धादिङ। जिल्ला प्रहरी कार्यालय धादिङले फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
बहुविवाह र भवितव्य ज्यान मुद्दामा सजाय तोकिएका प्रतिवादीलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बहुविवाह मुद्दामा धादिङ जिल्ला अदालतबाट १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका जीवन मिजार रहेका छन्। त्यस्तै, भवितव्य ज्यान मुद्दामा ६ महिना कैद र ५ सय रुपैयाँ जरिवाना तोकिएका कालीबहादुर भन्ने कृष्णबहादुर तामाङ पनि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी मंगलबार धादिङ जिल्ला अदालतमा उपस्थित गराएको थियो।
अदालतमा उपस्थित गराइएका दुवै जनालाई फैसला कार्यान्वयनका लागि कैद भुक्तान गर्न कारागार कार्यालय धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीले मंगलबार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो।