ठूला भवन र सडक बनेर मात्र समृद्धि आउँदैन
पाविलन्युज

श्रावण २३, २०८३

पाहुना

bodh narayan shresth.JPG

बोधनारायण श्रेष्ठ

प्रस्तुतकर्ता: शंकर श्रेष्ठ

नेपालमा आधारभूत खानेपानीको पहुँच ९८ प्रतिशत जनसंख्यामा पुगे पनि पूर्ण रूपमा शुद्ध र सुरक्षित पानी पाउने नागरिकको सङ्ख्या अझै आधाभन्दा कम छ । खानेपानी मानिसको अधिकार मात्र नभई जीवनको मूलभूत आधार हो । युनिसेफ लगायत विभिन्न अन्र्तराष्ट्रिय तथा राष्ट्रिय संघ–संस्थामा लामो समय खानेपानी र सरसफाइ क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं–२ बाट निर्वाचित सांसद एवं संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठसँग नेपालको खानेपानी क्षेत्रको वर्तमान अवस्था, नीतिगत चुनौती, स्थानीय तहको भूमिका र महिला नेतृत्वबारे पत्रकार शंकर श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 
प्रश्नः नेपालमा खानेपानी तथा सरसफाइको वर्तमान अवस्थालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ ?
उत्तरः खानेपानी र सरसफाई मानव जीवनको आधारभूत आवश्यकता र संविधानप्रदत्त मौलिक अधिकार हो । सन् २०८० सम्मको तथ्याङ्कलाई हेर्ने हो भने आधारभूत खानेपानीको पहुँच करिब ९८ प्रतिशत जनसंख्यासम्म पुगेको छ, जुन आफैँमा सकारात्मक उपलब्धि हो । तर, यसको गुणस्तरीय पक्षलाई हेर्दा स्थिति अझै चिताजनक छ ।
पूर्ण रूपमा सुरक्षित खानेपानी पाउने जनसंख्या जम्मा ४७ प्रतिशत मात्र छ, र त्यो पनि मुख्यतया सहरी क्षेत्रमा सीमित छ । ग्रामीण र दुर्गम क्षेत्रमा अझै ठूलो आबादी अस्वस्थकर पानी पिउन बाध्य छ । सरसफाइको कुरा गर्दा आधारभूत सुविधा ८० प्रतिशतमा पुगेको छ, तर अझै १ प्रतिशत मानिसहरू खुला कुवा वा पोखरीको पानी पिउँछन् भने करिब ५ प्रतिशत जनसंख्या अझै शौचालयको पहुँचबाहिरै छन् ।
प्रश्नः घरपरिवारमा पानीको मुख्य व्यवस्थापक महिला नै हुन्छन्, तर नीति निर्माण र निर्णय प्रक्रियामा उहाँहरूको सहभागिता किन कमजोर छ ?
उत्तरः यो हाम्रो समाजको एउटा ठूलो विरोधाभास हो । घरमा पानी कति चाहिन्छ, कसरी संकलन गर्ने, कसरी उपयोग र भण्डारण गर्ने भन्ने सम्पूर्ण व्यवहारिक जिम्मेवारी महिलाले सम्हाल्दै आएका छन् तर, खानेपानी आयोजनाको योजना तर्जुमा, बजेट विनियोजन र नीतिगत निर्णय गर्ने थलोमा महिलाको उपस्थिति ज्यादै न्यून छ । जसलाई समस्याको वास्तविक अनुभूति छ, उसैलाई निर्णय प्रक्रियाबाट बाहिर राख्दा हाम्रा धेरै नीतिहरू व्यवहारिक बन्न सकिरहेका छैन्, जबसम्म खानेपानी उपभोक्ता समिति र नीतिगत निकायहरूमा महिलालाई केवल संख्यात्मक होइन, कार्यकारी नेतृत्वमा पु¥याइँदैन, तबसम्म दिगो खानेपानी व्यवस्थापन असम्भव छ ।
प्रश्नः दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म सबैलाई सुरक्षित पानी पु¥याउने लक्ष्य प्राप्तिका मुख्य चुनौतीहरू के हुन् ?
उत्तरः हामीले विगतमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्न जुन किसिमको राष्ट्रिय संकल्प र सामाजिक अभियान चलायौँ, खानेपानीमा पनि त्यस्तै सशक्त अभियानको आवश्यकता छ । हाम्रो मुख्य नारा नै कोही पनि नागरिकले दूषित पानी पिउने छैन् हुनुपर्छ । अध्ययनहरूले देखाएका छन् कि ६७ प्रतिशत खानेपानीका मुहानहरू प्राकृतिक रूपमा शुद्ध छन् तर विडम्बना, मुहानबाट धारा हुँदै मानिसको मुखसम्म पुग्दा ९० प्रतिशत पानी दूषित भइसकेको हुन्छ ।
यो दूषण मुहानको नभई पानी ओसार्ने, भण्डारण गर्ने, पाइपलाइन फुट्ने र सरसफाइमा ध्यान नदिने मानव व्यवहारका कारण हुन्छ । त्यसैले पूर्वाधार विकाससँगै नागरिकको बानीव्यवहार परिवर्तन गर्नु नै हाम्रो सबैभन्दा ठूलो चुनौती र प्राथमिकता हो ।
प्रश्नः तीन तहका सरकारबीच क्षेत्राधिकार र कार्यान्वयनमा कस्ता अलमल वा समस्याहरू देखिएका छन् ?
उत्तरः नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र स्पष्ट तोकेको छ । ठूला र बहु–जिल्ला आयोजना संघ र प्रदेशले हेर्ने र साना तथा मझौला आयोजना स्थानीय तहले सञ्चालन गर्ने भन्ने मर्म हो । तर व्यवहारमा साना–तिना २०४ लाखका आयोजना पनि केन्द्रीय वा प्रदेश बजेटबाट पारेर कार्यकर्ता पोस्ने प्रवृत्ति देखियो । यसले गर्दा आयोजनाहरू अलपत्र परेका छन् । खानेपानीको वास्तविक स्वामित्व र हस्तान्तरण हुने थलो भनेको स्थानीय सरकार र स्थानीय समुदाय नै हो ।
हामीलाई नयाँ-नयाँ ऐन-कानुनभन्दा पनि भएका कानुन र बजेटको सही कार्यान्वयन चाहिएको छ । प्रत्येक पालिका र स्थानीय स्वास्थ्य चौकीमा कम्तीमा एउटा साना जल परीक्षण प्रयोगशाला हुनुपर्छ, जसले नियमित रूपमा पानीको गुणस्तर जाँच गर्न सकियोस् ।
प्रश्नः आयोजना सञ्चालनमा खानेपानी बोर्ड ‘कि’ उपभोक्ता समितिहरु कुन ढाँचा बढी प्रभावकारी र दिगो हुन्छ ?
उत्तरः बोर्डको अवधारणा ठूला सहरी क्षेत्र र व्यापारिक रूपमा सम्भाव्य आयोजनाका लागि उपयोगी हुन सक्छ, तर आम नेपालको सन्दर्भमा उपभोक्ता समिति नै सबैभन्दा बढी व्यवहारिक र प्रभावकारी छ ।
उपभोक्ता समितिमा स्थानीय नागरिकको प्रत्यक्ष अपनत्व हुन्छ, पारदर्शिता हुन्छ र धारा बिग्रेमा वा पाइप फुट्दा तत्काल आफैँ मर्मत गर्ने लचिलोपन हुन्छ । बोर्डमा जाँदा प्रशासनिक प्रक्रिया, खरिद ऐन र नोकरशाही ढिलासुस्तीका कारण सानो समस्या आउँदा पनि महिनौँ पानी आपूर्ति ठप्प हुने जोखिम रहन्छ ।
प्रश्नः उपभोक्ता समितिहरूले सञ्चालन गरेका धेरै आयोजनाहरू मर्मतसम्भारको अभावमा बन्द हुने गरेका छन् नि, यसलाई कसरी सुधार्ने ?
उत्तरः आयोजना निर्माण हुनु मात्र ठूलो कुरा होइन, त्यसको दिगो सञ्चालन मुख्य विषय हो । आयोजना दिगो बनाउन चारवटा आधारभूत कुराहरू अनिवार्य रूपमा सुरुदेखि नै योजनामा समावेश गरिनुपर्छ ।
पहिलो, प्रत्येक आयोजनाको छुट्टै आपत्कालीन मर्मतसम्भार कोष हुनुपर्छ । दोस्रो, पाइप, भल्भ र मर्मत गर्ने औजारहरू स्थानीय तहमा सधैँ तयारी अवस्थामा राखिनुपर्छ । तेस्रो, विशेष गरी स्थानीय महिलाहरूलाई प्लम्बिङ र मर्मतसम्भारको तालिम दिएर रोजगार र दक्षता दुवै सिर्जना गरिनुपर्छ । र चौथो, पानी निःशुल्क होइन भन्ने मान्यता विकास गर्दै यसको सञ्चालन खर्च धान्ने गरी वैज्ञानिक न्यूनतम महसुल उठाउने प्रणाली बसाल्नुपर्छ । यी चारवटा कुरा सुनिश्चित गर्ने हो भने कुनै पनि उपभोक्ता समितिले आयोजनालाई दशकौँसम्म सफलतापूर्वक चलाउन सक्छ ।
प्रश्नः सुरक्षित खानेपानी र सरसफाइ प्रवद्र्धनका लागि स्थानीय तह, सरकारी निकाय र आम नागरिकले तत्काल के–के गर्नुपर्छ ?
उत्तरः यसमा सबै निकायले आ–आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्न आवश्यक छ । स्थानीय तहले आफ्नोे भूगोलभित्र खानेपानीबाट वञ्चित रहेका साना बस्तीहरू पहिचान गरी बजेट प्राथमिकतामा राख्नुपर्छ भने सबै विद्यालयहरूमा बालमैत्री, अपामैत्री र महिनावारी स्वच्छता सुविधायुक्त शौचालय र साबुनपानीको व्यवस्था सुनिश्चित गर्नुपछ ।
त्यसैगरी सरकारी कार्यालयहरूले मन्त्रालय, पालिका वा अन्य निकायमा बोटल र जारको पानी किनेर फजुल खर्च गर्नुको साटो आफ्नौ भवनमा शुद्धीकरण प्रणाली जडान गरी प्रयोग गरेर जनतामा सकारात्मक सन्देश दिनुपर्छ । आम नागरिकको हकमा, आफ्नोे स्वास्थ्यको पहिलो जिम्मेवार आफैँ भएकाले र अधिकांश सरुवा रोगहरू दूषित पानीकै कारण लाग्ने हुँदा, पानी जहिले पनि उमालेर, पियुष वा क्लोरिन हालेर शुद्ध गरेर मात्र पिउने बानी बसाल्नुपर्छ । यसबाट ठूलो औषधोपचार खर्च जोगिन्छ ।
प्रश्नः अन्त्यमा, खानेपानी क्षेत्रको समग्र सुधारका लागि यहाँको सन्देश के छ ?
उत्तरः खानेपानी केवल पूर्वाधार वा पाइप गाड्ने काम मात्र होइन, यो नागरिकको जीवन रक्षा र सभ्यताको सूचक हो । ठूला भवन र सडक बनेर मात्र समृद्धि आउँदैन, जबसम्म हाम्रा नागरिकले मुहानदेखि मुखसम्म सफा र शुद्ध पानी पिउन पाउँदैन् राज्यले अधिकारको स्पष्ट बाँडफाँड र बजेटको सही सदुपयोग गरोस्, स्थानीय तहले नेतृत्व लेओस् र नागरिकले आफ्नो बानीव्यवहारमा सुधार गरून्  यही नै हाम्रो समृद्धिको बलियो आधार हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

चार जना प्रहरी नियन्त्रणमा

उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

यो पनि पढ्नुहोस
पाविलन्युज