इजरायलका विपक्षी नेता अभिग्डोर लिबरम्यानले पूर्व सेना प्रमुख गदी आइसेनकोटको नेतृत्वमा बन्ने आगामी सरकारमा दुवै अति–रूढिवादी यहुदी दल ९हरेदी० सहभागी हुनेमा आफू शतप्रतिशत विश्वस्त रहेको बताउनुभएको छ ।
च्यानल १२ सँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारको आलोचना गर्नुभयो । उहाँले अमेरिकी जनमतमा इजरायलप्रतिको समर्थन राज्य स्थापना भएयताकै कमजोर अवस्थामा पुगेको दाबी गर्नुभयो ।
इरानसँग सम्भावित नयाँ सैन्य टकरावबारे उहाँले तत्काल कुनै सैन्य कारबाहीको आवश्यकता नरहेको बताउनुभयो । नेतान्याहुले राजनीतिक स्वार्थका लागि इरानसँगको तनाव उपयोग गर्न खोजेको आरोप लगाउँदै अहिले कुनै सैन्य कदम चालिए त्यो विशुद्ध राजनीतिक उद्देश्यबाट प्रेरित हुने उहाँको भनाइ थियो ।
लिबरम्यानको पछिल्लो धारणा उहाँको यसअघिको अडानभन्दा फरक छ । उहाँले पहिले हरेदी र अरब दललाई बाहिर राखेर धर्मनिरपेक्ष विपक्षी गठबन्धन बनाउनुपर्ने तथा अनिवार्य सैन्य भर्तीसम्बन्धी कानूनमा कुनै सम्झौता गर्न नहुने बताउनुभएको थियो । तर, चार विपक्षी जियोनिस्ट दलबाट मात्र सरकार गठनका लागि आवश्यक ६१ सिट जुटाउन कठिन रहेको उहाँले स्वीकार गर्नुभयो ।
अरब दलको समर्थनमा अल्पमतको सरकार बनाउने विकल्पलाई भने उहाँले अस्वीकार गर्नुभयो । त्यस्तो प्रयासले अन्ततः नेतान्याहुलाई ७० सिटसहित पुनः सत्तामा फर्काउने उहाँको तर्क छ । बरु सास र संयुक्त तोराह यहुदी धर्म पार्टीसँग सहकार्य गरेर सरकार गठन गर्नुपर्ने उहाँको धारणा छ । हरेदी नेताहरूसँग प्रत्यक्ष वार्ता नभए पनि दुवै दल नयाँ सरकारमा सहभागी हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
यसैबीच, नेतान्याहुले राष्ट्रिय एकताको सरकार गठन गर्नुपर्ने प्रस्ताव दोहो¥याउनुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत यहुदी जनताको राष्ट्रका रूपमा इजरायललाई स्वीकार गर्ने सबै राजनीतिक पक्षलाई सरकारमा सहभागी गराउनुपर्ने बताउनुभएको थियो । हरेदी दलसँग सहकार्य गर्ने र तोराहका विद्यार्थीहरूको हैसियतसम्बन्धी व्यवस्था आपसी सहमतिमा कानूनमार्फत टुङ्ग्याउने उहाँको भनाइ थियो ।
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले नोभेम्बर ८ मा याशर पार्टीका नेता आइसेनकोटलाई सरकार गठनको जिम्मेवारी दिनुभएको थियो । उहाँलाई १२० सदस्यीय नेसेटमा बहुमतका लागि आवश्यक ६१ सांसदको समर्थन जुटाउन २८ दिनको समय दिइएको छ । थप १४ दिन समय बढाउन सकिने व्यवस्था छ ।
गत अक्टोबर २७ को निर्वाचनमा नेतान्याहु नेतृत्वको दक्षिणपन्थी गठबन्धनले ५३ र आइसेनकोटको चारदलीय गठबन्धनले ४८ सिट जितेका थिए । संयुक्त सूचीले ११ र रामले आठ सिट प्राप्त गरेका थिए । अरब दलहरूको समर्थनमा औपचारिक गठबन्धन बनाउन भने आइसेनकोट पक्षका नेताहरूले अस्वीकार गर्दै आएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0