माघ ६ गते निर्वाचनका लागि देशैभर उम्मेदवारहरुको मनोनयन दर्ता भएसँगै एक्कासी देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । एकाएक सामाजिक सञ्जालमा निर्वाचन लक्षित गतिविधि, आरोपप्रत्यारोप लगायतका विभिन्न चुनावी प्रोपगान्डा शुरु भएसँगै निर्वाचनको वातावरण पनि तातेको छ । केही दिन अगाडिसम्म सामाजिक सञ्जालमा सामान्य अवस्थामा रहेको चुनावी वातावरण एकाएक मनोनयन दर्तासँगै ह्वात्तै बढ्यो । हुन त अगिल्ला निर्वाचनहरुमा पनि दलहरुले उम्मेदवारी दर्ता गराएपछि चुनावी वातावरण गरम हुने गरेकै हुन् तर यसपटकको अवस्था भने फरक देखिएको छ । फरक ढँगले चुनावी वातावरण तातेको आभाष सहजै गर्न सकिन्छ । खासगरी जेन्जी जेड आन्दोलनपछि चुनाव गराउने जिम्मा पाएर गठन भएको वर्तमान सरकारका केही मन्त्रीहरु, स्थानीय तहको निर्वाचनबाट निर्वाचित केही मेयरहरु धमाधम राजीनाम दिँदै चुनावको लागि उम्मेदवार बनेका कारण विगतको निर्वाचन भन्दा अहिले हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल निकै भिन्न आंकलन गर्न सकिन्छ ।
पुराना राजनीतिक दलहरुका महाधिवेशन :
खासगरी सरकारले निर्वाचनको मिति घोषणा गरेपछि देशका पुराना राजनीतिक दलहरु विस्तारै विस्तारै निर्वाचनमा सक्रिय हुन थालेकै हुन् । शुरुमा नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका केही दलहरुले यहि विचमा पार्टी एकिकरण गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन गरे । खासगरी पार्टी गठन भएपछि पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव कुमार नेपाल सहसंयोजकको भुमिकामा रहेका छन र निर्वाचनका लागि सबै ठाउँमा नेकपाको नामबाट नै उम्मेदवारी दर्ता गराइसकेका छन् । एकिकरण पछि हुन लागेको निर्वाचन र मनोनयन पत्र दर्ता गराएका प्रभावशाली नेताहरुका कारण पनि यस पटकको चुनावको महत्व रहेको आम धारणा रहेको छ ।
यस्तै मंसिर महिनाको अन्तिम साता मात्र नेकपा एमालले भक्तपुरको सल्लाघारीमा पार्टीको एघारौं राष्ट्रिय महाधिवेशन सम्पन्न ग¥यो । धेरै अड्कलबाजीका विच पनि पुनः पार्टी अध्यक्षमा के.पी शर्मा ओली नै निर्वाचित भए । जेन्जी आन्दोलनका क्रममा सरकारमा रहेको कारण दमन भएको भन्दै व्यापक आलोचना भोगिरहेको पार्टीले छोटो समयमा नै भव्य ढंगबाट सम्पन्न गराएको पार्टीको महाधिवेशन पछि धेरैको मन पनि जित्यो नै त्यसमाथि काठिन मोडमा भएको महाधिवेशनपछि पुनः के.पी शर्मा ओली नै अध्यक्षमा निर्वाचित हुन र आगामी निर्वाचनमा भाग लिने गरी सबै क्षेत्रमा (केही क्षेत्रमा भएका दोहोरो टिकट र विवाद वाहेक) सामान्य रुपमा मनोनयन दर्ता गराउनुले चुनावको रौनकलाई महत्वका साथ हेरिएको छ ।
यस्तै एक हप्ता अगाडि मात्र नेपाली कांग्रेसले विशेष महाधिवेशन सम्पन्न गरेको छ । विभिन्न अवरोध र व्यवधानका विचमा कांग्रेसले यो छोटो अवधिमा विशेष महाधिवेशन मात्र सम्पन्न गरेन कि युवा नेता गगन थापाको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरि सबैलाई चकित पारेको छ । विशेष महाधिवेशनको समयमा विभिन्न अड्कलबाजी भए, धेरैले कांग्रेस पार्टी फुटमा पुग्यो भनेर व्याख्या गर्न भ्याए । खासगरी विशेष महाधिवेशन सम्पन्न भइसकेपनि पनि दुई धारमा प्रष्ट देखिएको नेपाली कांग्रेसले आसन्न निर्वाचनमा भने सहमतिको आधारमा उम्मेदवारहरुको मनोनयन दर्ता गराएर एकताको सन्देश दिएको छ । यस विचमा दुवै पक्षले आफुलाई आधिकारीकताको दावी प्रस्तुत गर्दै विज्ञप्ती निकालेका थिए भने संस्थापन पक्षले केही नेतालाई कारबाही गरेको विज्ञप्ती निकालेको थियो जे होस् गगन थापा नेतृत्वको नयाँ कार्य समितिले एकताको सन्देश दिएर चुनावी माहोलको वातावरणलाई थप अगाडि बढाएका छन ।
रवि लामिछाने धरौटीमा रिहा :
सहकारी ठगी सम्बन्धी मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पुष महिनाको पहिलो हप्ता उच्च अदालत बुटवलले धरौटीमा रिहा ग¥यो । यसपछि लामिछाने सँगै सिंगो पार्टी पङ्क्ती निर्वाचनको वातावरणमा लाग्यो । रवि लामिछाने रिहा भएसँगै चुनावी अभियान सक्रिय बनाए भने सरकारका केही मन्त्रीहरु, काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह, लगायत केही सक्रिय सञ्चारकर्मीहरु रास्वपा प्रवेश गरी आगामी निर्वाचनमा उम्मेदवार बन्ने गरी अभियानमा लागे र यसै अनुसार माघ ६ गते उम्मेदवारी दर्ता समेत गरे । यस अभियानमा भएका गतिविधिहरुको सामाजिक सञ्जालले थप रापिलो पार्दै आगामी चुनावलाई झन गरम बनाएको छ ।
मन्त्रीबाट घिसिङ, पुन, खरेल, गुप्ताको राजीनामा र चुनावमा उम्मेदवारी :
प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने जिम्मेवारी पाएको अन्तरिम सरकारका चार जना मन्त्रीहरु राजीनामा दिएर यस चुनावी मौदानमा उत्रिएका छन् । भदौमा भएको आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम मन्त्रिपरिषदमा रहेका शिक्षामन्त्री महावीर पुन सहित चार जना मन्त्रिले राजीनामा दिएर चुनावमा होमिएका हुन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभास सदस्यमा स्वतन्त्र उम्मेदवारी दिर्ता गरेका छन् । निवर्तमान ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उज्यालो नेपाल पार्टीबाट चुनाव लड्दैछन् । निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाबाट चुनाव लड्दैछन् । निर्वतमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि राजीनामा दिएर चुनावमा होमिएका छन् । गुप्ता सिराहा १ मा रास्वपाबाट चुनाव लड्दैछन् ।
बालेन, हर्क र रेणुको राजीनामा र उम्मेदवारी :
बहालवाला मन्त्रीहरु मात्र होइन आसन्न निर्वाचनको लागि महानगरपालि र उपमहानगरपालिकाका मेयरहरुले पनि राजीनामा गर्दै चुनावी दौड शुरु गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, भरतपुर उपमहानगर पालिकाका मेयर रेणु दाहालले आफ्नो पदबाट राजीनामा गर्दै चुनावी अभियानमा होमिएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रुपमा खडा गरिसकेको छ । २०७९ वैशाखमा भएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार रहेका बालेन संघीय राजधानी काठमाडौंको मेयर चुनिएका थिए । मेयर भएपछि पनि दलतन्त्रको निरन्तर विरोध गर्दै आएका बालेन पुराना दलहरूप्रति रहेको असन्तोषको जगमा सिधै प्रधानमन्त्री बन्ने चाहना राखेका छन् । बालेनले झापाको क्षेत्र नम्वर ५ मा रास्वपाको तर्फबाट उम्मेदवारी समेत दिइसकेका छन् ।
बालेन जस्तै स्थानीय तहको नेतृत्वमा पाँच वर्षे कार्यकाल पूरा नै नगरी प्रतिनिधिसभा निर्वाचनमा होमिएका अर्का मेयर हुन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ । उनले २०७९ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार भएरै चुनाव जिते । हर्क साम्पाङले सुनसरी क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । श्रम संस्कृति पार्टी नै गठन गरेर उनी चुनावी अभियानमा होमिएका छन् । कार्यकाल नसकिँदै पद छाडेर प्रतिनिधिसभा निर्वाचन लड्न लागेकी अर्की उम्मेदवार हुन् भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल । उनी मेयरबाट राजीनामा दिएर चितवन क्षेत्र नम्वर ३ मा नेकपाबाट उम्मेदवार बनेकी छन् । यसरी कार्यकाल नसकिँदै मेयरहरु नै धमाधम राजीनामा दिीँदै चुनावी अभियानमा होमिएपछि पनि चुनावी वातावरण रापिलो बनेको छ ।
सबैको नजर झापा ५ मा
चुनावी सरगर्मी बढिरहेको बेला यतिबेला सबैको ध्यान भने झापा जिल्लाको क्षेत्र नम्वर ५ मा पुगेर रोकिएको छ । सबैको चासो र कौतुहलता हेर्दा यस्तो लाग्छ कि नेपालका सबै निर्वाचन क्षेत्र भन्दा झापा ५ बाट मुलुकको भविष्यको खाका कोरिँदैछ । आखिर किन सबैको चासो र उत्सुकता झापा निर्वाचन क्षेत्र नम्वर ५ मा परेको छ त ? यसबारेमा चर्चा गरौं, नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०४८ सालदेखि चुनाव लड्दै आएको झापा क्षेत्र नम्बर ५ मा काठमाडौंका मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन)को आगमनले चुनावी माहोल तातेको छ । निरन्तर चुनाव जित्दै आएका पूर्वप्रधानमन्त्री ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रुपमा अघि सारेको बालेनले प्रतिस्पर्धा गरेका छन् ।
२०६४ को संविधान सभा बाहेक अरु निर्वाचनमा सहजै चुनाव जित्दै आएका ओलीलाई बालेन आउने भएपछि चुनौति देखिएको छ । पार्टी भित्रको आन्तरिक कलह ओलीका लागि अर्को चुनौती हो । पार्टीको जिम्मेवारीलाई ओलीले आफ्नो क्षेत्र र झापालाई केन्द्रमा राख्दा नेतृत्व तहका नेता सन्तुष्ट छन् । तर तल्लो तहका कार्यकर्तामा असन्तोष र नैराश्यता देखिन्छ । तर बालेनका लागि नयाँ क्षेत्र भने सहज छैन । यसैविच त्यतिबेलाको जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट देशमा व्यापक धनजनको क्षति भएको, काठमाण्डौमा भएको विध्वम्समा पनि मेयर बालेन मौन रहनु र भौतीक संरचनाहरु सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका सरकारी कार्यालय दनदनी बल्दा पनि आगो निभाउन कुनै पहल नगर्नु लगायतका कारण पनि बालेनप्रति आम नागरिकको मन रुष्ट रहेको छ । यसको असर आसन्न निर्वाचनमा देखिन सक्ने टिप्पणी पनि हुँदै आएको छ ।
सामाजिक सञ्जालको प्रयोग :
पछिल्ला दिनहरुमा सामाजिक सञ्जाल हेर्दा लाग्छ, नेपालको आसन्न प्रतिनिधि सभा निर्वाचन निर्वाचन आयोगले होइन, सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले गर्र्दैछन । आफ्ना दल तथा समर्थकको बढाईचढाई प्रशंसा गर्ने र विपक्षी दल तथा समर्थकको खोइरो खन्ने प्रबृत्तिले सामाजिक सञ्जाल फोहोर देखिएको छ । यसबाट निर्वाचन आचार संहिता, गोपनियता तथा विश्वसनियताका कुराहरु हराएका छन् । निर्वाचन गोप्य हुन्छ र हुनुपर्छ, मतदान कार्यमा नागरिकले आफ्नो विवेक प्रयोग गर्न पाउनुपर्छ । आफुलाई मन परेको व्यक्ति र दललाई मत दिनु आम नागरिकको अधिकार हो । उम्मेदवारी दर्ता सकिएलगत्तै प्रचार प्रसार शुरु भइसकेको छ । यसमा सबै दलका कार्यकर्ताहरु उत्तिकै सक्रिय भएर लागेका छन् । तपाई यसपटक कसलाई भोट दिनुहुन्छ ?, त्यो क्षेत्रमा त यो उठेको छ नि, उ राम्रो हो नि, फलानोले जितेमा यस्तो हुन्छ, विकासको मुल फुट्छ, यस्तो हुन्छ, उस्तो हुन्छ भन्दै बाटो नै छेकेर आम सर्वसाधारणलाई अतेरपतेर पार्ने कार्य शुरु भइसकेको छ । यतिमात्र होइन, हुँदै नभएका कुरा, कसैले बोल्दै नबोलेका कुरालाई यस्तो र उस्तो भन्यो भनि चरित्र हत्या गर्ने गतिविधि पनि देखिएका छन् । आफ्ना नजिकका र आफु निकटका दल तथा उम्मेदवारको बढाई चढाई गरि प्रचार गर्ने र विरोधी उम्मेदवार वा दलको अनेक कुरा बनाएर छताछुल्ल पारि भ्रम छर्ने प्रबृत्ति बढेर गएको छ । यी र यस्ता कार्यमा पछिल्लो समय फस्टाएको युट्युव च्यानल, व्यक्तिगत साइटहरु, फेसबुस तथा अन्य सामाजिक सञ्जालहरु बढि सक्रिय देखिएको छ । यी र यस्ता गतिविधिले हामीले स्वच्छ, भनेर मान्दै आएको निर्वाचन प्रणाली कसरी विश्वसनीय हुन्छ भनेर मान्ने ? गम्भिर प्रश्न उब्जिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1