सानुबाबु तिमिल्सिना
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामले ठुला भनिएका अन्य दलसँगै नेकपा एमाले पनि नराम्ररी पछारिन पुगेको छ । निर्वाचन पछि स्पष्ट बहुमत नभएपनि सबैभन्दा ठुलो दल बन्ने दावी गरी चुनावी अभियानमा होमिएको नेकपा एमालेले प्रत्यक्ष तर्फ जम्मा ९ सिट विजय हासिल गरी क्रमाङ्कको आधारमा तेस्रो दलको रुपमा जेनतेन उभिएको छ । निर्वाचनपिछ प्रत्यक्षतर्फ जम्मा सिट संख्याको १ सय २५ सिटमा सानदार जित निकाल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ठुलो दल भएको छ भने नेपाली कांग्रेस जम्मा १८ सिटमा खुम्चिएर दोस्रो, नेकपा एमालेले ९ सिट जितेर तेस्रो, नेकपाले ७ सिट जितेर चौथो, श्रम सँस्कृति पार्टीले ३ सिट जितेर पाँचौ, राप्रापाले १ सिट जितेर छैटौं दल भएका छन । यसैविच १ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । समानुपातिकको मत गणना जारी रहेको छ । मतगणना कार्य सकिएपछि समानुपातिकमा दलहरुले पाएका मतको आधारमा संख्या निर्धारण गरिन्छ । चुनावी माहोलले तातिएको सामाजिक सञ्जाल विस्तारै पार्टीको हारजीतको कारण खोतल्नमा अगाडि बढेको छ, त्यो पनि आफ्नै दलका नेता कार्यकर्ताहरुका विच दोहोरीको रुपमा ।
नेतृत्वको आलोचना
निर्वाचनमा नराम्रो पराजय सँगै यतिबेला नेकपा एमालेभित्र पार्टी नेतृत्वको चर्को आलोचना शुरु भएको छ । केन्द्र हुँदै अहिले जिल्ला तहमा पनि चर्को आलोचना शुरु भएका छन् । खासगरी सामाजिक सञ्जालहरुमा पार्टीका उम्मेदवारहरुले नराम्रो पराजय व्यवहोरेपछि नेतृत्वको नैतिकतामाथि प्रश्न उठाउँदै आलोचना शुरु भएको हो । भाद्र २३ गतेको जेन्जीको नाममा भएको आन्दोलनका क्रममा भएको प्रहरी दमन, निहत्था बालबालिकामाथि गोलाबारी र हत्या हिंसाको घटना र भाद्र २४ गते भएको व्यापक आगजनी र तोडफोड तथा लुटपाटको घटनापछि बनेको शुशिला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्ने जिम्मेवारी अनुसार तोकिएकै मितिमा फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन भएको हो । देशभर शान्तपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको भएपनि मतपरिणामले भने धेरैलाई अशान्त बनाएको छ । खासगरी ठुला भनिएका प्राय सबै राजनीतिक दलहरुप्रति अहिले आलोचनाको बर्षा शुरु भएको छ । यसमा नेकपा एमाले अछुत हुने कुरै भएन । पार्टीको पकड रहेको निर्वाचन क्षेत्रमा पनि लज्जास्पद हार भएपछि अहिले जिल्ला तहमा पनि एमाले पार्टी नेतृत्व र नेताहरुको चर्को आलोचना शुरु भएको हो । परिणाम अपेक्षाकृत नआएको अवस्थामा शुरु भएको यस्तो आलोचनालाई स्वभाविक पनि मान्न सकिन्छ । कसै कसैले यसलाई नतिजाले उब्जाएको क्षणिक आक्रोस बताइरहेका छन् भने केहीले यसलाई जिम्मेवारीप्रतिको नैतिकतामाथिको प्रश्नको रुपमा व्याख्या गरेका छन् ।
खासमा नेतृत्वप्रति अहिले आलोचना भएपनि आलोचनाको शुरुवात नेकपा एमालेको केही महिना अगाडि सम्पन्न राष्ट्रिय महाधिवेशनको बेला देखिनै भएको हो । मंसिर महिनाको अन्तिम साता नेकपा एमालेको भक्तपुर स्थित सल्लाघारीमा सम्पन्न पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधि छनौटको बेलादेखिनै केही आलोचना शुरु भएको हो । खासगरी जेन्जी आन्दोलन पछि भएको पार्टीको महाविधेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने धेरै ठाउँतिरबाट चर्चा र चासो भइरहँदा जिल्ला जिल्लाबाट अध्यक्ष केपि शर्मा ओली पक्षधरबाट धेरै भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागि गराउने काम भएबाट नै हल्का आक्रोश त्यतिबेलाबाट नै उत्पन्न भएकै थियो । हुन पनि जिल्ला जिल्लाबाट पार्टी अध्यक्ष के.पि शर्मा ओली पक्षधर नेता कार्यकर्ताहरुको बाक्लो सहभागिताका कारण महाधिवशेनबाट पुनः पार्टी अध्यक्षमा के.पि शर्मा ओली नै निर्वाचित भएका थिए । धादिङबाट पनि जिल्ला कमिटिका पदाधिकारीहरु पनि महाधिवेशन प्रतिनिधि भएर गएका थिए । परिवर्तन हुनुपर्छ भन्नेहरु यसबाट असन्तुष्ट थिए । त्यतिबेलादेखि शुरु भएको असन्तुष्टि अहिले निर्वाचनको परिणाम सार्वजनिक भएपछि ह्वात्तै बढेर गएको छ ।
सामाजिक सञ्जालमा आपसमा दोहोरी
निर्वाचन परिणामपछि पार्टीले हार व्यहोरेपछि अहिले जिल्ला तहका नेता कार्यकर्ताहरु सामाजिक सञ्जालमा एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् । निर्वाचनमा हार भएपछि यसको नैतिक रुपमा जिम्मेवारी लिँदै आत्माआलोचना गर्नुपर्छ भनेर आवाज पनि उठिरहेको छ भने अर्को पक्षले यसमा बचाउ गरिरहेको देखिन्छ । निर्वाचनमा जित मात्र होइन, कहिलेकाँही हार पनि सामाना गर्नुपर्छ फेरी अहिले देशव्यापी रुपमा स्वतन्त्र पार्टीको माहोल बढेको, खासगरी युवापुस्तामा बालेनप्रतिको आकर्षण र क्रेज भएको कारण देशभर नै लहर आएको बेला जिल्लामा पनि सोही अनुरुप हुन गएको हो भनेर एकपक्षले आक्रोसलाई मत्थर पार्ने कोशिस पनि सञ्जालमा गर्दै आएका छन् । फेरी अहिले परिणामको बेलाको यस्तो आकोश स्वभाविक भएको भन्नेहरु पनि छन् । जे होस् जिल्ला तहमा पनि मत परिणामले नेतृत्वप्रति आक्रोश विस्तारै बढ्दै गएको देखिएको छ ।
परिणाम पछिको जिम्मेवारी
नेतृत्व भनेको पार्टीप्रति आस्थावान कार्यकर्ता तथा शुभचिन्तकहरुको भरोसा हो । जनताले नेतृत्वप्रति भरोसा गरेका हुन्छन् भने नेतृत्वले जनमानसमा विश्वास दिलाएको हुनुपर्छ अर्थात विश्वास दिलाउँछ । यस्तो अवस्था पक्कै पनि हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा पनि आम मतदाता, पार्टीका शुभचिन्तक, कार्यकर्ता एक हिसावले भन्ने हो भने जनताहरु सबैले आफ्नो पार्टी प्रति भरोसा राखेका पक्कै थिए । पार्टीले पनि विभिन्न नेताहरुको उपस्थितिमा जनमानसमा विश्वास दिलाएको पक्कै थियो तर नतिजा राम्रो आएन । यहाँ फरी कुरा आउँछ कि सबै दलले यस्तै विश्वास दिलाउँछन तर जित्ने त एक दल वा उम्मेदवारले नै हो । कुरा सत्य हो, एक क्षेत्रमा एक जनाले मात्र जित्ने हो तर यसो भन्दै गर्दा पार्टीले सक्दो प्रयास गरेर जिताउने विश्वास र प्रयत्न गरेकै हुन्छन । तर यसपटकको कुरा बेग्लै छ । निर्वाचन क्षेत्रका राम्रो जनमत र पकड भएको ठाउँमा पनि नतिजा राम्रो आउन सकेन । राम्रो जनमत भएका ठाउँबाट पनि अस्वभाविक नतिजा आएपछि भने जनताको आक्रोश बढ्नु र नेतृत्वमाथि प्रश्न उठ्नु यो स्वभाविक पनि हो । फेरी यो मात्र अन्तिम निर्वाचन होइन, अव २ बर्षपछि स्थानीय तह र प्रदेश तहको निर्वाचन हुनेवाला पनि छ । यही परिणाम र अवस्थाले त्यो बेलाको निर्वाचनलाई पनि प्रत्यक्ष रुपमा प्रभाव पार्ने हुँदा यथाशिघ्र विचार गर्नुपर्नेमा धेरैले आवाज उठाइरहेका छन् । यस्तो अवस्थामा जिल्ला नेतृत्वले नैतिक रुपमा नै जिम्मेवारी लिएर अगाडी बड्नु राम्रो हो । यो परिणामको लापरबाही होइन, लापरबाहीको परिणाम हो भन्नेहरु पनि छन । नेताहरु चुनावका बेलामा मात्र गाउँघरमा देखिने अन्य समयमा नजाने कारणले पनि समस्या थपेको पक्कै छ । यतिमात्र होइन जनताको कुरा नसुन्ने, सल्लाह सुझाव नलिने प्रबृत्ति बढ्दै गएको पनि हो । एक हिसावले नेताहरुको व्यवहारले जनताहरुमा नैरास्यता छाएको अवस्था पनि हो । यस्तो अवस्थामा निर्वाचनमा पराजय भोगेपछि नेतृत्वप्रति नैतिकताको प्रश्न उठ्नु स्वभाविकै हो । अव नैतिककताको कुरा नेतृत्वले नै बुझुन् ।
अव नेतृत्वले गर्नुपर्ने काम
अहिलेको अवस्थामा निर्वाचनको परिणामपछि उत्पन्न सबै खालका सन्दर्भलाई आत्मसाथ गर्नु अति आवश्यक छ । तर हतारमा होइन, सामाजिक सञ्जालमा होइन, गहन ढंगले टोल टोलमा गएर गम्भिर समिक्षा गर्नु आवश्यक छ । यो क्षणिक आवेग वा उत्तेजना हो, विस्तारै ठिक हुँदै जान्छ, अहिले माहोल अलि ताजा भएर आक्रोस उत्पन्न भएको हो, पछि सेलाउँछ भनेर यसलाई हल्का रुपमा नहेर्दा नै राम्रो होला । परिस्थिति विग्रिएपछि त्यसलाई सुधार गर्न समय लाग्न सक्छ । के मा कमजोरी भयो, के कुराको ख्याल गर्न सकिएन ? के गर्न सकिएको भए राम्रो नतिजा आउन सक्थ्यो मात्र होइन आगामी दिनमा पार्टीलाई सक्षम कसरी बनाउने भन्ने लगायतका धेरै विषयमा नेतृत्वले व्यापक रुपमा छलफल चलाउदा राम्रो होला । यसअघि जिल्ला कमिटिको…… औं पूर्ण बैठक भनेर त फोटो सार्वजनिक गरियो तर त्यसमा के छलफल भए, त्यसको के परिणाम आयो केही कुरा बाहिर आउँदैनथ्यो । बैठक मात्र गरेर अव हुँदैन, कुरा सुन्ने, बुझ्ने र कार्यान्वयन पनि गर्नुपर्ने हुन्छ । अहिलेको समाज विस्तारै डिजिटल बन्दै छ, युग सुहाउदो तरिकाले पार्टीलाई पनि डोहोर्याउनु आवश्यक होला । यसको लागि जिल्लाका हरेक पालिका, हरेक वडा, हरेक टोल, हरेक समुदायमा गएर घुलमिल भएर कुरा सुन्ने, बुझ्ने, धारणा लिने काम गर्दा बेफाइदा पक्कै हुँदैन । नेता भएर होइन एक पटक कार्यकर्ता भएर अभियान चलाउन अनुरोध छ । किनभने अहिलेको नेकपा एमाले सुकिला मुकिला नेताले तयार पारेको एमाले होइन, धादिङका धेरै भन्दा धेरै कार्यकर्ता, गाउँका किसान, महिला, युवा विद्यार्थीहरुको रगत पसिना र कठोर संघर्षबाट यो रुपमा आएको हो । यो कुरा कहिल्यै पनि विर्सनु भएन । इतिहास भुल्नु हुँदैन ।
नेतृत्व परिवर्तनको सवाल नै किन ?
नेतृत्व परिवर्तनको विषय एमालेमा धेरै पहिलेदेखि चल्दै आएको भएपनि अहिलेको निर्वाचनको परिणामले त झन धेरै उजागर गरेको छ । नेतृत्व परिवर्तन हुनासाथ समस्या समाधान हुन्छ भन्ने पनि होइन । नेतृत्वले कार्यकर्ताको राम्रा कुरा पनि नसुनेका कारण समस्या बढेको हो भन्दा फरक पर्दैन । त्यसमाथि अहिलेको निर्वाचनमा नराम्रो पराजयको जिम्मा बर्तमान पार्टी नेतृत्वले लिनुपर्छ भन्ने जनदवाव पनि बढ्न थालेको पक्कै हो । जिल्लाका कतिपय नेता कार्यकर्ता अहिले सामाजिक सञ्जालमा जिल्ला नेतृत्व परिवर्तनको कुरा बाहिर ल्याएका छन् । कतिपयले जिल्ला अधिवेशन बोलाउनुपर्ने आवाज व्यक्त गर्दै आएका छन् । अहिलेको विसम परिस्थितिमा आएको यस्ता अवाज अस्वभाविक भने होइन । यस्तो अवस्थामा केही मध्यमार्गी नेताहरु पर्ख र हेरको अवस्थामा छन । जनस्तरबाट आवाज आइसकेपछि यस विषयमा जिल्ला नेतृत्वले पक्कै केही कदम चाल्छ । जनताको माझमा गएर छलफल गरी सबैका कुरा सुन्ने र जनताले नेतृत्व परिवर्तन चाहेका छन् भने त्यो गर्ने साहस पनि जिल्ला नेतृत्वले लिनुपर्छ । यसमा ढिला गर्नु हुन्न यदी पार्टीलाई सक्षम, सवल र सुदृढ बनाउने हो भने अहिलेको अवस्थामा सुध्रिनु जरुरी पक्कै छ ।
(यो मेरो निजी विचार हो, अहिलेको विसम अवस्थामा जनस्तरबाट आएको आवाज जिल्ला नेतृत्वसम्म पु¥याई आफ्नो आस्थावान पार्टीलाई थप मजबुत बनाउने चाहाना मेरो हो, फुटेर होइन जुटेर अगाडि बढ्नुको विकल्प देख्दिन । यसलाई विरोध होइन सानो सुझावको रुपमा ग्रहण गरिदिनुहोला)