Sun. Apr 28th, 2024

प्राविधिकको सल्लाह लिएर घर बनाउनुहोस् : भण्डारी


भुकम्प गएको २ वर्ष २ महिना बित्यो । तर भुकम्प प्रभावितका समस्या उस्तै छ । पुननिर्माणको कामले गति लिन सकेको छैन । प्रभावितको यो वर्षा पनि पाल तथा जस्तामुनी नै बित्ने पक्का छ । पानीको अभाव, पूँजीको अभाव, प्राविधिकको अभाव लगायतका समस्याले घर निर्माण थाल्न नसकेको प्राविधक बताउँछन् । दास्रो किस्ता वितरणमा पनि उस्तै ढिलाई भइरहेको छ । यसै सन्दर्भमा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलय धादिङका प्रमुख दिलिप भण्डारीसंग पाविलन्यूज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी……

– धादिङमा पुननिर्माणको अवस्था कस्तो छ ? कति लाभग्राहीले लिए पहिलो किस्ताको रकम ?
७० हजार मध्ये धादिङमा ६५ हजार भुकम्प प्रभावित नागरिकहरुले पहिलो किस्ता अन्तर्गतको अनुदान रकम लिइसकेका छन् । यो २ वर्षमा करिव १० हजारको हाराहारीमा मात्रै घर बनेको छ । पहिलो किस्ता लिएका मध्ये पनि ५५ हजारले घर निर्माण कार्य अझै सुरु गरेका छैनन् । घर निर्माण सुरु गरेका १० हजार भुकम्प प्रभावित मध्ये पनि ४ हजार २८ जनाले मात्रै दोस्रो किस्ताको लागि निवेदन दिएका छन् ।

उहाँहरुको नाम हामिले जिल्ला समन्वय समितीमा सिफारिस गरिसकेका छौं । बाँकी ६ हजार मध्ये पनि जत्तिले दास्रो किस्ताको लागि निवेदन दिनुभएको छ उहाँहरुको पनि भुकम्प प्रतिरोधी भवन मापदण्ड अनुसार नभएकाले हामीले सुधारका सुझावहरु दिएका छौं । सुधार भएर आएपछि उहाँहरुको नाम पनि हामी दोस्रो किस्ताका लागि सिफारिस गर्नेछौं ।

किन पुननिर्माणमा ढिलाई भएको, समस्या के छ ?
अहिलेको मुख्य समस्या भनेको लाभग्राही मध्ये ५५ हजारले किन घर निर्माण कार्य सुरु गरेनन् भन्ने हो । हामीले सरसर्ती हेर्दा यसका २/३ वटा कारणहरु छन् । ग्रामिण क्षेत्रमा हामीले सर्वेक्षण गर्दा पानीको अभावका कारण हामीले घर निर्माण कार्य अगाडी बढाऊन पाएनौं भन्ने गुनासो थियो । अर्को कुरा पुँजीको अभाव पनि मुख्य समस्याको रुपमा रहेको छ ।

पहिलो किस्ताको अनुदानले हाम्रो जग खन्न मात्रै पुग्छ त्यसपश्चात आवश्यक पर्ने पूँजी जुटाउन नसकेका कारणले हामीले घर बनाऊन नथालेका हौं भन्ने जनगुनासो पनि अधिकांश भुकम्प पिडितहरुको छ । अर्काथरी भुकम्प पीडितहरु घर बनाइसकेका छिमेकीले दास्रो किस्ताको रकम पाएपछि मात्रै म सुरु गर्छु भन्नेहरु पनि हुनुहुन्छ । यो अन्यौल हामीले प्राविधीक मार्फत चिर्न लागिरहेका छौं ।

– दोस्रो किस्ताको रकम वितरण प्रक्रिया पनि निकै सुस्त देखिन्छ नीे ?
इन्जिनियरले घर पास गरेपनि भुकम्प प्रभावितका निवेदन गाविसबाट सहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यलयमा आऊँछ । यहाँबाट जिल्ला समन्वय समितीमा जान्छ । त्यहाँका प्राविधिकहरुले पनि घर पास गरिसकेपछि मात्रै कोष तथा लेखा नियण्त्रण कार्यलयमा निवेदन पुग्छ र लाभग्राहीको खातामा दोस्रो किस्ताको रकम जान्छ ।

त्यसैले गर्दा पनि अलि ढिला हुन्छ । अहिले दोस्रो किस्ताको रकम लिनेको संख्या हेर्ने हो भने १७÷१८ सयको हाराहारीमा मात्रै छ । चेकजाँचको क्रममा अलि धेरै नै समय लागिरहेको अवश्था छ । मैले यस विषयमा हाम्रो स्थानिय विकास अधिकारी संग कुरा पनि गरिसकेको छु । उहाँले पनि यस विषयलाई गहन रुपमा हेर्नुभएको छ । संभवत अब निवेदन छिटो भन्दा छिटो सुनुवाई हुन्छ ।

– सरकारको मोडल अनुरुप नै घर बनायौं तर अहिले प्राविधिकले पास गर्ने क्रममा भने फेल खायो भन्ने गुनासो पनि उत्तिकै छ नि ?
प्राविधिकहरु गाऊँमा खटिसकेपछि भुकम्प प्रभावितहरुले प्राविधिककै राय सल्लाह लिएर घर बनाऊनुभएको छ भने मोडलमा मेल नखाने या भनौं भुकम्प प्रतिरोधी नहुने संभावना नै रहँदैन । गारोवाला तथा पिल्लरवाला घरहरुमा छुट्टाछुट्टै मापदण्डहरु रहेका छन् । जस्तै पिल्लरवाला घरको कुरा गर्ने हो भने फुटिङ कति साइजको हुनुपर्ने, कति खनिएको हुनुपर्ने, पिल्लर कस्तो हुनुपर्ने लगायतका धेरै कुराहरु हुन्छन् ।

४ फुटको स्पेस राखेर पिल्लर बनाउन नी पाइन्छ तर लाभग्राहीहरुले त्यो कुरा हामीकहाँ जानकारी भने गराउनु पर्छ । हरेक भुकम्प प्रभावितले आ–आफ्नो तरिका रोज्नुभयो भने त त्यो डिजाइनिङ गर्ने म्यानपावर त हामीकहाँ हुन्न । तै पनि हामीले अहिले के चाहिँ गरेका छौं भने हाम्रा प्राविधिकहरु गाऊँ नजाँदै लाभग्राहीले बनाएका घरको हामी आफैंले डिजाइन गर्दै पठाऊँदै गरेका छौं । तर प्राविधिक गाऊँ पठाइसकेपछि पनि सल्लाह नमानी घर बनाऊनु भएको छ भने त हामीले केहि गर्न सक्दैनौं । प्रभावितले नै डिजाइन गरेर पठाउनुपर्ने हुन्छ ।

– ज–जसले पुननिर्माणको कार्य सुरु गर्नुभएको छैन उहाँहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
मेरो अनुमानमा पुर्ण क्षति भएका भनेर लाभग्राहीको सुचीमा नाम आएका मध्ये पनि २०÷२२ हजारको संख्यामा त नागरिकहरु त्यहि घरमा बसिरहनुभएको छ । जोखिम घरमा नबस्नुस् त्यो जुनसुकै समयमा पनि ढल्न सक्छ । म सबैलाई के विनम्र अनुरोध गर्न चाहन्छु भने पुर्ण रुपमा क्षतीग्रस्त भनेर तपाईंको नाम आइसकेपछि त्यो घरमा बस्नु असुरक्षित हुन्छ बस्न भएन । यदि तपाईंहरुलाई लाग्छ म यहि घरमा सुरक्षित छु, यो पुर्ण रुपमा क्षती छैन भन्ने लाग्छ भने पनि अझै समय छ । पुर्ण क्षतीको लाभग्राही सुचिमा नाम आएपनि केहि फरक पर्दैन ।

सम्बन्धित गाऊँपालिका/नगरपालिकाको वडा कार्यलयमा गएर निवेदन दिनुस् । मेरो अनुमानमा मेरो घर सामान्य मर्मत गरेपनि हुन्छ जस्तो लाग्छ, हुन्छ कि हुँदैन प्राविधिक पठाइदिनुस् भनेर अनुरोध गर्नुस् । त्यसपछि प्राविधिक जानुहुन्छ, मर्मत मात्रै गरे हुन्छ भन्ने सल्लाह दिनुभयो भने तपाईंले थप १ लाख लिएर सोहि घर मर्मत गरेर बस्न सक्नुहुन्छ । सुधार गर्न संभव छैन भने कृपया जोखिम युक्त घरमा नबस्नुस् । नेपाल सरकारको यो ३ वर्षे अभियान भित्रै प्राविधिकको सल्लाह लिएर भुकम्प प्रतिरोधी घर निर्माण जुट्नुहोस् ।

२०७४ असार २७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: