Sun. Aug 9th, 2020

विमा गरेर पैसा खेर जाँदैन , निश्चित समयमा त्यसको प्रतिफल आउँछ

२२ माघ , धादिङ –


नेपालमा बीमाको सुरुवात २००४ सालबाट “नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेड” को स्थापनासँगै भएको हो । बीमा व्यवसायको सुरुवात नेपालमा सात दशक अगाडी नै भएको भए तापनि आजसम्म बीमाको पहुँच उल्लेख्य रुपमा बढ्न सकेको छैन । आज पनि मानिसहरुमा बीमा सम्बन्धी धेरै अन्यौल्ता कायमै रहेको पाइन्छ । यसैबीच बीमाको आवश्यकता र महत्व, बीमा क्षेत्रको वर्तमान अवस्था, अवसर, चुनौति लगायतका विषयमा केन्द्रित रहेर प्रभु इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यसँग पाविल साप्ताहिकले गरेको कुराकानीको सम्पादित अंश
१) बीमा भनेको के हो ? यसलाई सर्वसाधारणले कसरी बुझ्ने ?
एक शब्दमा भन्नु पर्दा बिमक र बिमितबीचको करारलाई बीमा भनिन्छ । कुनै पनि सम्पती क्षति भएको बेलामा त्यसको आर्थिक दायित्व ब्यर्होर्नु नै करार हो । बीमालाई सम्पतीको दायित्व जोखिम बहन गर्ने क्षेत्र भनेर पनि बुझ्न सकिन्छ । जुनसुकै क्षेत्रको लगानीकोे जोखिम बीमा कम्पनीहरुले लिन गर्छन् । बीमा गराएर त्यसमा हुने सम्पुर्ण जोखिम बीमा कम्पनीहरुलाई दिएर ढुक्क हुन सकिन्छ । घटना घटेमा त्यसको सम्झौता अनुसारको क्षतिपुर्ति पाईन्छ । मानिसहरुले बीमा मेरो लागि हो र बीमा गरिसकेपछि त्यसको क्षतिपुर्ति पाईन्छ भनेर पनि बुझ्नु आवश्यक छ । बीमा गरेर पैसा खेर जाँदैन । निश्चित समयमा त्यसको पनि प्रतिफल आउँछ ।
२) सम्पत्तीको बीमा किन गर्ने ?
सम्पतीको बीमा गराएमा त्यो सम्पत्तीको सम्पुर्ण जोखिम बीमा कम्पनीले लिन्छ । व्यवसायिक क्षेत्रको बीमाले बीमा गराउनेहरु डुब्न सक्ने अवस्था रहँदैन । मानिसहरुको बीमा गर्दा महिनैपिच्छे बीमा शूल्क तिर्नुपर्छ । तर, निर्जिवन बीमामा वार्षिक रुपमा तिर्दा हुन्छ । थोरै बीमा शुल्क तिरेर बीमा गराउँदा पनि सम्पुर्ण सम्पत्ती बराबरको क्षतिपुर्ति पाइन्छ । उदाहरणका लागि, रामले आफ्नो जीवनभर कमाएको पैसाले एक करोड रुपैयाँ लागतमा घर बनाएको छ । उसले घर बनाउने खर्च धेरै ठाँउबाट जुटाएको हुन्छ । भुकम्प, आगलागी, बाढीपहिरो लगायत धेरैबाट घरमा क्षय पुग्नसक्छ, जसपश्चात्, एक करोड रुपैयाँ एकैछिनमा सकिन्छ । तर, उक्त घरको बीमा गरेको छ भने जति क्षत भएपनि त्यसको पूर्ति बीमा कम्पनीले गरिदिन्छ । एक करोड रुपैयाँ बराबरको सम्पत्ती बीमा गराउँदा बीमा शूल्क चार हजार रुपैयाँ मात्रै लाग्छ । वार्षिक चार हजार रुपैयाँले एक करोड रुपैयाँको सम्पत्तीको सुरक्षा हुन्छ भने बीमा किन नगराउने ? हाम्रो जस्तो गरिबीले गाँजेको देशमा दुःख गरेर कमाएको सम्पत्ती पनि प्राकृतिक प्रकोपले क्षति गराउँदा व्यक्ति र परिवारलाई त असर पर्छ नै । साथमा समाज र राष्ट्र पनि प्रभावित हुन पुग्दछन् । त्यसैले, भविष्यमा आइपर्न सक्ने विपत्तीले पार्ने क्षतिको पूर्तिका लागि बीमा गर्नुपर्छ ।
३) सरल र सहज तरिकाले बीमा कसरी गर्न सकिन्छ ?
बीमा कम्पनीहरु अहिले निकै प्रविधीमैत्री भएका छन् । उनीहरुले बीमा सेवाको लागि विभिन्न मोवाइल एपहरु संचालनमा ल्याएका छन् । जसको मद्दतबाट घरमा नै बसेर चाहेको बीमा कम्पनीमा बीमा गर्न सकिन्छ । अब बीमा गर्न चाहनेहरु बीमा कम्पनीको कार्यलयमा नै पुग्नु पर्छ भन्ने छैन । इन्टरनेट र प्रविधिको पहुँच पुगेको जुनसुकै क्षेत्र वा स्थानबाट पनि तुरुन्तै बीमा गर्न सकिन्छ । त्यस्तै अहिले हरेक स्थानिय तह वा बैंक पुगेका जुनसुकै क्षेत्रमा बीमा कम्पनीहरु पुगिसकेका छन् । इन्टरनेट र प्रविधिको सहुलियत नभएकाहरुले पनि नजिकैको बीमा कम्पनीमा बीमा गराउनुका साथै बीमा सम्बन्धी सम्पुर्ण जानकारी लिन सक्छन् ।
४) बीमा कम्पनीहरु थपिइरहेका छन् । तर पनि बीमा पहुँच बढ्न सकेको छैन नि ?
हाम्रो देशको सन्र्दभमा बीमा स्वतः स्फुर्त रुपले गरिएको पाइँदैन । जति नै जान्ने बुझ्ने व्यक्ति भए तापनि बीमा आवश्यक भएमा मात्र गराउने प्रचलन छ । स्वतः बीमा गराउन जनचेतना अभिवृद्धि गर्न आवश्यक छ । बीमा सम्बन्धी जनचेतना फैलाउने काम भइरहेको छ । सबै बीमा कम्पनी, बीमा समिती र बीमासँग सम्बन्धीत संघ संस्थाहरु पनि यस कार्यमा लागिरहनु भएको छ । केही बर्ष अगाडीको तथ्यांकको तुलनामा अहिलेको १८ प्रतिशत बीमा पहुँचलाई पनि ठूलै उपलब्धी मान्नुपर्छ । बीमा कम्पनीहरु बढेसँगै बीमा सम्बन्धी सचेतना कार्यक्रमहरु पनि बढिरहेको छ । भविष्यमा चाँडै नै वाध्यतामा वा आवश्यक भएर गराउने भन्दा स्वतः बीमा गराउने प्रचलन सुरु हुने अपेक्षा गर्न सकिन्छ ।
५) बीमा कम्पनीको संख्यासँगै बढेको प्रतिष्पर्धाले बीमा क्षेत्रलाई कस्तो प्रभाव परेको छ ?
