फोकस नेपालले लामो समयदेखि धादिङलगायतका विभिन्न जिल्लाहरूमा सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्दै आएको छ । विशेषगरी धादिङको ज्वालामुखी र बेनीघाट रोराङ गाउँपालिकामा खानेपानी तथा सरसफाइ बोर्ड गठन गरी सुरक्षित पानीको अभियानलाई अगाडि बढाइएको छ । पानीको व्यवस्थापन र घरायसी उपयोगमा महिलाको प्रमुख भूमिका हुने भए पनि नीति निर्माण र नेतृत्वमा उनीहरूको सहभागिता अझै न्यून छ । सुरक्षित पानीको अवधारणा, मुहानदेखि मुखसम्म पानीलाई कसरी सुरक्षित राख्ने र खानेपानी व्यवस्थापनमा महिला नेतृत्वको आवश्यकता किन छ भन्ने विषयमा फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीसँग पत्रकार शंकर श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
अहिले सुरक्षित पानी र खानेपानीमा महिला नेतृत्वको विषयलाई फोकस नेपालले निकै महत्वका साथ उठाएको छ । यो विषयलाई जोड्न किन आवश्यक देखियो ?
सबैभन्दा पहिला त पानी भन्ने बित्तिकै यो हाम्रो जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो । हाम्रो शरीरमा र यो ब्रहमाण्डमै पनि दुई तिहाइ भाग पानी छ । हरेक घरपरिवारको जीवनचक्रको अधिकांश हिस्सा पानीसँगै जोडिएको हुन्छ । हामीले गहिरिएर हिसाबकिताब नगरेको भए पनि घरपरिवार सञ्चालनमा महिलाको भूमिका धेरै प्रतिशत हुन्छ । घरभित्र र व्यक्तिगत सरसफाइको सन्दर्भमा महिलाहरू नै बढी जिम्मेवार हुने गरेका छन् ।
पानी उपलब्ध भएर मात्र पुग्दैन, त्यो स्वच्छ, सफा र सुरक्षित हुनुपर्छ । पानीलाई कसरी स्वच्छ बनाउने, कसरी पिउन योग्य बनाउने वा कसरी सुरक्षित राख्ने भन्ने कुरा महिलाले जाने भने मात्र त्यो वास्तवमा सुरक्षित हुन्छ । अन्यथा, व्यवस्थापन गर्ने काम महिलाको हुने तर ज्ञान चाहिँ पुरुष वा घरबाहिर हुने मान्छेले मात्र राखेर त्यसको कुनै अर्थ रहँदैन । जसले पानीको प्रत्यक्ष प्रयोग र व्यवस्थापन गर्छ, उसैले यसको बारेमा जान्नुपर्छ । अहिले पनि हाम्रो समाजमा खाना बनाउने, बालबालिकाको हेरचाह गर्ने र पारिवारिक सरसफाइ गर्ने काम धेरैजसो महिलाकै भूमिकामा छ । त्यसकारण पानीको विषयमा मात्र नभएर यसको समग्र व्यवस्थापन, पानीसँग जोडिएका योजना र निकायहरूमा महिलाहरूको नेतृत्व र सहभागिता अनिवार्य चाहिन्छ भन्ने हाम्रो बुझाइ हो ।
सुरुवातमा खानेपानीका संरचना निर्माणमा मात्रै केन्द्रित कार्यक्रमहरू अहिले सुरक्षित पानीको अवधारणामा पुगेका छन्, सुरक्षित पानी भनेको कस्तो पानी हो र हामी यसको पहुँचमा कहाँ छौँ ?
सुरुवाती चरणमा पानीका योजनाहरू निर्माण गर्दा पानीको उपलब्धता नै थिएन । त्यसैले जसरी हुन्छ पानीको पहुँच पु¥याउने भन्नेमै हाम्रो ध्यान केन्द्रित थियो । समुदायको व्यापक सहभागितामा योजनाहरू निर्माण हुन्थे, जहाँ जसको नेतृत्व प्रभावकारी हुन्छ उसैले अगुवाइ गर्ने चलन थियो । त्यतिबेला महिला वा पुरुष भनेर खासै छुट्याइएको थिएन । तर, पानी उपलब्ध भइसकेपछि पनि मुख्य समस्या पानीको गुणस्तरमा देखियो । पानी भनेको जीवन र स्वास्थ्यका लागि हो, यदि त्यो पानी राम्रो भएन भने त्यसले झन् ठूलो समस्या निम्त्याउँछ । पानी नहुँदा भन्दा अशुद्ध पानी हुँदा झन् धेरै रोगव्याधि फैलिने जोखिम हुन्छ ।
अहिले पानीलाई सुरक्षित बनाउनु नै सबैभन्दा महत्वपूर्ण एजेन्डा हो । पानीलाई कसरी स्वच्छ बनाउने र यसको प्रयोग कसरी गर्ने भन्ने कुरालाई हामीले प्राथमिकतामा राखेका छौँ । राम्रोसँग पानीको प्रयोग गर्न सकियो भने मात्र व्यक्तिगत र पारिवारिक स्वास्थ्यमा यसले सकारात्मक योगदान दिन्छ । धादिङ जिल्लाकै कुरा गर्ने हो भने यहाँका खानेपानी आयोजनाहरूबाट वितरण भइरहेको पानी शतप्रतिशत पिउन लायक छ भन्ने अवस्था छैन । हामीले खानेपानी बोर्डहरूमा रहेको प्रयोगशालाबाट नियमित परीक्षण गर्दा पानीमा विभिन्न समस्याहरू देखेका छौँ । मुहानको वरपर रासायनिक मल र विषादीको प्रयोग बढेको छ । यसले गर्दा पानी प्रदूषित भइरहेको छ र यसलाई प्रशोधन नगरी पिउनु सुरक्षित छैन । त्यसैले मुहानदेखि नै पानीलाई सुरक्षित नबनाएसम्म रोगव्याधि र जनस्वास्थ्यको जोखिम रहिरहन्छ ।
पानीलाई स्वच्छ र सुरक्षित बनाउन पानीको मुहानदेखि लिएर प्रयोग गर्ने बेलासम्म के–कस्ता कुरामा ध्यान दिनुपर्ने रहेछ ?
पानीलाई कसरी सुरक्षित गर्ने भन्ने कुराका विभिन्न चरणहरू हुन्छन् घरपरिवारदेखि समुदायसम्मले यसमा ध्यान दिनुपर्छ । सबैभन्दा पहिला पानीको मुहानलाई सुरक्षित गर्नुपर्छ । मुहानभन्दा माथिको जलाधार क्षेत्रको संरक्षण गर्ने, त्यहाँ जथाभावी रासायनिक मल र विषादी प्रयोग नगर्ने कुरामा समुदाय स्तरबाटै नीति बनाएर कडाइ गर्नुपर्छ ।
त्यसपछि संरचनागत सुरक्षामा ध्यान दिनुपर्छ । खानेपानी आयोजना निर्माण गर्दा इन्जिनियर वा प्राविधिकहरूले ट्याङ्की, पाइपलाइन र वितरण प्रणालीलाई सुरक्षित बनाउनुपर्छ । इन्टेकदेखि फिल्टर राख्ने ठाउँसम्म सबै संरचना सुरक्षित हुनुपर्छ । पानी वितरण भएर धाराबाट झरिरसकेपछि उपभोक्ताको जिम्मेवारी सुरु हुन्छ । पिउनुअघि पानीलाई भाँडोमा थापेर घरमा लगेर राख्दा त्यो भाँडो कस्तो छ भन्ने कुराले ठूलो अर्थ राख्छ । हामीले नियमित रूपमा भाँडो सफा गर्ने गरेका छौँ कि छैनौँ, भाँडो छोपेर राखेका छौँ कि छैनौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कतिपय अवस्थामा शुद्ध पानी ल्याए पनि घरमा भण्डारण गर्ने भाँडो फोहोर हुँदा पानी दूषित बन्न पुग्छ । साथै, पानी पिउनको लागि गिलासमा खन्याउँदा पानी समात्ने तरिका, हातको सरसफाइ जस्ता साना तर महत्वपूर्ण व्यवहारहरूमा ध्यान दिनुपर्ने हुन्छ । यो समग्र व्यवहारलाई सुधार गर्न घरको मुख्य व्यवस्थापक अर्थात् महिलाहरूको महत्वपूर्ण भूमिका हुन्छ ।
यो विषयलाई आम नागरिकले कसरी ग्रहण गरेका छन् ? के पानी छान्ने वा उमाल्ने कुरामा चेतनास्तर वृद्धि भएको पाउनुहुन्छ ?
चेतनाको स्तर पहिलेको तुलनामा धेरै नै राम्रो भएको छ । पहिले हामी पानीको मूल फुटेपछि सिधै त्यहीँ मुख लगाएर पिउने गथ्र्याैं । वर्षको एकपटक वर्षायाममा रुघाखोकी लाग्नुलाई सामान्य मौसमी परिवर्तन मानिन्थ्यो । तर, अहिले मानिसहरूले त्यो रुघाखोकी र बिरामीपन पानीकै कारणले भएको रहेछ भन्ने बुझ्न थालेका छन् । भाइरसजन्य र पानीजन्य रोगहरू फोहोर पानीबाटै सर्छन् भन्ने कुरामा नागरिकहरू सचेत भएका छन् ।
मानिसहरूले अहिले पानीप्रति होसियार भएर व्यवहार गर्न थालेका छन् । बजारतिर हिँड्दा धेरैले बोतलको पानी पिउने गरेका छन् भने खेतबारीमा काम गर्न जाँदा पनि फिल्टर गरेर वा उमालेर घरबाटै पानी बोकेर जाने चलन बढेको छ । गाउँघरमा पनि पानी फिल्टर गरेर मात्र खाने, पानीको मुहानमा जाँदा फिल्टर गरिएको पानी नै प्रयोग गर्ने अभ्यासको विकास भइरहेको छ । हाम्रो संस्थाको पहलमा मात्र नभएर मानिसहरूले सामाजिक सञ्जाल र अन्य माध्यमबाट पनि धेरै कुरा सिकेका छन् यो चेतनाको स्तर गाउँ–गाउँसम्म पुगेको छ र यसले खानेपानीको प्रयोगमा सकारात्मक परिवर्तन ल्याएको छ ।
खानेपानी व्यवस्थापन भनेको प्रत्यक्ष रूपमा महिलाहरूसँग जोडिने विषय हो भनियो । तर, खानेपानी उपभोक्ता समिति वा अन्य व्यवस्थापकीय पाटोमा महिलाहरूको नेतृत्व र सहभागिता कस्तो पाउनुहुन्छ ?
महिलाहरूले आफूलाई अति आवश्यक परेको ठाउँमा नेतृत्व लिइरहनुभएको छ । घरभित्रको व्यवस्थापन उहाँहरूले नै कुशलतापूर्वक गरिरहनुभएको छ । तर, जब समाजको संरचनागत नेतृत्व वा बाहिरको सार्वजनिक समितिको कुरा आउँछ, त्यहाँ महिलाहरूको उपस्थिति अझै पनि कमजोर छ । महिलाहरू आफैँ पनि सार्वजनिक नेतृत्वमा आउन अलि हिचकिचाउने, क्षमता भएर पनि समय दिन नसक्ने र पछाडि हट्ने प्रवृत्ति देखिन्छ ।
हामीले गाउँघरमा देख्ने गरेका छौँ, क्षमतावान महिलाहरू पनि नेतृत्व लिन तयार हुनुहुन्न किनभने उहाँहरूलाई पारिवारिक दायित्वको बोझ बढी छ र बाहिर निस्कन सहज वातावरण छैन । अर्कोतर्फ, हाम्रो सामाजिक र राजनीतिक परिवेश पनि त्यस्तै छ । नेतृत्व चयन गर्दा निष्पक्षता भन्दा पनि आफ्नो गुट वा पार्टीको मान्छे खोज्ने प्रवृत्ति हाबी छ । जसले गर्दा राम्रा र क्षमतावान महिलाहरू त्यस्ता समितिहरूमा आउन चाहँदैनन् हामीले महिलाहरूलाई नेतृत्वमा ल्याउन खोज्दा पनि त्यहाँको राजनीति र खिचातानीले गर्दा उहाँहरू आफैँ पन्छिने अवस्था छ । जबसम्म हाम्रो छनोट प्रक्रिया स्वच्छ र पारदर्शी हुँदैन, तबसम्म महिलाहरूको अर्थपूर्ण सहभागिता गराउन निकै कठिन छ ।
फोकस नेपालकै साझेदारीमा धादिङका दुईवटा पालिकामा खानेपानी तथा सरसफाइ बोर्ड गठन भएका छन्, नीतिगत रूपमै बनेका यी बोर्डहरूमा चाहिँ महिला सहभागिता र समावेशिताको अवस्था कस्तो छ ?
हामीले नीति बनाउँदा नै समावेशी सिद्धान्तलाई आत्मसात् गर्न खोजेका थियौँ । तर व्यवहारमा कार्यान्वयन गर्दा केही जटिलताहरू देखिएका छन् बोर्ड गठन गर्दा स्थानीय सरकारका प्रमुख, प्रशासकीय अधिकृत र वडाध्यक्षहरू पदेन सदस्य हुने कानुनी व्यवस्था छ । दुर्भाग्यवश, अहिले पालिकाहरूमा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अधिकांश वडाध्यक्षहरू पुरुष नै हुनुहुन्छ । त्यसैले पदेन सदस्यहरूको कारणले गर्दा बोर्डमा स्वतः पुरुषहरूको बाहुल्यता हुन पुग्यो ।
यद्यपि, हामीले उपभोक्ताहरूको तर्फबाट प्रतिनिधित्व गराउँदा भने महिला सहभागिता अनिवार्य गरेका छौँ । उपभोक्ता समितिबाट आउने प्रतिनिधिहरूमा कम्तीमा एक जना महिला हुनैपर्ने व्यवस्था गरेका छौँ । यसले गर्दा केही हदसम्म महिलाहरूको उपस्थिति सुनिश्चित भएको छ । विज्ञहरूको हकमा पनि हामीले महिला विज्ञलाई ल्याउने प्रयास गरेका थियौँ तर स्थानीय स्तरमा खानेपानी र सरसफाइको क्षेत्रमा काम गरेका महिला विज्ञहरू सजिलै उपलब्ध नहुँदा त्यहाँ पनि पुरुष नै आउनुभएको छ । समग्रमा भन्नुपर्दा, कानुनी रूपमा समावेशी बनाउने प्रयास गरिए पनि हाम्रो वर्तमान राजनीतिक र प्रशासनिक संरचनाकै कारणले गर्दा बोर्डहरूमा महिलाहरूको उपस्थिति हामीले सोचेजस्तो र हुनुपर्ने जति बलियो हुन सकेको छैन । आगामी दिनमा यसलाई कसरी सुधार्ने र महिला नेतृत्वलाई कसरी स्थापित गर्ने भन्ने विषयमा हामी सबैले गम्भीर भएर सोच्न आवश्यक छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0