काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। पहिलो र दोस्रो संस्करणमा लगातार उपविजेताको रुपमा रहेको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा भने उपाधि जितेको हो।
साविक विजेता रहेको लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो जित सहित सुदूरपश्चिम रोयल्सले एनपीएलको मेडन उपाधि जितेको हो।
त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले ६ विकेटको क्षतीमा १५५ रन बनाएको थियो।
लुम्बिनी लायन्सले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १३.३ ओभरमा बीना कुनै विकेटको क्षती १५८ रनसहित लक्ष्य पूरा गर्दै उपाधि जितेको हो। सुदूरपश्चिम रोयल्सका लागि ओपनर ब्याटर जर्ज मुन्सेले सर्वाधिक १२५ रनको शतकीय पारी खेल्दै अविजित रहे। उनले ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गरे।
४५ रनमा क्याचमिसको रुपमा जीवनदान पाएका जर्जले सुदूरपश्चिमको जितमा उत्कृष्ट पारी खेले। उनले पहिलो विकेटको लागि अर्का ओपनर विनोद भण्डारीसँग १५८ रनको साझेदारी बनाउँदै सुदूरपश्चिमको जित सुनिश्चित गरे। विनोद भण्डारी ३० रनमा अविजित रहे। लुम्बिनी लायन्स विकेट विहीन रहँदे पराजित भयो।
त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको लुम्बिनी लायन्सका लागि दिलिप नाथले सर्वाधिक ३९ रनमा अविजित रहे । उनले ३१ बलमा ३ छक्का प्रहार गरे। लुम्बिनी लायन्सले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेख १ रनमै पेभेलियन फर्किदा दोस्रो विकेटको रुपमा अर्का ओपनर डार्सी सर्ट २१ रनमा बोल्ड भए।
तेस्रो विकेटको रुपमा निरोशन डिकवेल्लाको विकेट गयो। तेस्रो विकेटको लागि उनले कप्तान रोहित कुमार पौडेलसँग ३९ रनको साझेदारी बनाएका थिए। चौथो विकेटको रुपमा रोहित आफै रन आउट भए। चौथो विकेटको रुपमा रोहित पौडेल रन आउट भएपछि राम्रो लय समातेको लुम्बिनी लायन्सको ब्याटिङ केहीबेर सुस्तयो। चौथो विकेटको लागि रोहितले दिलिप नाथसँग ३४ रनको साझेदारी बनाएका थिए। पाँचौं विकेटको रुपमा सन्दीप जोरा ४ रनमा नै क्याच भए। छैटौं विकेटको रुपमा अलि शेख २४ रन बनाउँदै स्कट कुगेलेयनको हातमा क्याच भए। रुबेन ट्रम्पलमेन ४ रनमा अविजित रहेका थिए।
सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ स्कट कुगेलेइनले २ विकेट लिँदा हेमन्त धामी, थारिन्दु रत्नायके र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।
विजेता बनेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख प्राप्त गर्नेछ। उपविजेता बनेको लुम्बिनी लायन्सले ८० लाख प्राप्त गर्नेछ।
तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो भएको काठमाडौं गोर्खाजले ३० लाख रुपैंया पाउनेछ।