बीमा क्षेत्रमा निर्जिवनभन्दा बढी जीवन बीमा कम्पनीको संख्या बढेको छ । बीमा कम्पनीहरुको संख्या बढेको अनुसार प्रतिष्पर्धा र बढेको छ नै, साथमा दायरा पनि फराकिलो हुँदै गइरहेको अवस्था छ । त्यसैले, बीमा कम्पनीहरु बढ्दैमा आत्तिनुपर्ने अवस्था छैन । नयाँ बीमा कम्पनीहरुले पुराना बीमा कम्पनीहरुले समेट्न नसकेका क्षेत्रहरुमा पनि बीमा सेवा दिएर बीमाको दायरा बढाउँछ । बीमा कम्पनीहरु प्रतिष्पर्धी भएमा नै उपभोक्ताहरुले राम्रो सेवा पाउँछन् । त्यस कारण बीमा क्षेत्रमा नयाँ बीमा कम्पनीहरु थपिँदा वा प्रतिष्पर्धा बढ्दा बिमक र बिमित दुबैलाई फाइदा पुगेको छ ।
६) पछिल्लो समय बैंकहरुले पनि बीमा गर्न सहयोग गरिरहेका छन् । कत्तिको सहज भएको छ ?
बैंक तथा वित्तीय संस्थाहरुको व्यवसाय संचालनका लागि बीमा आवश्यक छ । बैंकले विभिन्न धितो राखेर कर्जा दिनुपर्ने हुन्छ । त्यसका लागि बैंकहरुलाई धितोको सुनिश्चितताको आवश्यकता पर्छ । त्यस किसिमको आवश्यकताको परिपुर्ति बीमाले गर्छ । बैंक र बीमालाई एकअर्काको परिपुरकको रुपमा पनि बुझ्न सकिन्छ । बैंकले लिने हरेक धितोको बीमा गर्नैपर्ने भएकाले पनि बीमालाई केहि फाइदा भएको हो । तर हामी त्यतिमा मात्र सिमित रहनुहँुदैन । बैंक तथा वित्तीय क्षेत्रमा कारोबार गर्नेलाई मात्र बीमा सेवा दिने भन्ने होइन, त्यो भन्दा बाहिर पनि धेरै भौतिक संरचनाहरु छन् । त्यसको पनि जोखिम हामीले हेर्नुपर्छ । त्यसकारण बीमा कम्पनीहरु बैंकसंग आधारित भएर बीमा व्यवसाय संचालन गर्ने भन्दा पनि त्यो भन्दा बाहिरको भौतिक सम्पत्तीहरुलाई बीमाको दायरामा समेट्न सक्नुपर्छ ।
७) बैंकहरुले आफ्नो सम्पत्ती सुरक्षाको लागि सेवाग्राहीहरुलाई अनिवार्य बीमा गराएका हुन्छन् । के आज पनि बैंकिङ कारोबारका लागि मात्र मानिसहरु बीमा गर्न बाध्य भएका हुन् ?
पहिले त अवश्य नै बैंकिङ कारोबार गर्ने व्यक्तिहरुले मात्र बीमा गर्ने गरेका थिए । अहिले बिस्तारै त्यो प्रचलन घट्दै गएर बैंकमा कारोबार गर्ने भन्दा बहिरका मानिसहरुले पनि बीमा गराउने प्रचलन बढेको छ । पहिलेको अवस्थामा नेपालमा बीमा सम्बन्धी चेतना नै थिएन । बीमा के हो भन्ने नै मानिसहरुले बुझेका थिएनन् । तर अहिले बीमाको चेतना बिस्तारै बढिरहेको छ । यद्यपि, थुप्रै जनसंख्या यस्ता छन्, जो बीमाको बारेमा बुझ्नै चाहँदैनन् वा उनीहरुलाई बुझाउन अत्यन्तै गाह्रो हुन्छ । पढेलेखेका मान्छेहरु समेत बीमाबारे चासो राख्दैनन् । यसले गर्दा, अझै पनि बीमासम्बन्धी चेतना फैलाउनु चुनौतिपूर्ण नै छ । यद्यपि, चुनौतिका बाबजुद पनि बीमा कम्पनीहरु, बीमा समिति एवम् अन्य बीमासम्बन्धी संस्थाहरुको प्रयासमा बीमा चेतना विस्तार हुँदैछ । छिटै नै बाध्यताभन्दा पनि आफैँ चेतनशील भएर बीमा गर्नेको संख्या बढेको देख्न पाइनेछ ।
८) बीमा गराउन प्रोत्साहन गर्ने तर दाबी भुक्तानी लिने बेला झन्झटिलो प्रक्रिया अपनाउनुपर्ने गुनासो आउने गरेको छ नि ?
हरेक कुराको सकात्मक र नकारात्मक दुवै पाटा हुन्छन् । पहिला कुनै एउटा दाबी सर्वेक्षण गर्न जानुपर्दा महिनौ पनि लाग्थ्यो । आजको दिनमा प्रविधिले धेरै फड्को मारेको छ । टेक्नोलोजी बिना कोही पनि रहन सक्दैनन् । यस्तो अवस्थामा दाबी भुक्तानीमा असहजता रहने प्रश्न नै रहँदैन । पहिले प्रविधिको पहुँच नहुँदा केही ढिलोमात्र भएको हो । अहिले कहाँ कुन ठाँउमा कस्तो प्रकारको दाबी परेको हो, त्यो प्रविधिको माध्यमले तुरुन्तै हेर्न सकिन्छ । त्यस कारण आजको समयमा दाबी भुक्तानीमा समय लाग्दैन । अहिले त धेरै बीमा कम्पनीहरुले तुरुन्तै ठाँउको ठाँउ नै दाबी भुक्तानी दिने गरेका पनि छन् । बीमा कम्पनीहरुले दाबी भुक्तानी देखि लिएर सबै कारोबारहरु नीति, नियमन तथा प्रकृया अनुसार नै गर्नुपर्ने हुन्छ । कहिलेकाही भुक्तानी लिनुपर्ने व्यक्तिहरुले पनि प्रकृया पुरा गर्ने, कागजपत्र तथा प्रकृया पुर्याउन समय लगाउने हुँदा पनि ढिलो हुन्छ । तर त्यसको दोष पनि बीमा कम्पनीहरुलाई नै लाग्ने गर्छ । बीमा कम्पनीहरुले धेरै सकारात्मक कामहरु गरेका छन् । ती सकारात्मक कामहरुको पनि प्रचार हुने हो भने यस्ता नकारात्मक प्रचार हराई बीमा सम्बन्धी जनमानसमा सकारात्मक धारणाको विकास भएर बीमाको पहुँच पनि बढ्छ ।
९) अन्तमा,
हाम्रो देशको सन्र्दभमा बीमा स्वतः स्फुर्त रुपले गरिएको पाइँदैन । जति नै जान्ने बुझ्ने व्यक्ति भए तापनि बीमा आवश्यक भएमा मात्र गराउने प्रचलन छ । स्वतः बीमा गराउन जनचेतना अभिवृद्धि गर्न आवश्यक छ । बीमा सम्बन्धी जनचेतना फैलाउने काम भइरहेको छ । सबै बीमा कम्पनी, बीमा समिती र बीमासँग सम्बन्धीत संघ संस्थाहरु पनि यस कार्यमा लागिरहनु भएको छ । केही बर्ष अगाडीको तथ्यांकको तुलनामा अहिलेको १८ प्रतिशत बीमा पहुँचलाई पनि ठूलै उपलब्धी मान्नुपर्छ । बीमा कम्पनीहरु बढेसँगै बीमा सम्बन्धी सचेतना कार्यक्रमहरु पनि बढिरहेको छ । भविष्यमा चाँडै नै वाध्यतामा वा आवश्यक भएर गराउने भन्दा स्वतः बीमा गराउने प्रचलन सुरु हुने अपेक्षा गर्न सकिन्छ । बीमा अत्यावश्यक छध, बीमा गरौं, वित्तिय हिसावले सुरक्षित रहौँ, निर्धक्क बनौं ।

२०७६ माघ २२ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: