केशव दुवाडी
२०३७ साल पौष १४ गते आइतवार बिहान ७:३० बजे तिर एउटा कालो रङ्गको सरकारी कार वेद विद्याश्रममा आयो ।
“ल दरबारका बडा गुरुज्यू जुनानाथ पण्डितको कार आयो” भनेर कसैले जानकारी दियो ।
हामी सबै विद्यार्थीहरुलाई बाहिर चौरमा निस्किन गुरुको आदेश आयो । “१२ बर्ष मुनिका ११ जना बटुकहरु दरबारमा चाहियो महाराज धिराज सरकारको जन्मोत्सवमा रुद्री पाठ गर्न। “गाडीको मान्छेले भन्यो।
हामी ३२ जना जम्मा विद्यार्थी थियौं। त्यस मध्ये ८/१० जना बाहेक सबै बार वर्ष मुनिका। को को जान पाउने हो भन्ने खुल्दुली भयो । गुरुले सबैलाई यसो हेर्नु भयो र तँ यता, तँ उता भनेर छान्न थाल्नु भयो। हामीलाई दुई समूहमा छुट्याएर ‘ल रुद्रीको प्रथम अध्याय सार स्वर सहीत पाठ गर !” भन्नु भयो हामीले पाठ प्रदर्शन गर्यौँ । त्यस पछि गुरुले दुबै समूहबाट ११ जना छान्नु भयो। त्यसमा म पनि परेँ ।
म राजाको दरबार देख्न पाइने भो भनेर दङ्ग परें।
त्यसोत २०३७ सालको कृष्ण जन्माष्टमीको दिन सनातन धर्मसेवा समितिले हाम्रो आश्रममा गरेको कार्यक्रममा राजा आएका थिए। मैले पहिलो पटक राजा विरेन्द्रलाई त्यही बेला प्रत्यत्क्ष देखेको थिएँ।
मलाई गुरुले राजा हिड्ने बाटोमा ओछ्याएको रातो कार्पेट नजिकैको पहिलो हारमा साथीहरू सँगै स्वस्ति वाचन गर्ने समूहमा राखिदिनु भएको थियो।
राजा रानीको सवारी हुने बित्तिकै हामीले
“हरि-ॐ स्वस्ति न इन्द्रो वृद्धश्रवाः।
स्वस्ति नः पूषा विश्ववेदाः।
स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः।
स्वस्ति नो बृहस्पतिर्दधातु ॥”
भनेर स्वस्ति वाचन गर्यौं। राजा रानी दुवै एक छिन रोकिएर हाम्रो वाचन सुने र समारोह भएको स्थान तिर गए ।
हामी पनि उतै गयौँ । त्यहाँ कृष्ण सुदामा मिलापको लघुनाटक प्रदर्शन गरिएको थियो। ” अहो! प्यारा, सखा मेरा, सुदामा मित्र पाल्नु भो ।” भन्ने एउटा संबाद मलाई अझै याद छ ।
त्यस बेला सनातन धर्मसेवा समितिको कार्यालय हाम्रै आश्रममा थियो। आचार्य खेमराज केशवसरण त्यसको अध्यक्ष थिए सायद।
राजाको त खासै संबोधन भएन तर राजसभा स्थायी समितिका सभापति भूपालमान सिँह कार्की ( लोकमानसिंह कार्कीका पिता) ले आयोजक प्रति हार्दिक कृतज्ञता ज्ञापन गरे।
मैले पहिलो पटक “कृतज्ञता” भन्ने शव्द उनकै मुखबाट सुनेको थिएँ।
हामी गाडीमा चढेर जयवागेश्वरी, मित्रपार्क, कालोपुल, ज्ञानेश्वर, नक्साल, नाग पोखरी, जयनेपाल हल हुदै राज दरबारको पुर्व ढोकाबाट भित्र छिर्यो। हामी पूजाकोठा बाहिरको पटाङ्गिनीमा बस्यौं। एक छिन पछि एक जना दौरा सुरुवाल र कालो टोपी लगाएको मान्छे आएर दरबारको पूजाकोठा भित्र लगे। त्यहाँ साङ्गीतिक भजन चलिरहेको थियो। एक छिन पछि गाडीमा राजारानीको सवारी हुँदा र भित्र प्रवेशका बेलामा “श्री ५ महाराजाधिराज सरकारको जय! श्री ५ बडा महारानी सरकारको जय! ” भन्ने आवाज घन्कियो।
त्यसपछि हामीलाई लाइनमा राखियो र पालै पालो राजा नजिकै लगियो। राजाले अक्षता भएको बोहोतामा बूढी औंला चोप्दै हाम्रो निधारमा लगाँउदै गरे। निधारमा रातो लाग्यो तर अक्षता टाँसिएन। राजाको टीका लाउने तरीका ठीकै लाग्यो।
राजाले टीका लगाउने रानीले फूल दिने अलि पर बसेका एक जनाले कागजमा पोको पारिएको सिक्का दक्षिणाको रूपमा दिने रहेछ। अलि पर एक जनाले माला लगाउने र एक जनाले ठूलो खालको पेँडा दिने गर्दा रहेछन्।
त्यसपछि हामीलाई पशुपतिमा ल्याएर छाडियो ।मन्दिरको भित्रको दक्षिण ढोकाको बरण्डामा आसन बनाइदिएको रहेछ हामी त्यहीं बसेर ११ आवृत्ति रुद्री पाठ गर्यौं र आश्रम फर्कियौ।
बेलुका दक्षिणाको पोको खोलेर हेरेको एक एक मोहोरको ११ वटा नयाँ सिक्का रहेछ । राजाको जन्मोत्सवको उपलक्ष्यमा राष्ट्र बैंकले नयाँ सिक्का निकाल्थ्यो र सर्चप्रथम हामी जस्ता बटुकहरुलाई दिएर पछि बाहिर आउँथ्यो।