होइन, तर आफ्नै उत्पादनलाई अवसर नै नदिनु दुर्भाग्य हो। सहरमा बस्नु अपराध होइन, तर गाउँलाई बिर्सनु चिन्ताको विषय हो। विदेश जानु गलत होइन, तर आफ्नो देश र समाजका लागि केही गर्ने भावना मर्नु दुःखद हो। आधुनिकताको वास्तविक अर्थ आफ्नो मौलिकतालाई समाप्त गर्नु होइन, त्यसलाई समयअनुसार अझ समृद्ध बनाउनु हो।
हामीले बुझ्नुपर्ने कुरा के हो भने आधुनिकता र मौलिकता एकअर्काका शत्रु होइनन्। आधुनिक प्रविधिले गाउँको कृषि उन्नत बनाउन सक्छ, इन्टरनेटले स्थानीय उत्पादनलाई विश्वबजारसम्म पुर्याउन सक्छ, नयाँ शिक्षाले पुराना सीपको वैज्ञानिक विकास गर्न सक्छ र पर्यटनले गाउँका कला, संस्कृति तथा प्राकृतिक सम्पदालाई आम्दानीको स्रोत बनाउन सक्छ। त्यसैले गाउँको भविष्य अतीतको सम्झनामा मात्र होइन, वर्तमानको सही उपयोग र भविष्यको योजनामा पनि निर्भर छ। हाम्रा गाउँहरू खाली नहोऊन्, खेतबारी बाँझा नहोऊन्, स्थानीय भाषा र लोकगीत हराएर नजाऊन्, पुर्खाले छोडेका ज्ञानका धरोहरहरू विस्मृतिमा नपुगून्। यही हाम्रो सामूहिक दायित्व हो।
अन्ततः गाउँ भनेको केवल भौगोलिक ठाउँ होइनस गाउँ हाम्रो बाल्यकाल हो, हाम्रो पहिचान हो, हाम्रो इतिहास हो र हाम्रो अस्तित्वको एउटा महत्त्वपूर्ण आधार हो। सहरले अवसर दिन्छ, प्रविधिले सुविधा दिन्छ र आधुनिकताले नयाँ सम्भावना खोल्छ। तर गाउँले हामीलाई जरा दिन्छ, संस्कार दिन्छ र हामी को हौँ भन्ने परिचय दिन्छ। जरा काटिएको रूख केही समय हरियो देखिए पनि दीर्घकालसम्म बाँच्न सक्दैन। त्यसैगरी आफ्नो मौलिकता र संस्कारसँगको सम्बन्ध तोडेको समाज पनि बाहिरी चमकले मात्र समृद्ध बन्न सक्दैन। त्यसैले गाउँलाई सम्झनामा मात्र होइन, व्यवहारमा पनि जीवित राखौँ। गाउँको माटोलाई माया गरौँ, किसानको श्रमलाई सम्मान गरौँ, स्थानीय उत्पादनलाई प्रोत्साहन गरौँ, पुराना सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गरौँ र आधुनिकतालाई नेपालीपनसँग जोडौँ। विकासको उज्यालो सहरमा मात्र होइन, गाउँका प्रत्येक घर, खेत र आँगनसम्म पुग्नुपर्छ। किनकि गाउँ जोगिनु भनेको एउटा बस्ती मात्र जोगिनु होइनस हाम्रो भाषा, संस्कृति, परम्परा, कृषि, आत्मनिर्भरता र सामूहिक पहिचान जोगिनु हो।
गाउँको माटो नबिर्सौँ, आधुनिकताको बाटो पनि नरोकौँस जरा आफ्नै भूमिमा गाडौँ, हाँगा संसारभरि फैलाऔँ। यही सन्तुलनमा हाम्रो वास्तविक समृद्धि छ, यही विवेकमा हाम्रो उज्ज्वल भविष्य छ र यही भावनामा नेपालीपनको वास्तविक गौरव छ।
लेखक : अमृत पौडेल
गजुरी गाउँपालिकाको, लेखा अधिकृत
