Sun. Jun 16th, 2024

राज्यले दिने सेवा सुविधाबाट वञ्चित छौँ

गुणराज खतिवडा  अध्यक्ष  अपांग कल्याण संघ गजुरी धादिङ
गुणराज खतिवडा
अध्यक्ष
अपांग कल्याण संघ गजुरी धादिङ

समाजमा अहिले पनि अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक हुन सकेको छैन । बाहिरी रुपमा केही फरक आएता पनि व्यवाहारिक रुपमा परिवर्तन हुन सकेको छैन । अपांगता भएका व्यक्तिहरुले खासगरी बढी मात्रामा यातयातका साधन तथा राज्यले प्रदान गर्ने सेवाबाट वञ्चित भएका छन् । अपांग भएका काम गर्नका लागि भनेर विभिन्न संघसंस्थाहरु पनि स्थापना भएका छन् । तर उनीहरुका समस्याहरु पुर्ण रुपमा हल हुन सकेको छैन । अपांगता भएका व्यक्तिहरुको अवस्था तथा समस्याका विषयमा अपांग कल्याण संघ गजुरी धादिङका अध्यक्ष गुणराज खतिवडासँग गरीएको कुराकानी कुराकानी  :

धादिङमा अपांगता भएका व्यक्तिहरुको अवस्था कस्तो छ ?
धादिङको २५ वटा गाविसको तथ्याङक हेर्ने हो भने ४ प्रकारका अपांगता भएका व्यक्तिहरु छन् । जसमा क वर्गमा पर्ने अपांगताको अवस्था साह्रै नाजुक छ । उनीहरु घरबाट बाहिर निस्किन सक्दैनन् । अभिभावकहरुले बाहिरी रुपमा मेरो छोरो, छोरी, मेरो सन्तान भने पनि बाहिरी व्यावहारिक रुपमा त्यस्तो देखाएको पाइदैन ।

कस्ता व्यक्तिलाई अपांग भनेर चिनिन्छ ?
सामान्यतया राज्यले प्रदान गरेको सेवा सुविधाबाट वञ्चित हुनु र आफ्नो दैनिक जीवनको कार्य गर्न अरुको सहारा लिनु पर्ने व्यक्तिलाई नै अपांग भनेर चिनिन्छ । र सुचना सञ्चारबाट वञ्चित भएका छन् । बहिरा, सुस्तमनस्थिति, लुला, लङगडा लगायतका व्यक्तिहरु अपांगता भएको भन्ने बुझिन्छ ।

के के भएको अवस्थालाई अपांगता भएको भनेर चिन्न सकिन्छ ?
एउटा शारीरिक अपांगता हो, जसभित्र शारीरिक रुपमा अशक्त, शरीरको कुनै भागमा विकृति आयो भने त्यसलाई शारीरिक अपांगता भएको भनेर बुभिन्छ । अर्को नेत्रहिन अपांगता हो यसमा न्युनदृष्टि भएकाहरु पर्छन् । मनोसामाजिक, बहिराहरु पनि यस किमिमको अपांगता भएकाहरुमा पर्छ ।

अपांगता भएका व्यक्तिहरुलाई के का आधारमा परिचयपत्र प्रदान गरिन्छ ?
अपांगतालाई शारीरिक अस्वस्थ्यताका आधारमा चार भागमा विभाजन गरिएको छ । त्यहि अनुसार नै हामीले राज्यबाट प्रदान गर्ने अपांगता परिचयपत्र लिने गरेका छौँ । क ख ग र घ वर्ग गरी छुट्याइदिएको छ । क वर्ग शारीरिक र मानसिक दुवै रुपमा अशक्त भएका व्यक्तिहरु पर्छन् यस वर्गका व्यक्तिले रातो रंगको परिचयपत्र पाउने गर्दछ । त्यस्तै ख वर्गका दुवै आँखा नदेख्ने, बोल्न नसक्ने व्यक्ति पर्दछ । यस वर्गका व्यक्तिले निलो रंगको परिचयपत्र पाउने गर्दछ । ग वर्गका व्यक्तिहरु लड्ठीको सहायताले आफ्नो काम गर्न सक्ने व्यक्ति पर्दछ । यस्ता व्यक्तिहरुले पहेँलो र सामान्य किसिमले खोच्याएर हिड्न सक्ने घ वर्गमा पर्दछ । यस्ता व्यक्तिहरुले सेतो रंगको परिचयपत्र पाउने गर्दछ ।

कस्ता कस्ता समस्याहरु वेहोर्नु परेको छ ?
हाम्रा समस्याहरु त धेरै छन् । घरपरिवार, आफन्तजन लगायत राज्यबाट नै पिडित छौँ र त्यस्तै भौगोलिक रुपमा पनि धेरै समस्याहरु भोग्नुपरेको छ । खासगरी यातयातका साधनहरुमा धेरै रुपमा समस्याहरु झेल्नु परेको छ । भनेको समयमा गाडीहरु नरोक्ने त भएहाल्यौ त्यहि माथि हामी अपांगता देखेपछि गाडी नै रोक्न मान्दैनन् । हामी सरकारी कार्यलयमा सेवा लिनबाट पनि बञ्चित छौँ । सरकारी कार्यलयहरुमा ह्वीलचियर गुड्ने ¥यामको सुविधा नहुदाँ पनि कठिनाई भएको छ । विभिन्न वित्तिय संघसंस्था, अस्पतालहरु पनि हामीले सास्ती व्याहोर्नु पर्ने हुन्छ । एटिएमको सुविधाबाट सबैभन्दा धेरै दुख वेहोर्नु परेको छ । राज्यले दिने हरेक सेवा सुविधाबाट वञ्चित छौँ ।

कस्तो आवाजहरु उठाइरहनु भएको छ ?
यो एक्लै बोलेर हुने कुरा होइन। त्यसैले जिल्लाभर अपांगको क्षेत्रमा काम गर्ने संस्थाले पनि त्यसमा आवाज उठाउनु जरुरी छ । राज्यले दिएका हरेक सेवाहरु किन पाएका छैनौँ त भनेर सबै अपांग व्यक्तिहरुलाई जानकारी गराउने गरेका छौँ । पछिल्लो समयमा धादिङमा परिवर्तन देखिएको छ । हामीलाई हेर्ने दृष्टिकोणमा फरकता आएको छ । सहायक सामग्री कहाँबाट प्राप्त गर्न सकिन्छ भन्ने कुरामा पनि लागिरहेका छौँ । स्थानीय निकायले अपांगतका लागि छुट्टाएको बजेट कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा गाँउ गाँउमा सशक्त ढंगले आवाज उठाइरहेका छौँ ।

अपांग कल्याण संघ गजुरीले कस्ता कार्यहरु गरिहरेको छ ?
विशेषगरी सीप विकास तालिमहरु सञ्चालन गरिरहेको छ । महिलाहरुका निम्ति सिलाई कटाई तालिम, कम्प्यूटर तालिम, घडी रेडियो मर्मत तालिम लगायतका तालिमहरु सञ्चालन गरिरहेका छौँ । हामीले सञ्चालन गरेका तालिमहरु लिएर उनीहरु आफैले व्यवसायिक रुपमा काम गरिरहेका छन् । अपांग भएका व्यक्तिहरुसँग गुहभेट गर्ने विभिन्न व्यवहारिक कुराहरुको बारेमा जानकारी दिने, विभिन्न सहायक सामग्रीहरु उपलब्ध गराउन मद्धत गर्ने, विद्यार्थीहरुलाई छात्रवृतिको लागि पहल गरिदिने लगायतका कार्यहरु गरिरहेका छौँ ।

धादिङमा अपांगता भएका व्यक्तिहरुको तथ्याङ कति छ ?
२५ वटा गाविसको तथ्याङ छ हामीसँग प्रत्येक गाविसमा १५० अपांग व्यक्तिहरु फेला पारेका छौँ यो भित्रमा बढी मात्रामा शारीरिक अपांगता भएका व्यक्तिहरु बढी छन् । र सबैभन्दा ठूलो समस्या वौद्धिक अपांगता भएका बालबालिका बढी छन् । मनोसामाजिक अपांगता भएका व्यक्तिहरु बढी छन् । मनोसामाजिक अपांगता भएका व्यक्तिलाई राज्यले न त परिचयपत्र उपलब्ध गराउन कोसिस गर्छ न उ अपांग होइन भन्न सकिन्न ।

विद्यालय तथा अन्य निकायहरुबाट कसरी सेवा लिइरहनु भएको छ ?
धादिङ जिल्लामा एउटा विद्यालय महादेवबेसीमा रहेको जनजागृति उच्च माविमा अपांगता भएका व्यक्तिहरु मात्र अध्यायनरत छन् । यसले अपांगता भएका व्यक्तिहरुलाई सहयोग पु¥याएको छ । हामीले अन्य विद्यालयहरुमा पनि छात्रवृतिका लागि पहल गरेका छौँ । सरकारी कार्यलयहरु कुनै काम विशेषले जान पर्दा अरुको सहारा लिएर काम गर्ने गछौँ ।

अब राज्यले कस्तो निति ल्याएदिओस् भन्ने चाहनुहुन्छ ?
सर्वप्रथम राज्य पक्षका व्यक्तिहरुमा पनि हाम्रा अवस्थाहरुको बारेमा जानकारी होस् । अपांगका समस्याहरु आफ्नै समस्या भन्ने बुभ्नु आवश्यक छ । अपांग भएका व्यक्तिले दैनिक रुपमा प्रयोग गर्ने औषधि निशुल्क भइदियोस् भन्ने चाहना हामीले गरेका छौँ ।

प्रस्तोता : सरिता श्रेष्ठ

About The Author

Loading...

अन्य समाचारहरु: