खानेपानी र सरसफाइमा महिलाहरू नै बढी जिम्मेवार हुन्छन्
शंकर श्रेष्ठ

श्रावण ३१, २०८३

पाहुना

Yakraj chhatkuli

एकराज छत्कुली

प्रस्तुतकर्ता: शंकर श्रेष्ठ

फोकस नेपालले लामो समयदेखि धादिङलगायतका विभिन्न जिल्लाहरूमा सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्दै आएको छ । विशेषगरी धादिङको ज्वालामुखी र बेनीघाट रोराङ गाउँपालिकामा खानेपानी तथा सरसफाइ बोर्ड गठन गरी सुरक्षित पानीको अभियानलाई अगाडि बढाइएको छ । पानीको व्यवस्थापन र घरायसी उपयोगमा महिलाको प्रमुख भूमिका हुने भए पनि नीति निर्माण र नेतृत्वमा उनीहरूको सहभागिता अझै न्यून छ । सुरक्षित पानीको अवधारणा, मुहानदेखि मुखसम्म पानीलाई कसरी सुरक्षित राख्ने र खानेपानी व्यवस्थापनमा महिला नेतृत्वको आवश्यकता किन छ भन्ने विषयमा फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीसँग पत्रकार शंकर श्रेष्ठले गर्नुभएको  कुराकानीको सम्पादित अंश ।
अहिले सुरक्षित पानी र खानेपानीमा महिला नेतृत्वको विषयलाई फोकस नेपालले निकै महत्वका साथ उठाएको छ । यो विषयलाई जोड्न किन आवश्यक देखियो ?
सबैभन्दा पहिला त पानी भन्ने बित्तिकै यो हाम्रो जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो । हाम्रो शरीरमा र यो ब्रहमाण्डमै पनि दुई तिहाइ भाग पानी छ । हरेक घरपरिवारको जीवनचक्रको अधिकांश हिस्सा पानीसँगै जोडिएको हुन्छ । हामीले गहिरिएर हिसाबकिताब नगरेको भए पनि घरपरिवार सञ्चालनमा महिलाको भूमिका धेरै प्रतिशत हुन्छ । घरभित्र र व्यक्तिगत सरसफाइको सन्दर्भमा महिलाहरू नै बढी जिम्मेवार हुने गरेका छन् ।
पानी उपलब्ध भएर मात्र पुग्दैन, त्यो स्वच्छ, सफा र सुरक्षित हुनुपर्छ । पानीलाई कसरी स्वच्छ बनाउने, कसरी पिउन योग्य बनाउने वा कसरी सुरक्षित राख्ने भन्ने कुरा महिलाले जाने भने मात्र त्यो वास्तवमा सुरक्षित हुन्छ । अन्यथा, व्यवस्थापन गर्ने काम महिलाको हुने तर ज्ञान चाहिँ पुरुष वा घरबाहिर हुने मान्छेले मात्र राखेर त्यसको कुनै अर्थ रहँदैन । जसले पानीको प्रत्यक्ष प्रयोग र व्यवस्थापन गर्छ, उसैले यसको बारेमा जान्नुपर्छ । अहिले पनि हाम्रो समाजमा खाना बनाउने, बालबालिकाको हेरचाह गर्ने र पारिवारिक सरसफाइ गर्ने काम धेरैजसो महिलाकै भूमिकामा छ । त्यसकारण पानीको विषयमा मात्र नभएर यसको समग्र व्यवस्थापन, पानीसँग जोडिएका योजना र निकायहरूमा महिलाहरूको नेतृत्व र सहभागिता अनिवार्य चाहिन्छ भन्ने हाम्रो बुझाइ हो ।
सुरुवातमा खानेपानीका संरचना निर्माणमा मात्रै केन्द्रित कार्यक्रमहरू अहिले सुरक्षित पानीको अवधारणामा पुगेका छन्, सुरक्षित पानी भनेको कस्तो पानी हो र हामी यसको पहुँचमा कहाँ छौँ ?
सुरुवाती चरणमा पानीका योजनाहरू निर्माण गर्दा पानीको उपलब्धता नै थिएन । त्यसैले जसरी हुन्छ पानीको पहुँच पु¥याउने भन्नेमै हाम्रो ध्यान केन्द्रित थियो । समुदायको व्यापक सहभागितामा योजनाहरू निर्माण हुन्थे, जहाँ जसको नेतृत्व प्रभावकारी हुन्छ उसैले अगुवाइ गर्ने चलन थियो । त्यतिबेला महिला वा पुरुष भनेर खासै छुट्याइएको थिएन । तर, पानी उपलब्ध भइसकेपछि पनि मुख्य समस्या पानीको गुणस्तरमा देखियो । पानी भनेको जीवन र स्वास्थ्यका लागि हो, यदि त्यो पानी राम्रो भएन भने त्यसले झन् ठूलो समस्या निम्त्याउँछ । पानी नहुँदा भन्दा अशुद्ध पानी हुँदा झन् धेरै रोगव्याधि फैलिने जोखिम हुन्छ ।
अहिले पानीलाई सुरक्षित बनाउनु नै सबैभन्दा महत्वपूर्ण एजेन्डा हो । पानीलाई कसरी स्वच्छ बनाउने र यसको प्रयोग कसरी गर्ने भन्ने कुरालाई हामीले प्राथमिकतामा राखेका छौँ । राम्रोसँग पानीको प्रयोग गर्न सकियो भने मात्र व्यक्तिगत र पारिवारिक स्वास्थ्यमा यसले सकारात्मक योगदान दिन्छ । धादिङ जिल्लाकै कुरा गर्ने हो भने यहाँका खानेपानी आयोजनाहरूबाट वितरण भइरहेको पानी शतप्रतिशत पिउन लायक छ भन्ने अवस्था छैन । हामीले खानेपानी बोर्डहरूमा रहेको प्रयोगशालाबाट नियमित परीक्षण गर्दा पानीमा विभिन्न समस्याहरू देखेका छौँ । मुहानको वरपर रासायनिक मल र विषादीको प्रयोग बढेको छ । यसले गर्दा पानी प्रदूषित भइरहेको छ र यसलाई प्रशोधन नगरी पिउनु सुरक्षित छैन । त्यसैले मुहानदेखि नै पानीलाई सुरक्षित नबनाएसम्म रोगव्याधि र जनस्वास्थ्यको जोखिम रहिरहन्छ ।
पानीलाई स्वच्छ र सुरक्षित बनाउन पानीको मुहानदेखि लिएर प्रयोग गर्ने बेलासम्म के–कस्ता कुरामा ध्यान दिनुपर्ने रहेछ ?
पानीलाई कसरी सुरक्षित गर्ने भन्ने कुराका विभिन्न चरणहरू हुन्छन् घरपरिवारदेखि समुदायसम्मले यसमा ध्यान दिनुपर्छ । सबैभन्दा पहिला पानीको मुहानलाई सुरक्षित गर्नुपर्छ । मुहानभन्दा माथिको जलाधार क्षेत्रको संरक्षण गर्ने, त्यहाँ जथाभावी रासायनिक मल र विषादी प्रयोग नगर्ने कुरामा समुदाय स्तरबाटै नीति बनाएर कडाइ गर्नुपर्छ ।
त्यसपछि संरचनागत सुरक्षामा ध्यान दिनुपर्छ । खानेपानी आयोजना निर्माण गर्दा इन्जिनियर वा प्राविधिकहरूले ट्याङ्की, पाइपलाइन र वितरण प्रणालीलाई सुरक्षित बनाउनुपर्छ । इन्टेकदेखि फिल्टर राख्ने ठाउँसम्म सबै संरचना सुरक्षित हुनुपर्छ । पानी वितरण भएर धाराबाट झरिरसकेपछि उपभोक्ताको जिम्मेवारी सुरु हुन्छ । पिउनुअघि पानीलाई भाँडोमा थापेर घरमा लगेर राख्दा त्यो भाँडो कस्तो छ भन्ने कुराले ठूलो अर्थ राख्छ । हामीले नियमित रूपमा भाँडो सफा गर्ने गरेका छौँ कि छैनौँ, भाँडो छोपेर राखेका छौँ कि छैनौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कतिपय अवस्थामा शुद्ध पानी ल्याए पनि घरमा भण्डारण गर्ने भाँडो फोहोर हुँदा पानी दूषित बन्न पुग्छ । साथै, पानी पिउनको लागि गिलासमा खन्याउँदा पानी समात्ने तरिका, हातको सरसफाइ जस्ता साना तर महत्वपूर्ण व्यवहारहरूमा ध्यान दिनुपर्ने हुन्छ । यो समग्र व्यवहारलाई सुधार गर्न घरको मुख्य व्यवस्थापक अर्थात् महिलाहरूको महत्वपूर्ण भूमिका हुन्छ ।
यो विषयलाई आम नागरिकले कसरी ग्रहण गरेका छन् ? के पानी छान्ने वा उमाल्ने कुरामा चेतनास्तर वृद्धि भएको पाउनुहुन्छ ?
चेतनाको स्तर पहिलेको तुलनामा धेरै नै राम्रो भएको छ । पहिले हामी पानीको मूल फुटेपछि सिधै त्यहीँ मुख लगाएर पिउने गथ्र्याैं । वर्षको एकपटक वर्षायाममा रुघाखोकी लाग्नुलाई सामान्य मौसमी परिवर्तन मानिन्थ्यो । तर, अहिले मानिसहरूले त्यो रुघाखोकी र बिरामीपन पानीकै कारणले भएको रहेछ भन्ने बुझ्न थालेका छन् । भाइरसजन्य र पानीजन्य रोगहरू फोहोर पानीबाटै सर्छन् भन्ने कुरामा नागरिकहरू सचेत भएका छन् ।
मानिसहरूले अहिले पानीप्रति होसियार भएर व्यवहार गर्न थालेका छन् । बजारतिर हिँड्दा धेरैले बोतलको पानी पिउने गरेका छन् भने खेतबारीमा काम गर्न जाँदा पनि फिल्टर गरेर वा उमालेर घरबाटै पानी बोकेर जाने चलन बढेको छ । गाउँघरमा पनि पानी फिल्टर गरेर मात्र खाने, पानीको मुहानमा जाँदा फिल्टर गरिएको पानी नै प्रयोग गर्ने अभ्यासको विकास भइरहेको छ । हाम्रो संस्थाको पहलमा मात्र नभएर मानिसहरूले सामाजिक सञ्जाल र अन्य माध्यमबाट पनि धेरै कुरा सिकेका छन् यो चेतनाको स्तर गाउँ–गाउँसम्म पुगेको छ र यसले खानेपानीको प्रयोगमा सकारात्मक परिवर्तन ल्याएको छ ।
खानेपानी व्यवस्थापन भनेको प्रत्यक्ष रूपमा महिलाहरूसँग जोडिने विषय हो भनियो । तर, खानेपानी उपभोक्ता समिति वा अन्य व्यवस्थापकीय पाटोमा महिलाहरूको नेतृत्व र सहभागिता कस्तो पाउनुहुन्छ ?
महिलाहरूले आफूलाई अति आवश्यक परेको ठाउँमा नेतृत्व लिइरहनुभएको छ । घरभित्रको व्यवस्थापन उहाँहरूले नै कुशलतापूर्वक गरिरहनुभएको छ । तर, जब समाजको संरचनागत नेतृत्व वा बाहिरको सार्वजनिक समितिको कुरा आउँछ, त्यहाँ महिलाहरूको उपस्थिति अझै पनि कमजोर छ । महिलाहरू आफैँ पनि सार्वजनिक नेतृत्वमा आउन अलि हिचकिचाउने, क्षमता भएर पनि समय दिन नसक्ने र पछाडि हट्ने प्रवृत्ति देखिन्छ ।
हामीले गाउँघरमा देख्ने गरेका छौँ, क्षमतावान महिलाहरू पनि नेतृत्व लिन तयार हुनुहुन्न किनभने उहाँहरूलाई पारिवारिक दायित्वको बोझ बढी छ र बाहिर निस्कन सहज वातावरण छैन । अर्कोतर्फ, हाम्रो सामाजिक र राजनीतिक परिवेश पनि त्यस्तै छ । नेतृत्व चयन गर्दा निष्पक्षता भन्दा पनि आफ्नो गुट वा पार्टीको मान्छे खोज्ने प्रवृत्ति हाबी छ । जसले गर्दा राम्रा र क्षमतावान महिलाहरू त्यस्ता समितिहरूमा आउन चाहँदैनन् हामीले महिलाहरूलाई नेतृत्वमा ल्याउन खोज्दा पनि त्यहाँको राजनीति र खिचातानीले गर्दा उहाँहरू आफैँ पन्छिने अवस्था छ । जबसम्म हाम्रो छनोट प्रक्रिया स्वच्छ र पारदर्शी हुँदैन, तबसम्म महिलाहरूको अर्थपूर्ण सहभागिता गराउन निकै कठिन छ ।
फोकस नेपालकै साझेदारीमा धादिङका दुईवटा पालिकामा खानेपानी तथा सरसफाइ बोर्ड गठन भएका छन्, नीतिगत रूपमै बनेका यी बोर्डहरूमा चाहिँ महिला सहभागिता र समावेशिताको अवस्था कस्तो छ ?
हामीले नीति बनाउँदा नै समावेशी सिद्धान्तलाई आत्मसात् गर्न खोजेका थियौँ । तर व्यवहारमा कार्यान्वयन गर्दा केही जटिलताहरू देखिएका छन् बोर्ड गठन गर्दा स्थानीय सरकारका प्रमुख, प्रशासकीय अधिकृत र वडाध्यक्षहरू पदेन सदस्य हुने कानुनी व्यवस्था छ । दुर्भाग्यवश, अहिले पालिकाहरूमा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अधिकांश वडाध्यक्षहरू पुरुष नै हुनुहुन्छ । त्यसैले पदेन सदस्यहरूको कारणले गर्दा बोर्डमा स्वतः पुरुषहरूको बाहुल्यता हुन पुग्यो ।
यद्यपि, हामीले उपभोक्ताहरूको तर्फबाट प्रतिनिधित्व गराउँदा भने महिला सहभागिता अनिवार्य गरेका छौँ । उपभोक्ता समितिबाट आउने प्रतिनिधिहरूमा कम्तीमा एक जना महिला हुनैपर्ने व्यवस्था गरेका छौँ । यसले गर्दा केही हदसम्म महिलाहरूको उपस्थिति सुनिश्चित भएको छ । विज्ञहरूको हकमा पनि हामीले महिला विज्ञलाई ल्याउने प्रयास गरेका थियौँ तर स्थानीय स्तरमा खानेपानी र सरसफाइको क्षेत्रमा काम गरेका महिला विज्ञहरू सजिलै उपलब्ध नहुँदा त्यहाँ पनि पुरुष नै आउनुभएको छ । समग्रमा भन्नुपर्दा, कानुनी रूपमा समावेशी बनाउने प्रयास गरिए पनि हाम्रो वर्तमान राजनीतिक र प्रशासनिक संरचनाकै कारणले गर्दा बोर्डहरूमा महिलाहरूको उपस्थिति हामीले सोचेजस्तो र हुनुपर्ने जति बलियो हुन सकेको छैन । आगामी दिनमा यसलाई कसरी सुधार्ने र महिला नेतृत्वलाई कसरी स्थापित गर्ने भन्ने विषयमा हामी सबैले गम्भीर भएर सोच्न आवश्यक छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

खानेपानी र सरसफाइमा महिलाहरू नै बढी जिम्मेवार हुन्छन्

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