धादिङ । नेपाली कांग्रेसका नेता गगन थापाले धादिङको पुल समस्या तत्काल समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। बाढीपहिरोबाट प्रभावित धादिङ, नुवाकोट र रसुवाको स्थलगत निरीक्षणका क्रममा धादिङ आइपुगेका थापाले स्थानीय सरकारले पहल गरिसकेकाले अब बेलिब्रिज जडान र स्थायी पुल निर्माणको जिम्मेवारी संघीय सरकारले लिनुपर्ने बताएका हुन्।
सञ्चारकर्मीसँग कुरा गर्दै थापाले काठमाडौँमा बसेर संघीय सरकारको गतिविधि बुझ्नु मात्रै पर्याप्त नहुने भएकाले प्रभावित क्षेत्रमै पुगेर स्थानीय समस्या र नागरिकका भोगाइ बुझ्न आएको बताए। नुवाकोट र रसुवाका समस्याबारे चासो राख्दै आए पनि धादिङको अवस्थाबारे अपेक्षित ध्यान पुग्न नसकेको उनले उल्लेख गरे।
धादिङ र आसपासका क्षेत्रलाई जोड्ने पुलमा क्षति पुगेपछि यातायात आवागमन प्रभावित भएको छ। यसको समाधानका लागि जिल्लाका १३ वटै स्थानीय तहको समन्वय र स्थानीयवासीको सक्रियतामा बर्दियाबाट ल्याइएको पन्टुन पुल जडान भइरहेको छ। कामले गति लिए सातदेखि आठ दिनभित्र सञ्चालनमा आउन सक्ने थापाले बताए।
तर, पन्टुन पुल अस्थायी विकल्प मात्रै भएको उनको भनाइ छ। यसको सञ्चालनसँगै दीर्घकालीन व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले तत्काल बेलिब्रिज जडान गर्नुपर्ने र स्थायी पक्की पुल निर्माणको प्रक्रिया पनि सुरु गर्नुपर्ने उनले बताए।
‘स्थानीय सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न पहल गरिसकेको छ। अब बेलिब्रिज तत्काल जडान गर्ने र पक्की पुल निर्माणको प्रक्रिया अघि बढाउने जिम्मेवारी संघीय सरकारको हो,’ थापाले भने।
स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या र स्थानीय तहबाट उठेका विषय सम्बन्धित निकायमा राख्ने तथा आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए।