हेर्दा सफा देखिँदैमा पानी सुरक्षित हुँदैन
राजाराम शर्मा

श्रावण १७, २०८३

पाहुना

Indraman Shakya dhading

इन्द्रमान शाक्य

प्रस्तुतकर्ता: राजाराम शर्मा

नेपालमा खानेपानीको पहुँच विस्तारमा उल्लेखनीय प्रगति भए पनि धारामा आउने पानीको शुद्धता, नियमितता र सुरक्षित प्रयोग अझै पनि ठूलो चुनौतीका रूपमा रहेको छ । खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा कार्यरत संस्था फोकस नेपालले धादिङको ज्वालामुखी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिकामा विशेष परियोजना सञ्चालन गरिरहेको छ ।
यसै सन्दर्भमा ज्वालामुखी गाउँपालिकामा खानेपानीको वर्तमान अवस्था, ‘एक घर, एक धारा’ को कार्यान्वयन, गुणस्तर नियन्त्रणका प्राविधिक अभ्यास, महिला तथा समावेशी नेतृत्वको पहुँच, सामाजिक व्यवहार परिवर्तनका चुनौती र जनस्वास्थ्यमा परेको प्रभावका विषयमा शान्ति नेपालमा कार्यरत एवं ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डका सदस्य इन्द्रमान शाक्यसँग पत्रकार राजाराम शर्माले गर्नुभएको कुराकानीको संपादित अंशः
प्रश्नः नेपालमा खानेपानीको क्षेत्रमा अहिले ‘एक घर, एक धारा’ को नीति व्यापकरूपमा लागू भइरहेको छ । खानेपानीको विकासक्रम कसरी अगाडि बढेको छ र हालको ‘सुरक्षित खानेपानी’ को अभियानलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
उत्तरः नेपालमा खानेपानीको विकासक्रम र नागरिकले पानी उपभोग गर्ने शैलीलाई नजिकबाट नियाल्दा यो मुख्यतया चारवटा ठूला रूपान्तरणकारी चरणहरूबाट गुज्रिएको देखिन्छ । सुरुवाती अवस्था अथवा पहिलो चरणमा मानिसहरूले खोला, नाला, नदी र खुल्ला स्रोतहरूबाट सोझै भाँडामा भरेर वा उबाएर पानी प्रयोग गर्ने गर्दथे । त्यो समयमा जनसङ्ख्या कम थियो र स्रोतहरू तुलनात्मक रूपमा सफा थिए, तर खुल्ला भएकाले प्रदूषणको जोखिम उस्तै थियो ।
दोस्रो चरणमा पुग्दा मानिसहरूमा अलि चेतना आयो र उनीहरूले प्राकृतिक कुवा, पँधेरा र मूलहरूलाई थोरै घेराबन्दी गर्ने, पर्खाल लगाउने वा संरक्षण गरेर प्रयोग गर्न थाले । तेस्रो चरणमा विकासका पूर्वाधारहरू भित्रिएपछि गाउँ–गाउँमा समुदाय स्तरमा सार्वजनिक धाराहरू निर्माण गरिए, जहाँ एउटै धाराबाट सिङ्गो टोल वा धेरै घरपरिवारले पालो पर्खेर पानी भर्थे ।
अहिले हामी चौथो चरणमा छौँ, जहाँ राज्यले हरेक नागरिकको घर–आँगनमै निजी धारा पु¥याउने ‘एक घर, एक धारा’ को नीति लिएको छ । यसलाई प्राविधिक भाषामा सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी प्रणाली भनिन्छ ।
तर हामीले के बुझ्नुपर्छ भने, घरमा धारा पुग्नु वा पानी पर्नु मात्रै अन्तिम लक्ष्य होइन । नेपालको संविधानको धारा ३५ मा खानेपानी र सरसफाइलाई नागरिकको मौलिक हकका रूपमा स्पष्ट व्यवस्था गरिएको छ । त्यसैगरी, संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यको लक्ष्य नम्बर ६ ले पनि सन् २०३० सम्ममा सबैका लागि सुरक्षित र समतामूलक खानेपानीको पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
नीतिगत रूपमा नेपाल सरकारले खानेपानी गुणस्तर मापदण्ड २०७९ जारी गरेको छ । यस मापदण्डले स्पष्ट पारेको छ कि धाराबाट आउने पानी जैविक, रासायनिक र भौतिक तीनै दृष्टिले पूर्ण रूपमा मानव स्वास्थ्यका लागि सुरक्षित हुनुपर्छ । त्यसैले अहिलेको मुख्य अभियान भनेको केवल धारा बाँड्ने होइन, धारामा सुरक्षित पानी बगाउने हो ।
प्रश्नः भौगोलिक रूपमा विकट र विविध बनावट भएको ज्वालामुखी गाउँपालिकामा खानेपानीको गुणस्तर मापन, परीक्षण र शुद्धीकरणका लागि खानेपानी बोर्डले के–कस्ता प्राविधिक अभ्यासहरू गरिरहेको छ ?
उत्तरः ज्वालामुखी गाउँपालिकाको भौगोलिक बनावट अलि भिन्न छ । यहाँ उचाइमा रहेका बस्तीहरू पनि छन् र बेँसीका क्षेत्रहरू पनि छन् । त्यसैले भूगोल अनुसार यहाँ तीन प्रकारका खानेपानी आयोजनाहरू सञ्चालनमा रहेका छन् । पहिलो, माथिल्लो मूलबाट भिरालो जमिन हुँदै आउने ग्याभिटी प्रणाली । दोस्रो, तल्लो क्षेत्र वा खोलाको पानीलाई विद्युत् वा इन्जिनको माध्यमबाट माथिल्लो बस्तीमा पु¥याइने लिफ्टिङ प्रणाली । र तेस्रो, जमिनमुनिको पानी निकालेर प्रयोग गरिने डिप बोरिङ प्रणाली ।
यी सबै प्रणालीबाट वितरण गरिने पानी नागरिकको मुखसम्म पुग्दा पूर्ण रूपमा सुरक्षित छ कि छैन भनेर जाँच्न ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डले आफ्नै पानी परीक्षण प्रयोगशालाको स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
हामीले ल्याबमार्फत नियमित रूपमा ट्याङ्की तथा उपभोक्ताका धाराहरूबाट पानीको नमुना संकलन गर्छौँ । ल्याबमा मुख्य गरी पानीमा मानिस वा जनावरको दिसाको मात्रा छ कि छैन भनेर हेर्न इ–कोलाई र कोलिफर्म जस्ता जैविक किटाणुहरूको परीक्षण गरिन्छ । साथै, पानीको पीएच, धमिलोपना र अन्य रासायनिक तत्वहरूको पनि मापन गरिन्छ ।
यदि परीक्षणका क्रममा पानीमा जैविक प्रदूषण वा किटाणु भेटियो भने हाम्रो प्राविधिक टोलीले तत्काल निरीक्षण सुरु गर्छ । स्रोतमा केही मरेको वा दूषित कुरा मिसिएको छ कि, रिजर्भायर ट्याङ्की फोहोर छ कि, अथवा बाटोमा पाइपलाइन फुटेर ढल वा फोहोर पानी मिसिएको छ कि भनेर पुरै प्रणालीको अध्ययन गरिन्छ र मर्मतसम्भार गरिन्छ ।
पानीलाई प्रणालीगत रूपमै किटाणुरहित बनाउन हामीले केही आयोजनाका रिजर्भायर ट्याङ्कीहरूमा अटोमेटेड वा नियमित क्लोरिनेसन गर्ने व्यवस्था मिलाएका छौँ । यसका साथै, प्रणाली सुरक्षित हुँदाहुँदै पनि वितरणका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर घरायसी स्तरमा पानी शुद्धीकरण का लागि उपभोक्ताहरूलाई सजग गराउने काम पनि बोर्डले गरिरहेको छ ।
प्रश्नः प्राविधिक रूपमा ट्याङ्कीमै क्लोरिन हालेर पानी शुद्ध बनाउने काम त भइरहेको छ, तर गाउँघरमा नागरिकहरूले क्लोरिन हालेको पानी कत्तिको रुचाएका छन् ? सामाजिक सोच र व्यवहार परिवर्तनका क्षेत्रमा कस्ता चुनौतीहरू देखिएका छन् ?
उत्तरः यो एकदमै महत्त्वपूर्ण र व्यावहारिक प्रश्न हो । खानेपानीको क्षेत्रमा काम गर्दा प्राविधिक संरचना बनाउनु भन्दा पनि मानिसहरूको वर्षौँदेखिको सोच र व्यवहार परिवर्तन गराउनु सबैभन्दा जटिल चुनौती बनेको छ ।
हाम्रा ग्रामीण भेगका नागरिकहरूमा पुर्खादेखि नै मूलबाट कलकल बगेको, चिसो र काँचो पानी सोझै हातले उघाएर वा धारामा मुख जोडेर पिउने बानी छ । जब हामीले पानीलाई सुरक्षित बनाउन ट्याङ्कीमा क्लोरिन मिसाउँछौँ, पानीमा थोरै क्लोरिनको गन्ध वा स्वाद आउँछ ।
यसले गर्दा गाउँका धेरैजसो उपभोक्ताहरूले “यो पानीमा त औषधि हालेको छ, यसको स्वाद औषधि जस्तो आयो, यो पिउन योग्य छैन” भनेर क्लोरिनेटेड पानी पिउन अस्वीकार गर्ने वा ट्याङ्कीमा क्लोरिन हाल्न नदिने सम्मका प्रतिक्रिया दिन्छन् ।
यहाँ मुख्य समस्या चेतनाको हो । हाम्रा मानिसहरूले ‘सफा देखिने पानी’ र ‘सुरक्षित पानी’ बीचको फरक बुझ्न सकिरहेका छैनन् । आँखाले हेर्दा सफा, सङ्लो देखिने पानीमा लाखौँको संख्यामा नाङ्गो आँखाले देख्न नसकिने किटाणुहरू हुन सक्छन् । क्लोरिनको स्वादलाई स्वीकार्ने बानी बसाल्न र पानी पिउने पुरानो व्यवहार छुटाउन अझै धेरै समय, लगातारको सञ्चार र जनचेतनामूलक अभियानको आवश्यकता छ ।
प्रश्नः खानेपानीको संकलन, व्यवस्थापन र घरायसी प्रयोगमा महिलाहरूको भूमिका सधैँ अग्रस्थानमा हुन्छ । तर निर्णय प्रक्रिया र नेतृत्वमा महिलाको पहुँच कमजोर हुने गरेको पाइन्छ । ज्वालामुखी खानेपानी बोर्डमा महिला र समावेशी नेतृत्वको वास्तविक अवस्था कस्तो छ ?
उत्तरः खानेपानी र महिलाको सम्बन्ध ज्यादै गहिरो छ । घरमा पानी भरेर ल्याउने, भान्सा सम्हाल्ने, बालबालिकालाई सफा राख्ने र घरायसी सरसफाइ गर्ने मुख्य जिम्मेवारी आज पनि महिलाहरूकै काँधमा छ । त्यसैले पानीको समस्याको सबैभन्दा प्रत्यक्ष मार्का महिलाहरूले नै भोग्नुपर्छ ।
ज्वालामुखी खानेपानी बोर्डमा महिला तथा समावेशी नेतृत्वको अवस्थालाई हेर्ने हो भने यहाँ केही एकदमै सकारात्मक र उदाहरणीय पक्षहरू छन् भने केही गम्भीर सुधार गर्नुपर्ने ठाउँहरू पनि छन् ।
सकारात्मक र खुसीको कुरा के छ भने, बोर्डको दैनिक प्रशासनिक र कार्यकारी व्यवस्थापन सम्हाल्ने प्रमुख दुई पदहरूमा महिलाहरू हुनुहुन्छ । हाल बोर्डको कार्यकारी प्रमुख र लेखापाल दुवै जना महिला हुनुहुन्छ । उहाँहरूले बोर्डको दैनिक कार्यसञ्चालन, वित्तीय व्यवस्थापन, योजना कार्यान्वयन र समन्वयको काम अत्यन्तै कुशलता, पारदर्शिता र जिम्मेवारीका साथ सम्हालिरहनुभएको छ ।
तर नीतिगत र निर्णय प्रक्रियाको माथिल्लो तह अर्थात् बोर्डको कार्यकारी समितिमा भने समावेशिताको कमी छ । गाउँपालिका अध्यक्षज्यूको अध्यक्षतामा रहेको सात सदस्यीय बोर्ड कार्यकारी समितिमा मात्र २ जना महिला सदस्य हुनुहुन्छ ।
भौगोलिक र सामाजिक समावेशिताको दृष्टिले हेर्दा पनि ज्वालामुखीमा सातवटा वडाहरू छन् । तर बोर्डमा सबै वडाको प्रतिनिधित्व हुन सकेको छैन । विशेष गरी दलित, जनजाति, सीमान्तकृत समुदाय र खानेपानीको चरम अभाव रहेका विकट क्षेत्रका बासिन्दाहरूको प्रतिनिधित्व बोर्डमा छुट्न पुगेको छ । जबसम्म समस्या भोग्ने वास्तविक मानिस निर्णय गर्ने ठाउँमा पुग्दैन, तबसम्म समस्याको सही पहिचान र दिगो समाधान हुन सक्दैन ।
यसका साथै प्राविधिक क्षेत्र जस्तै प्लम्बर, प्राविधिक वा मर्मतसम्भार कार्यकर्ताका रूपमा अझै पनि पुरुषहरुकै बाहुल्यता छ । त्यसैले बोर्डलाई पूर्ण रूपमा पारदर्शी, सुशासित र समावेशी बनाउनका लागि गाउँपालिकाको खानेपानी ऐन तथा कार्यविधिमा आवश्यक परिमार्जन र संशोधन गरेर नीतिगत रूपमै महिला र लक्षित वर्गको प्रतिनिधित्व सुनिश्चित गर्ने तयारी हामी गरिरहेका छौँ ।
प्रश्नः जनस्वास्थ्यको दृष्टिकोणले हेर्दा दूषित पानीका कारण मानव शरीरमा कस्ता–कस्ता असरहरू पर्छन् ? र अन्त्यमा, सुरक्षित खानेपानी प्रयोगका सम्बन्धमा आम नागरिक र उपभोक्ताहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
उत्तरः जनस्वास्थ्यको तथ्याङ्क र वैज्ञानिक अध्ययनहरूलाई हेर्ने हो भने ८० प्रतिशतभन्दा बढी सरुवा र पेटसम्बन्धी रोगहरू दूषित पानी र असफाइकै कारणले हुने गर्छन् ।
जब मानिसले दूषित वा किटाणुयुक्त पानी पिउँछ, त्यसबाट झाडापखाला, हैजा, टाइफाइड, आउँ, जन्डिस, पोलियो र पेटमा जुका पर्ने जस्ता गम्भीर र ज्यानै जान सक्ने रोगहरू लाग्छन् ।
यसको असर केवल सोझै पानी पिउँदा मात्र पर्दैन । यदि हामीले दूषित पानीले पखालेको सागसब्जी वा फलफूल काँचै खायौँ, दूषित पानी प्रयोग गरेर खाना पकायौँ, वा गाउँघरमा बनाइने मोही, जाँड÷रक्सी जस्ता पेय पदार्थमा दूषित पानी मिसायौँ भने त्यसले सिङ्गो परिवार र समुदायलाई नै बिरामी बनाउँछ ।
खास गरी बालबालिकाहरू यसको उच्च जोखिममा हुन्छन् । अभिभावकले आफ्ना बालबालिकालाई ठूलो माया गरेर खानेकुरा वा पानी खुवाउँछन्, तर यदि त्यो पानी सुरक्षित र किटाणुरहित छैन भने माया गर्दागर्दै पनि हामीले उनीहरूलाई पानीसँगै रोगका किटाणुहरू खुवाइरहेका हुन्छौँ र उनीहरू बारम्बार बिरामी पर्छन्, जसले उनीहरूको शारीरिक र मानसिक विकासमै नकारात्मक असर पार्छ ।
त्यसैले अन्त्यमा म सम्पूर्ण आम नागरिक र उपभोक्ता महानुभावहरूलाई के अनुरोध गर्न चाहन्छु भने, “सुरक्षित पानी, स्वच्छ जिन्दगानी” भन्ने कुरालाई केवल नारामा मात्र सीमित नराखी आफ्नो दैनिक जीवनमा आत्मसात् गरौँ ।
धारामा पानी आउँदैमा वा हेर्दा सफा देखिँदैमा त्यो पूर्ण सुरक्षित हुन्छ भन्ने छैन । त्यसैले पानीलाई पिउनुअघि कम्तीमा एक उम्ल उमालेर, पियुष वा क्लोरिनको सही मात्रा प्रयोग गरेर, वा फिल्टर गरेर÷छानेर मात्र पिउने बानी बसालौँ । घरमा पानी भण्डारण गर्ने भाँडोलाई सधैँ सफा राखौँ र ढाकेर राखौँ । हाम्रो र हाम्रा बालबालिकाको स्वास्थ्य हाम्रै हातमा छ, त्यसैले सुरक्षित खानेपानीको प्रयोग गरौँ र स्वस्थ रहौँ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

शासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस
राजाराम शर्मा