विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

राष्ट्रिय समाचार समिति

कार्तिक १६, २०८३

काठमाडौँ। संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याइनुपर्नेमा सांसद, नीति निर्माता, विज्ञ र अधिकारकर्मीको साझा जोड रहेको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको १७औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथिको बहसमा वक्ताहरुले सार्वजनिक शिक्षा राज्यको दायित्व हुनुपर्ने, शैक्षिक सुसञ्चालनमा केन्द्र, प्रदेश र स्थानीय तहको स्पष्ट अधिकार बाँडफाँट हुनुपर्ने र शिक्षामा पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विगतको तुलनामा शिक्षामा सुधार भए पनि पर्याप्त नभएको विषयमा आएका सुझावलाई नीति निर्माताले ग्रहण गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षामा बालमैत्री, समावेशीता, विद्यालय सुरक्षा र न्यूनतम् पूर्वाधारको उपलब्धता हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कुसुम महर्जनले शिक्षाको सुधार सबैको दायित्व हो भन्ने भावनाका साथ काम गर्न आग्रह गर्दै सरकार र संसद्ले गर्नुपर्ने कामका लागि आफूहरुका तर्फबाट सक्दो सजीकरण हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विधेयकमा समावेश हुनुपर्ने विषयबारे घनीभूत संवाद गर्न र सबैलाई न्यायको अनुभूति दिलाउन अपनाउनुपर्ने उपायबारे सुझाव दिन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा प्रमिलाकुमारी गच्छदारले शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत विनियोजन हुनुपर्ने र सरोकारवाला पक्षले उठाएका विषय सम्बोधन हुनुपर्ने बताउनुभयो । नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुप्रसाद बरालले सरकारले सही ढङ्गले विद्यालय शिक्षा विधेयक ल्याएमा आफूहरुले त्यसलाई थप कार्यान्वयनमुखी बनाउन प्रयास गर्ने बताउनुभयो ।
एमालेबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य साजिदा खातुन सिद्धिकीले विधेयक निर्माणमा कुनै बाहिरी पक्ष हावी हुन नहुनेमा जोड दिँदै बालश्रमको स्पष्ट व्याख्या गर्न माग गर्नुभयो । बागमती प्रदेशसभाका सदस्य हरिप्रभा खड्गीले तीन तहबीचको अधिकारको बाँडफाँटमा रहेको अन्योल हट्नुपर्ने र नीति निर्माणमा कर्मचारीतन्त्र हावी हुन नहुने बताउनुभयो ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले नेपालको संविधानको मर्म र सरोकार भएका पक्षबाट प्राप्त सुझावलाई समेटेर विधेयक ल्याइने जानकारी गराउनुभयो । सोही मन्त्रालयका पूर्वसचिव बालानन्द पौडेलले शिक्षाको नीतिगत पक्ष केन्द्र सरकारको र विद्यालय शिक्षाको सञ्चालन÷व्यवस्थापन स्थानीय तहको भएकाले त्यसलाई थप स्पष्ट गर्न सुझाव दिनुभयो ।
शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले हरेक स्थानीय तहले अनिवार्य र निःशुल्क शिक्षाको संविधानको व्यवस्था कार्यान्वयन हुन सक्ने किटानी अब ल्याइने विधेयकले गर्नुपर्ने बताउनुभयो । शिक्षाविद् प्रा डा बालचन्द्र लुइँटेलले जनसाङ्ख्यिक अवस्थाको विश्लेषण गर्दै शिक्षामा स्रोतको पुनः व्याख्या गर्नुभयो ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष सुन्दर पन्तले विद्यालय सुधारमा शिक्षकको कमजोरी भन्ने सोचबाट माथि उठ्न आग्रह गर्दै विधेयकमा ट्रेड युनियन अधिकारको सम्मान हुनुपर्ने माग गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घका प्रवक्ता गिरिधारी सुवेदीले अपाङ्गता भएका विद्यार्थीलाई सहजरुपमा पढ्न पाउने अधिकारको कार्यान्वयन हुनुपर्ने बताउनुभयो । एनसिइ नेपालका अध्यक्ष लवराज ओलीले हालसम्म ४६ जिल्लामा सञ्जाल भएको र ५५० सदस्य रहेको आफूहरुको अभियानले सबै पक्षको सुझाव समेटेर सरकारलाई विधेयकबारे सुझाव दिने जानकारी दिनुभयो । कार्यक्रममा एनसिइ नेपालको उत्कृष्ट जिल्ला सञ्जालका रुपमा रुपन्देही जिल्ला समितिलाई सम्मानित गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

सोमबार पृथ्वी राजमार्गको मझिमटारमा तीन घण्टा सवारी आवागमन बन्द हुने

पाँच वर्षभित्र भाषण होइन, कामबाट परिणाम निकाल्नुपर्छ : गृहमन्त्री गुरुङ

सुनचाँदीको मूल्य घट्यो

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति