यम घिमिरे, टोरन्टो, (क्यानाडा), कात्तिक १०- कात्तिक ४ गतेलाई मुलुकमा फूलपातीको अघिल्लो दिन भनिदै गर्दा टोरन्टोमा अक्टोबर २० हुँदै थियो। त्यही दिन साँझ क्यानाडाको टोरन्टोमा बस्ने नेपालीहरुले जुराए दशैं मनाउने मेसो। कार्यक्रमको नाम ‘दशैं जलपान र शुभकामना साँझ’। आयोजक संस्था एनसीसीएसले सधैंझैं रोजेको स्थान टोरन्टो सहरको व्यस्त डण्डास रोड स्थित चौडा अडिटोरियम। जमघट तथा जलपानको मुख्य आकर्षण सूचीमा नेपाली पाराका तरकारी चिउरा, अचार, पुलाउ, दाल, र पशुबलीको… आदि आहारबिहार र विविध साँस्कृतिक कार्यक्रम। जमघटलाई उर्जा दिन अमेरिकाबाट डाकिएका दम्पत्ति कलाकार संजीब प्रधान र शरिष्मा अमात्य। अन्य स्थानीय प्रतिभाका धनी भाइबैनाहरु त छँदै थिए।
टोरन्टोमा क्रमशः बढ्दै गएको चिसोले कानमा सिटी बजाउन नपाउँदै दशैं मनाउन आतुर सबै न्यानो हलमा पसिसकेका थिए। उज्यालोका हिसाबले हेरेर दिन र रात भन्ने छुट्याउने हो भने सधैँको दिनझैं झल्झलाकार टोरन्टो गुलुपमा चमचम चम्किरहेको थियो बाहिर। प्रहरी र अग्नियोद्धाका बाहनको आतुरी छुटाउने रन्कोले टोरन्टोलाई कहिले सुबिस्ताले सुत्न दिँदैन। हुन त महानगर हुनुको पहिचान नै जतिखेरै जागै जस्तो देखिनु हो क्या रे। तेसरी नै बाहिर दमकलका रन्का छुटिरहेका थिए। भित्र हामी एसियाको माझमा हिमाल उठाउने नेपालीहरु भेला भइसकेका थियौं धित मर्नेगरी नाच्न र दशैं भोजसँग जिब्रो फड्कार्दै मनपेट साटेर रम्न रमाउन। बा बयका दौरा सुरुवाल र ढाकाटोपीमा, युवाहरु कोही सट प्यान्टमाथि ढाकाटोपी थपेका, सारीपोते, टिका हारमा सजिएका भाउजु काकीहरु, जिब्रो बटारेर अंग्रेजी बोल्न खप्पिस भइसकेका भुराभुरीहरु। हेर्दैमा कहिले नसुनेको नजानेकोले पनि ‘यो नेपाली बाहेक कसको हुन्थ्यो र’ भन्ला जस्तो दृश्य।
ब्यस्त सहरिया जीवनमा को कता को कता भएर बल्लबल्ल भेट हुँदाका गफगन्थन, चाडबाडको भावनात्मक एवम् साँस्कृतिक मनोविज्ञान र आ-आफ्ना हितैषीहरु माझ गोलो घेरामा फन्केर टेबलमा मिठामिठा कुरा जमाएर जमेर दशैं मनाउनेहरुको झुरुपझुरुपले हल खचाखच भरिएको थियो. फोटो खिच्नेका पल्याकपिलिक र मन्चबाट दर्शकतिर सोझ्याइएका बहुरंगी बतिको मल्याक्मिलिकले टिप्नेका आँखा टिपिरहेको थियो।
साँधेको भटमास र चिउरा समेतको शुद्ध नेपाली खाजासँग सबै आ-आफ्नो आसनमा, ध्यान भने मन्चतिर केन्द्रित थियो एकटक सबैको. ‘चौबन्दी चोली अनि रातो घाँघर’ मुखबोली भएको गीतमा एक यौवनाको चिताकार्षक उद्घाटन नृत्यबाट साँझ ७ बजे खुलेको परदेशीहरुको दशैं पुरै नेपालीमय भएर राति अबेरसम्म चलेको थियो। मुलुकमा छँदाका रेडियोकर्मी उद्घोषक बिसाल कार्की घरि चुट्किला त घरि मुक्तकले खाली ठाउँ भर्दै दर्शकलाई रत्याइ रहन लागिपरेकै थिए, तल भुइँमा आफ्ना बजाउने सहस्र उपकरण लिएर नेपाली सिनेमाका एक बेलाका नायक तथा निर्माता ईश्वर थापाले डिजेको रुप धारण गरेका थिए. ‘म त काली सुन्दरी चर्चा मेरो गाउँभरि…’, ‘आहा बनमा फुल्यो फूलै फूल…’, ‘हाम्री आमै सारै नै बाठी छन्..’ जे जे गीत र भाका बजे बजाइए र जे जसरी हातपाउ र कम्मर मर्किए सबै नेपालीपनकै थिए। देश छोडेर सपनाका चल्ला कोरल्न हिनेकालाई चाडबाडका बेला देश सम्झाउन, परिवार, समाज र गाउँको झल्को दिएर द्रवित बनाउन प्रस्तुत झाँकीहरु सफल थिए।
परदेशीका दशैं जमघटमा गीत गाउनु, नाच्नु, प्रेममय भोज गर्नु र सबैले सबैलाई एकै थलोमा भेटेर सन्चो बिसन्चो सोध्नुदेखि काम, पढाइ, घरफिर्ती, आगामी योजनाका गन्थन गर्नुमै छ मज्जा। आयोजकका गच्छेबुताले भ्याए एक दुई कलाकारलाई नि निम्त्याएर अझ रौनकता थप्नु। परदेशी नेपालीहरुको औषत दशैंको रुप स्वरूप यही हो।
गायक जोडी संजिव र शारिष्माले टोरन्टोको दशैंलाई निकै हौस्याए। सन् नब्बेको आसपासमा नेपाली पप संगीत गायनको फाँटमा उदाएका संजीव प्रधानका केही सार्वकालिक गीतले खुब रौस्यायो। उनले आफ्ना पाँच सात नयाँ पुराना गीत गाए। ‘देउरालीको चौतारीमा…’, ‘सिरिमा सिरि बैंशको बेला…’ र ‘नसाभित्र नसा सरि…’ ले उधुम त मच्चाए नै दर्शक हौस्याउन मन्चबाट ओर्लेका संजीवलाई हृदय खोलेर नाच्न र सँगसँगै गाउन सबथोक बिर्सेका के महिला के पुरुष के तन्नेरी के सोर वर्षे सबको भिडले झन्डै हवाकावा नै पारे। भिडको लहरमा बग्दै र फोटो खिचाउन चाहनेका क्यामरामा थापिदै भए पनि हातको माइकमा उनले गाउन भने छोडेनन्। असिनपसिन भइने मात्र होइन सन्तुलन नै गुम्ने स्थिति बुझेका संजीव लुसुक्क उक्लिए मन्चमा। ‘देउरालीको चौतारीमा..’ लाई ‘हाम्रा पालाको’ भन्ने उमेरमा पुगेका भद्र महिला तथा सज्जनले गायक स्वयम्को स्वरलाई नि खाप्ने गरी गाए। उर्जावान नृत्य पनि गरे। अहिलेको पुस्ताले भने गीतको छेउ टुप्पो ठम्याउन नसकेर अल्मलियो तर पनि हुलमुलमा नाच्न छोडेन।
नाच्ने गाउने प्रस्तुति सकिएपछि सुरु भयो खुल्लमखुल्ला नाच्ने पालो। डिजे ईश्वर थापाले पृथ्वी नै उचाल्ने गरिका बजाना सुरु गरे अब। मान्छे अब नृत्य कलाका बिना कुनै नियम र संहिता जता जता खुट्टा जान्छ तेतैतेतै नाच्न थाले। म जस्ता अरु बेला धकाउने पछि सर्ने नि अघि सर्न थाले। ढुङ्गो खाए पनि पचाउने उमेरकालाई के चाहियो र स्वर्ग मर्त्य नै काम्ने गरिको डुंगडुंग सुरु भएपछि। चल्यो निक्कै बेर यही गति र ताल।