क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

राष्ट्रिय समाचार समिति

कार्तिक १२, २०८३

अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र संयुक्त रूपमा उत्पादन गर्न जापानमा संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् । दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य र प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम चालेका हुन् ।
जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँगको भेटपछि उक्त जानकारी दिनुभएको हो । ‘अपरेसन सुपरचार्ज’ अन्तर्गत उत्पादन हुने क्षेप्यास्त्र एफ–३५ लडाकू विमानका लागि आवश्यक रहेको उहाँले बताउनुभयो । यद्यपि, सम्झौताका विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
कोइजुमीले क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै जापान–अमेरिका गठबन्धनको प्रतिरोध तथा प्रतिक्रिया क्षमता थप बलियो बनाउन सहमति भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय कानूनमा आधारित स्वतन्त्र र खुला व्यवस्थाको महत्त्वमा पनि दुवै देशले जोड दिएको जानकारी दिनुभयो ।
अमेरिकी रक्षामन्त्री हेग्सेथले आसियानका रक्षामन्त्रीहरूसँगको बैठकमा एसियामा शान्ति र स्थिरता कायम राख्न सहयोग गर्ने ट्रम्प प्रशासनको प्रतिबद्धता दोहोर्‍याउनुभयो । उहाँले अमेरिकाले आफ्ना सहयोगी र साझेदारको सुरक्षा तथा हितको रक्षा गर्ने बताउनुभयो ।
अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले पनि अमेरिकालगायत सहयोगी राष्ट्रसँग मिलेर दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानून र समुद्री आवागमनको स्वतन्त्रता कायम राख्ने प्रयास जारी राख्ने बताउनुभयो । गत वर्ष चिनियाँ जे–१६ लडाकू विमान अस्ट्रेलियाको पी–८ पोसाइडन निगरानी विमानको नजिक आएर फ्लेयर छोडेको घटनापछि अस्ट्रेलियाले चासो व्यक्त गरेको थियो ।
दक्षिण चीन सागरमा फिलिपिन्स, भियतनाम, मलेसिया, ब्रुनाई र ताइवानका पनि क्षेत्रगत दाबी छन् । चीन र फिलिपिन्सका तटरक्षक तथा नौसेनाका जहाजबीच विवादित समुद्री क्षेत्रमा विभिन्न विषयलाई लिएर तनाव उत्पन्न हुँदै आएको छ । अमेरिकाले फिलिपिन्सका सैनिक, जहाज वा विमानमाथि सशस्त्र आक्रमण भएमा आफ्नो सन्धिगत प्रतिबद्धताअनुसार सहयोग गर्ने बताउँदै आएको छ ।
यसैगरी, जापान र चीनबीच पूर्वी चीन सागरका केही टापुलाई लिएर पनि विवाद छ । दुवै देशले समुद्री क्षेत्रमा आफ्नो अधिकार र गतिविधिसम्बन्धी विषयमा फरक धारणा राख्दै आएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएलः जनकपुरविरुद्ध काठमाडौँ टस जितेर ब्याटिङमा

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति